मंगलबार, कात्तिक २६, २०७६

समाचार

रोजगारीले मात्र हुँदैन, आकर्षक रोजगारी चाहिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारको अवसर मात्र भएर नहुने भन्दै अवसर आकर्षक पनि हुनुपर्ने बताएका छन्। 

रोजगारीले मात्र हुँदैन, आकर्षक रोजगारी चाहिन्छ : प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारको अवसर मात्र भएर नहुने भन्दै अवसर आकर्षक पनि हुनुपर्ने बताएका छन्। 

आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘रोजगारका अवसर मात्रै भएर हुँदैन। अवसर आकर्षक पनि हुनुपर्छ। नत्र जता आकर्षण हुन्छ उतै श्रमिक जान्छन्।’

प्रधानमन्त्री ओलीले नेपालको दुई तिहाइ जनसंख्या कृषिमा लागेको बताउँदै परम्परागत कृषि प्रणाली आधुनिक कृषि प्रणालीको वाधक भएको बताए।

उनले युवाहरु पुर्णरुपमा वेरोजगार पनि नभएको भन्दै जग्गा जमिन धेरै रहेको र अव आधुनिक र सामूहिक कृषि गर्ने, सहकारीमार्फत् कृषि गर्ने र जमिन पनि बाँझो नहुने वेरोजगार युवा पनि नहुने अवस्था आउने बताए। 

त्यस्तै प्रम ओलीले भने ‘युवालाई स्वदेशकै रोजगारीमा आकर्षित गराउन सम्मानजनक काम, न्यूनतम आवश्यकता पूग्ने पारिश्रमिक उपलब्ध गराउनुपर्छ। रोजगारी भनेको ‘जागिर’ मात्र होइन, आफ्ना निम्ति आफैँ श्रम सिर्जना गर्ने वातावरण निर्माण गर्नु पनि हो।

उनले आफूले अव भाबी सन्ततीलाई गरीबी र बेरोजगारी हस्तान्तरण नगर्ने दाबी गरे। उनले भने, ‘कार्यकाल सकिने बेलासम्म गरीबी र बेरोजगारीको यो परिस्थीतिको अन्त्य गरेर, आगामी पुस्तालाई सम्वृद्ध नेपाल हस्तारन्तरण गर्नेछु।’

’नेपालीहरु श्रम गर्न नहिच्किचाउने र इमान्दार भएकाले विदेशीले नेपाली कामदार खोज्छन्। तर नेपालमा विकास निर्माणका लागि कामदार पाईँदैनन्। तर पनि नेपालीहरु बेरोजगार छन् यो अलि नमिल्ने कुरा भइरहेको छ।’ प्रम ओलीले भने।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकभित्र अनौपचारिक क्षेत्रमा भएका युवाहरुलाई औपचारिक रोजगारीमा ल्याउनु ठूलो चुनौति रहेको बताए। उनले विश्वको श्रम बजारसमेत विभिन्न कारणले प्रभावित भइरहेको स्पष्ट पार्दे यस्ता चुनौतिलाई समाधान गर्न नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए। 

उनले आगामी वर्ष पाँच लाख जनशक्तिलाई रोजगारी दिने घोषणा गरेको उल्लेख गर्दै संघ, प्रदेश र स्थानीय सरकार तथा निजी र सहकारीको संयुक्त प्रयास र समन्वयमा रोजगारीको सिर्जना गर्ने बताए।

श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालमा विभिन्न कामका लागि ठूलो जनशक्ति अभाव रहेको भन्दै अहिले पल्म्बर, इलेक्ट्रिसियन, कार्पेन्टर लगायतका क्षेत्रमा कामदार अभाव रहेको बताए।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालमा रोजगारको बजार र आयको अवस्था, कार्य संस्कृति र श्रमको मर्यादा, नेपालमा युवा उद्यमशीलता, रोजगारीका लागि सीप, रोजगारी तथा सूचना प्रविधि र श्रम उत्पादनशीलता तथा राष्ट्रिय अर्थतन्त्र विषयमा विचारविमर्श हुने छ।
प्रतिक्रिया दिनुहोस्