मंगलबार, कात्तिक २६, २०७६

विचार

यसकारण अलोकप्रिय हुँदैछन् ओली

आफैंलाई लोकतन्त्रको मियो भन्ने दल लोकतान्त्रिक नेपालमा जता हेर्‍यो त्यतै अल्पमतमा छ । नेता र जनताबीच जब पर्खाल खडा हुन्छ, तब यस्तै हुन्छ । पर्खाल जति अग्लो हुन्छ, नेता त्यति त्यति एक्लिँदै जान्छ ।

यसकारण अलोकप्रिय हुँदैछन् ओली
बडो विचित्र हुन्छ मान्छे । सत्ता प्राप्त नहुन्जेल सत्यवादी, सज्जन । पद प्राप्त भयो कि मदमत्त, मैमत्त ! 

यहाँसम्म कि लोक–कृपावश प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीका कृपाले पद पाएर सरकारी पदधारणहरू गर्नेहरू लोकतन्त्रमा नागरिक स्वतन्त्रतामाथि सरकारले आँखा लगाउनु हुँदैन भन्यो कि ठाडै जाइलाग्छन् । स्वतन्त्रताले लोकतन्त्र बचाउँछ । लोकतन्त्रमा नागरिक स्वतन्त्रता सत्ताको सुरक्षा कवच हो तर उनीहरू त्यही कवच फाल्न उद्यत हुन्छन् । सत्ता प्राप्त हुनासाथ, यस्तो ठान्छन् मानौं, ज्ञानरस सोझै आकाशबाट उनीहरूकै शरीरमा लबालब भरिन पुगेको हो ।

बडो विचित्र हुन्छ सत्ता  

नागरिक स्वतन्त्रतालाई बैरी बनाएर केही समय भौतिक सुख प्राप्त भएको अनुभव हुन सक्ला । त्यो क्षणिक हुन्छ । तर दुर्भाग्य ! सत्तामा हुँदा ठान्छन् मानौं त्यो पदमा उनीहरू सधैं बसिरहने हुन् । मानव अधिकार आयोगजस्तो संस्थाले निर्बाध निरन्तर अनुगमन गर्न पाउनुपर्छ, त्यसमा सरकारले हस्तक्षेप गर्नु हुँदैन, हस्तक्षेपकारी कानुन बनाउनु हुँदैन भनेको सुन्न सक्दैनन् ।

मानव अधिकारको त उच्चारण पनि उनीहरूलाई सह्य हुँदैन । सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइयो भने त्यहाँ मानिसले गुनासो पोख्न पाउँदैनन् र आक्रोश सडकमा पोखिन्छ । यति समान्य कुरा आफैं बुझ्नु त परै सुन्नसम्म चाहँदैनन् ।
 
शासनमा बस्नेको गुणगान गर्ने प्रेसलाई मात्रै प्रेस हो भन्छन् । जबकि लोकतन्त्र त आलोचनाले उन्नत र गतिशील भइरहेको हुन्छ । असहमति नै लोकतन्त्रको सार हो । सबै ठाउँमा यस्तै मान्छे हुन्छन् भन्ने होइन, यहाँ यस्ता छन् । तथापि अपवादहरू नभएका होइनन्, छन् ।
 
निश्चय नै सत्ता पाउँदा पनि कमैमात्र मानिस नेल्सन मन्डेलाझैं पूर्ववत् शालीन रहन्छन् । २०४६ सालको जनआन्दोलनपछि अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र एमालेको अल्पमत सरकारको पालाका प्रधानमन्त्री मनमोहन अधिकारीले पनि भुइँ छोडेका थिएनन् । लोकतन्त्र संवद्र्धनमा यस्तै मन्डेला, भट्टराई, अधिकारी जस्ता साधुजन नजिर बनेर रहन्छन् ।
 
अन्यथा, अरु अधिकांश त केपी शर्मा ओलीजस्तै बनेका पाइएका छन्, मैमत्त । ओली प्रधानमन्त्री स्वतः बनेका होइनन्, बनाइएका हुन् । तर हाउभाउबाट, बोलीवचन सुन्दा लाग्छ, प्रधानमन्त्री अरू बनेनन्, उनीमात्र बनेका हुन् । यस्तो लाग्दो रहेछ उनलाई कि उनी प्रधानमन्त्री जन्मेका र यही पदमा उनी अजर भएर रहनेछन् । प्रधानमन्त्री यो धराधाममा धेरै बने । गए ।  उनी नै पहिलो र अन्तिम होइनन् । जो छिटो मात्तिए, छिट्टै गए । अझै अरू पनि बन्ने छन् । आउने छन्, जाने छन् ।

ओली प्रधानमन्त्री नरहेको क्षण पनि आउने छ कुनै दिन । उनी प्रधानमन्त्री बनून् भनेर कामना गर्नेमध्ये कतिपय अचेल उनी पदबाट मुक्त भएको देख्न लालयित हुन थालेका छन् । यस्तो मनोभाव अकारण उत्पन्न भएको होइन । कारण प्रतिपक्षमा छैन । उनी, उनका मन्त्री र चाकरीदार नै यसका कारण हुन् ।
 
