मंगलबार, कात्तिक २६, २०७६

समाचार

प्रहरीको गोली लागेर सर्लाहीमा एकजनाको मृत्यु

सर्लाहीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ। प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो।

प्रहरीको गोली लागेर सर्लाहीमा एकजनाको मृत्यु
फाइल तस्बिर
जनकपुरधाम- सर्लाहीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ। प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको ज्यान गएको हो।

झडपको क्रममा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका–१३ श्रीनगर बस्ने अन्दाजी २५ वर्षीय सरोज नारायण महतोको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। यसैगरी प्रदर्शनकारीको ढुंगामुढाबाट ८ प्रहरी घाइते भएको बताइएको छ। महतोको घटनास्थलमै मृत्यु भएको थियो।

महोत्तरी र सर्लाही छुट्याउने बाँके नदीमा अवैध ढुंगागिट्टी उत्खनन्ले बनेको खाल्टोमा शनिबार एकजना बालकको ज्यान गएको थियो।

ईश्वरपुर नगरपालिका–१३ बस्ने लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादव आइतबार बिहान खाल्डोमा मृत अवस्थामा फेला परेका थिए।

अवैध उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन् बन्द गर्न माग राख्दै पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरेका थिए।

प्रहरीले राजमार्ग खोलाउन खोज्दा दोहरो झडप भएको थियो।

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गर्न खोज्दा फायर गर्दा एकजनाको ज्यान गएको बताए।

राजमार्ग अवरुद्ध पारेर प्रदर्शनकारीको भिडलाई तितरबितर गर्न गोली चलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

प्रहरीले स्थिति नियन्त्रणमा लिइसकेको र सवारीसधानहरु पूर्ववत सञ्चालनमा रहेको एसपी भट्टराईले बताए।
 
प्रतिक्रिया दिनुहोस्