सोमबार, मंसिर २३, २०७६

समाचार

नेपाललाई हिन्दु राज्य बनाउन छिमेकमा लबिङ

सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘नेपाल ढिलोचाँडो हिन्दु राष्ट्रका लागि तयार हुने’ अभिव्यक्ति सार्वजनिक गरेका छन्।

नेपाललाई हिन्दु राज्य बनाउन छिमेकमा लबिङ
काठमाडौं- सीमावर्ती भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘नेपाल ढिलोचाँडो हिन्दु राष्ट्रका लागि तयार हुने’ अभिव्यक्ति सार्वजनिक गरेका छन्।

भारतकै राजस्थान सरकारले पशुपतिनाथको दर्शन गर्न जाने राज्यभित्रका ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने निर्णय गरेको छ।

यी दुई प्रसंगले नेपालको पहिचान कायम गर्न, विश्वका करोडौं मानिससँग भावनात्मक सम्बन्ध उँचो बनाइराख्न र धार्मिक पर्यटनमार्फत नेपालमा समृद्धि हासिल गर्न हिन्दु राष्ट्रको बाटोमै फर्किनु उचित हुने सुझाव दिएको देखिन्छ।

तर अंग्रेजको पालादेखि नै शासनसत्ता टिकाइराख्न र राजनीतिक परिवर्तनका लागि भारतको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका सहँदै आएको हाम्रा लागि धर्म, जाति वा भूगोलका आधारमा फेरि पनि बाह्य हस्तक्षेप भए त्यो दिगो होला त ? यसबारे गम्भीर हुनुपर्ने बेला आएको छ। त्यसो भन्दैमा नेपालमा स्थापित गणतन्त्र र नयाँ संविधानमा बाह्य हस्तक्षेप नभएको भन्ने छैन। त्यसो त

भारतमा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीको शक्तिशाली दोस्रो ‘इनिङ’ ले कतिपय हिन्दु समर्थकहरू हिन्दुवादी अभियानलाई निर्णायक मोडमा लैजान क्रियाशील भएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले धर्म निरपेक्षता कायम गरेर नेपालले आफ्नो पहिचान गुमाउँदै गएको अभिव्यक्ति दिनुले कतै हामी कालान्तरमा आफ्नो सम्पूर्ण पहिचान नामेट त गर्न पुग्दैनौं भन्ने चिन्ता हुनु स्वाभाविकै हो। तर उनले भन्दैमा नेपाल हिन्दु राज्य कायम हुन सक्दैन। यसका लागि नेपाली आफैं उठ्न सक्नुपर्छ।

हिन्दु राज्यका पक्षमा लबिङ गर्दै आएका कांग्रेस नेता लोकेश ढकाल भन्छन्, ‘हिन्दु धर्म राष्ट्रको स्वाधीनता र राष्ट्रियतासँग जोडिएको विषय हो। यो कुनै जाति, भूगोल, क्षेत्र वा भाषासँग मात्र सम्बन्धित छैन। त्यसैले अरूले मुद्दा उठाउँदैमा हाम्रोमा परिवर्तन हुन्छ भन्ने छैन। त्यसका लागि त नेपाली नै जागरूक हुनुपर्छ। अर्काको मुख ताकेर हुँदैन।’

नेपालीको गौरवका लागि आफ्नै पौरख र बुँताबाट भएको परिवर्तन नै दिगो हुने उनी बताउँछन्।

मुख्यमन्त्री आदित्यनाथले प्रश्न गरेका छन्, ‘हरेक देशको पहिचान हुन्छ। नेपालकोे पहिचान कुन रुपमा छ?’ विश्वका हिन्दुले नेपाललाई हिन्दु राष्ट्रका रुपमा चिन्ने भएकाले उनीहरूको भावना समेट्न पनि ढिलोचाँडो नेपाल तयार हुनैपर्ने आदित्यनाथको भनाइ छ। उनले भनेका छन्, ‘तीन करोड जनसंख्या भएको नेपालले विश्वका सय करोड हिन्दुको तागत प्रयोग गर्नसक्छ।’

आदित्यनाथले पशुपतिनाथ, मुक्तिनाथ, सांस्कृतिक धरोहरको प्रसंग उठाएर नेपालका हिन्दुको भावनालाई जित्न त खोजेका छन्। तर उनको अभिव्यक्तिमा के स्पष्ट छैन भने उनी नेपालका कस्तो प्रकारको हिन्दु राज्य चाहन्छन्– राजासहितको हिन्दु वा हिन्दु गणतन्त्र नेपाल ? नेपालमा हिन्दु राज्य कायम होस् भन्ने विषयमा भारतमा दुई थरी मत छ।  

राजस्थान सरकारको निर्णयले नेपालमा वार्षिक १० हजार पर्यटक थपिने निश्चित छ। पशुपतिनाथसहित अन्य तीनवटा धार्मिक गन्तव्यमा ती राज्यका नागरिकले भ्रमण गर्दा पर्यटन उद्योगमा सकारात्मक प्रभाव पर्नेछ।

करोडौं हिन्दु जनता रहेको भारतका अन्य राज्यले पनि यस्तै निर्णय गरे भने यहाँ धार्मिक पर्यटनले राम्रै स्थान ओगट्न सक्छ। तर त्यसका लागि आदित्यनाथले भनेजस्तै हिन्दु राज्य कायम हुने हो भने धेरै हिन्दुको आकर्षण बढ्न सक्ने देखिन्छ।

धर्म निरपेक्षता पश्चिमाको चाहनाअनुसार नै आएको आमबुझाइ छ। २०६४ साल जेठ ४ गते तत्कालीन पुनस्र्थापित प्रतिनिधिसभाले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्यो।

माओवादी हिंसाबाट निर्मम रूपमा पीडित नेपालीले धर्म निरपेक्षतालाई त्यतिबेला सहज रूपमा लिए पनि आजका दिनसम्म आइपुग्दा धेरै बुद्धिजीवी, अधिकारकर्मी र हिजो विद्रोहमा लागेका व्यक्तिहरू कोठे बहसमा हिन्दु राज्य र राजसंस्थाबारे सकारात्मक देखिन थालेका छन्।

नेता ढकाल भन्छन्, ‘यस्तो मुद्दामा कुनै राजनीतिक शक्ति स्पष्ट दृष्टिकोणसहित आउनुपर्छ। सानातिना अभियानले जनताको मन त जित्न सकिएला तर परिवर्तन गर्न सजिलो हुँदैन।’ गुठी विधेयकको विरोधमा जनसागर उर्लिएजसरी लाखौं जनता सडकमा आउने हो पनि परिवर्तन सम्भव हुने तर्क ढकालको छ। तर त्यसका लागि कुनै एउटा राजनीतिक शक्तिको साथ अवश्य चाहिन्छ।
प्रतिक्रिया दिनुहोस्