काम हुन सकेन भने बरु मानिसले सहन्छन् तर लोकतान्त्रिक विधिले चुनिएको मान्छेले जनतालाई नगनेको मानिसले सहँदैनन् । काम किन हुन सकेन, आफ्ना सीमाहरू के हुन्, स्रोतसाधन के छन् र के छैनन्, यसको जानकारी पाइरहे मानिसले बाध्यता बुझ्छन् । क्षमा दिन्छन् । जीवनशैली सरल भए, राष्ट्रधनको फुर्मासी नगरे, इमानदारीपूर्वक काम गरे, जनताको आकांक्षा आपूर्ति हुन नसक्दा पनि लोकप्रियता खस्किँदैन । त्यस्ता नेता फेरि चुनिन्छन् ।
 
आफैंलाई लोकतन्त्रको मियो भन्ने दल लोकतान्त्रिक नेपालमा जता हेर्‍यो त्यतै अल्पमतमा छ । नेता र जनताबीच जब पर्खाल खडा हुन्छ, तब यस्तै हुन्छ । पर्खाल जति अग्लो हुन्छ, नेता त्यति त्यति एक्लिँदै जान्छ ।

अठारौं शताब्दीमा फ्रेन्च दार्शनिक अलेक्सी द तकभिलले भनेका थिए, ‘लोकतन्त्रमा मानिसले बरु निरन्तर गरिबी सहन्छन् तर आफैंले रोजेको मानिस, हिजो आफू सरहकै मानिस आज ठालू पल्टेको सहँदैनन् ।’ राष्ट्रपति विद्यादेवी भण्डारीको शान, शौकत र प्रस्तुति मानिसलाई मन नपरेका कारण त्यही हो र त्यही कारण हो अचेल प्रधानमन्त्री ओली बोल्दै गर्दा धेरैजसोले टिभी च्यानल स्किप गर्ने गरेको ।
 
ओली प्रधानमन्त्री हुन् । कार्यकारी प्रमुख । मैमत्त बनेछन्, लौ भई गो । ठिकै छ । आन्तरिक प्रज्ञाले आलोकित नभएका प्राणी यस्तै हुन्छन् । योग, अन्तध्र्यानले नउघ्रेका यस्तै हुन्छन् । धेरैजसो अहंकारी, घमण्डी, मै हुँ भन्ने यसै नमुनाका हुन्छन् ।
 
प्रधानमन्त्री ठालू पल्टिँदासम्म बरु सहिन्छ तर मन्त्री किन उफ्रेका हुन् ? त्यतिमात्र हो र ? प्रधानमन्त्रीका, मन्त्रीका चाकरहरू झन् उत्पातसँग उफ्रिरहेका भेटिन्छन् । ओली उफ्रिँदासम्म बुझिन्छ । उनलाई के के न भएँ भन्ने लागेको हुँदो हो । तर मन नपर्दो कुरोचाहिँ के हो भने चाकरहरू आफैं ओलीका आधिकारिक प्रतिनिधि बनेको ठानिरहेका हुन्छन् । ओलीको आलोचना हुँदा उनीहरूलाई पो उखरमाउलो हुन्छ । किन हुनु उखरमाउलो ? अर्को जण्ड चाकडीबाज आयो भने ओलीले यिनलाई आफ्नो भनेर राख्छन् र !

ओली मैमत्त रहिरहे उनैलाई हानि छ । किनभने मै हुँ भन्नेलाई समयले उसको हैसियत छिट्टै देखाइदिन्छ । यहाँ मैमत्त बन्दाबन्दै प्रचण्ड पछारिएका हुन् ।
 
विद्रोहको म्यान्डेट लिएर आएका प्रचण्डसामु कुनै बेला अरु सबै ससाना भएका थिए । २०६५ सालका प्रचण्ड सम्झिनुहोस् । नयाँ नेपाल रचना गर्न आएका प्रचण्डको शान– सम्मान कहाँ पुग्यो ? नयाँ नेपाल रच्नु त परै उनले नेपाली सेनाको प्रधानसेनापतिसम्म फेर्न सकेनन् । के जनताको समर्थन शक्ति उनीसित सुरक्षित रहेको हुन्थ्यो भने रुक्मांगद कटवाल हटाउन नसक्ने अवस्थामा उनी पुग्थे ? कहिले शेरबहादुर देउवाका पोल्टामा त कहिले ओलीका काखमा विश्राम गर्न पुग्थे कतै ? 

