आईतबार, मंसिर १, २०७६

समाचार

इटहरी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

 ६ हजार ९५ सदस्य र ५ हजार ६८ मतदाता भएको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा नेपाली कांग्रेस र राप्रपाको संयुक्त प्यानल विजयी भएको छ।

इटहरी उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी
इटहरी - ६ हजार ९५ सदस्य र ५ हजार ६८ मतदाता भएको उद्योग वाणिज्य संघ इटहरीको चुनावमा नेपाली कांग्रेस र राप्रपाको संयुक्त प्यानल विजयी भएको छ। निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष शैलेशकुमार बिष्ट नेतृत्वको वामपन्थी प्यानललाई हराउँदै निवर्तमान कार्यसमिति सदस्य भीमबहादुर पौडेल नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको हो।

अध्यक्षमा पौडेल ११२६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत विश्वप्रसाद रिजालले जानकारी दिए। पौडेलले २९०४ मत ल्याउँदा बिष्टको मत १७७८ आएको छ।

अध्यक्षसहित १९ सदस्य कार्यसमितिको सबै पदमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। ८ सदस्य वाणिज्य समूहमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। ५२६० वाणिज्यका दर्ता सदस्य भएको वाणिज्यतर्फ विजय हुनेमा क्रमशः विष्णुप्रसाद रिजाल (२५०४), अनिल सुब्बा (२४९६), जीवन पराजुली (२४६३), पीताम्बर पोखरेल (२२९६), खगेन्द्र  बिमली (२४४८), रामकुमार श्रेष्ठ (२१४६) र अशोक अग्रवाल (१८०७) छन्।

वाणिज्य समूहमा वामपन्थी प्यानलबाट सबैभन्दा धेरै मत ल्याउने कमल पौडेलभन्दा लोकतान्त्रीक प्यानलमा सबैभन्दा कम मत ल्याउने असोक अग्रवालको मतान्तर ५१ रहेको छ। पौडेलले १७५६ मत ल्याएका छन् भने अग्रवालको १८०६ मत आएको छ।

चार सदस्य उद्योगतर्फ लोकतान्त्रिक प्यानलका दिवश पोखरेल, विष्णु डाँगी, मुक्तिनाथ दाहाल र लक्ष्मण हुमागाईं विजयी भएका छन्।

२ सदस्य महिलातर्फ विजयी लोकतान्त्रिक प्यानलकै गायत्री कट्वाल (भण्डारी) ले २७२२ मत ल्याएकी छिन् भने सबिना कोइरालाले २६११ मत ल्याएकी छिन्।

वस्तुगततर्फ दुई सदस्यमा बलराम भण्डार विजयी भएका छन्। पचास लाख माथिको पुँजी भएका ठूला व्यापारी समेट्ने एसोसिएटतर्फको एक सदस्यमा सुदीप घिमिरे निर्विरोध चयन भए

चुनाव हारको कारण स्थानीय सरकार प्रमुख र उप्रमुख

२०७३ सालमा भएको पछिल्लो चुनावमा वामपन्थी प्यानल विजयी भएकोमा यो चुनावमा लोकतान्त्रिक प्यानलको सानदार विजय हुनुमा स्थानीय सरकार दोषी भएको व्यापारीको गुनासो छ। इटहरीका मेयरले २०७३ साउन १९ मा इटहरी १७ मा रहेको टाटा कम्पनीको कल्भर्टमा डोजर चलाएको, २०७४ कै फागुन ४ गते खेती खोला किनारका भीम गौतम गायतका व्यापारीको संरचनामा मात्रै डोजर चलाएकोले व्यापारी स्थानीय सरकारसँग रुष्ट भएको वामपन्थी व्यापारीहरुको गुनासो छ।

सैगरी जेठ ८ गते इटहरीको डिभिएम स्कुलमा डोजर चलाएको र असार ४ गते इटहरीको विकास हार्डवेयरमा मेयरले ताला लाएको भन्दै व्यापारिक जनमत आफ्नो पक्षमा नआएको वामपन्थी प्यानलका एक वाणिज्य सदस्यले बताए।

असार ४ गते मेयरले महिलालाई अपमानजनक शब्द भनेपछि महिला उद्यमीले वामपन्थी प्यानललाइ भोट नदिएर पोखेको केही व्यापारीहरुको भनाइ छ।

मेयर मात्रै हैन, यही असार १२ गते भएको उवासंघ इटहरीको साधारणसभामा इटहरीकी उपमेयर लक्ष्मी गौतमको अभिव्यक्तिले पनि वापमन्थी प्यानललाई घात गरेको व्यापारीहरु बताउँछन। व्यापारीको चुनाव भए पनि रातो टिसर्टधारी वामपन्थी प्यानल र हरियो टिसर्टधारी लोकतान्त्रिक प्यानल चुनावी मैदानमा भएका थिए। राजनीतिको छाया भएको चुनावमा स्थानीय सरकारको कारणले पनि चुनाव हारेको वस्तुगत समूहका उम्मेदवार उमानाथ दाहालले बताए।
प्रतिक्रिया दिनुहोस्