कसैले धरातल बिर्सनु हुँदैन । राजनीतिमा झन् बिर्सिनु हुँदैन । धरातल बिर्सिंदा नेपाली कांग्रेसको आज कुन अवस्था छ, त्यो छर्लंगै छ । केन्द्रीय संसद्मा एक तिहाइ सदस्य छैनन् । सातमध्ये एउटै प्रदेशमा सरकार छैन । आफैंलाई लोकतन्त्रको मियो भन्ने दल लोकतान्त्रिक नेपालमा जता हेर्‍यो त्यतै अल्पमतमा छ । नेता र जनताबीच जब पर्खाल खडा हुन्छ, तब यस्तै हुन्छ । पर्खाल जति अग्लो हुन्छ, नेता त्यति त्यति एक्लिँदै जान्छ ।
 
महात्मा गान्धीले भनेका थिए, ‘राजनीतिक दल भनेको जनताको माया पाउँदासम्म प्रतिनिधि हो । जब जनताबाट पृथक् हुन्छ त्यसको औचित्य स्वतः समाप्त हुन्छ ।’

लोकतन्त्रमा जनता जाँचकी हुन् । जाँचिरहेका हुन्छन् । के उचित, के अनुचित बुझिरहेका हुन्छन् । छुट्ट्याइरहेका हुन्छन् । जान्दैनन् जस्तो लाग्छ होला । त्यस्तो होइन । दूधको दूध, पानीको पानी छुट्ट्याउन जान्दछन् । अनुचितपछि अनुचित भइरहँदा के हुन्छ, भनिरहनै पर्दैन । त्यसको दृष्टान्तका लागि विगतका जनआन्दोलन सम्झिरहनु पर्दैन, केही दिनपूर्व गुठी विधेयकविरुद्ध काठमाडौंमा उर्लेको जनसागर पर्याप्त छ ।
 
ओली चुनावपूर्व लोकप्रिय थिए । त्यो लोकप्रियता यथावत् छैन । उनले राष्ट्रवादको ढोल बजाउँदा देशका धेरैजसो मतदाताले पत्याए । पत्याए किनभने २०७२ सालमा भारतले नेपालको संविधानको विरोध गर्दै नाकाबन्दी लगायो । त्यो नाकाबन्दीविरुद्ध उनी अडिएका थिए । त्यतिबेला उनी भारतले नचाहँदा–नचाहँदै प्रधानमन्त्री बनेका थिए । 

त्यही नाकाबन्दी र नाकाबन्दीविरुद्ध अडिनु प्रकारान्तरमा ओलीका लागि वरदान साबित भयो । तर त्यो वरदानले जनताको अभिव्यक्ति स्वतन्त्रता खोस्ने उत्प्रेरणा देला भन्ने विरलैले सोचेका थिए होला । लोकतान्त्रिक विधिबाट चुनिएको मानिसले लोकतन्त्रको प्राणमै प्रहार गर्छ भनेर सोच्ने कुरै थिएन ।


 
त्यही संयोग र परिस्थितिवश प्रधानमन्त्री बने । कम्युनिस्ट भोट बटुल्न प्रचण्डसँग एकता गरे । फलस्वरूप पार्टीको आकार बढ्यो, दुई तिहाइ नजिकै स्थान हासिल गरे । औसत मानिसलाई यति हुँदा के–के न भएजस्तो हुन्छ । उनका कृपापात्रहरूलाई त भएको छ भने उनलाई के–के पाएको अनुभूति हुनुमा केको आश्चर्य ! 

यहाँ मलाई ओली स्वयंलाई कसैले देवराज इन्द्र नै मान्छन् भने पनि कुनै आपत्ति छैन । कतिपयलाई थाहा नहोला, देवराज इन्द्र पनि व्यक्ति होइन पद हो । त्यो पदमा व्यक्तिहरू बदलिइरहन्छन् । जब कुनै व्यक्तिको पुण्य क्षीण हुन्छ ऊ पदच्युत हुन्छ । देवतामा त यस्तो विधिविधान छ भने मान्छेको के कुरा ! तात्पर्य, ओलीले आफूलाई जतिसुकै स्थायी ठाने पनि उनी स्थायी होइनन् । उनी प्रधानमन्त्री पदबाट मुक्त हुन्छन् कुनै दिन । यो निश्चित छ ।

मलाई चिन्ता ओली पदमुक्त हुन्छन् भन्ने होइन । मेरो कामना त लोकतान्त्रिक विधिद्वारा निर्वाचित पात्र निरंकुश शासकका रुपमा चिनिएर नजाओस् भन्ने हो । अभिव्यक्ति, प्रेस, मानव अधिकारमाथि प्रहार गर्नु भनेको प्रकारान्तरमा लोकतन्त्रमाथि नै प्रहार हो जबकि सरकारको वैधताको आधार लोकतन्त्र नै हो । अर्थात् यसरी सरकार प्रकारान्तरमा आफ्नै वैधता समाप्त गरिरहेको छ ।
 
यही सत्य हो तर सत्ताले मदमत्त, मैमत्त हुँदा यो सत्य देखिँदैन । जो सत्तामा हुँदाहुँदै सत्तामुक्त चेतनाले अभिसिञ्चित हुन्छ, उसैले देख्न सक्छ । आफू दिनानुदिन अलोकप्रिय भइरहेको ओली देख्न सकिरहेका छैनन्, नदेखून् । परन्तुमा हानि उनैलाई छ । 
प्रतिक्रिया दिनुहोस्