मंगलबार, कात्तिक २६, २०७६

समाचार

विप्लव इन्चार्ज हत्याबारे गृहमन्त्रीको यस्तो जवाफ (भिडियोसहित)

नेत्रविक्रम चन्द विप्लव  समुहका कार्यकर्ता कुमार पौडेलको हत्याका विषयमा गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा जवाफ दिएका छन् । उनले प्रहरीले आत्मारक्षाका लागि गाली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् ।

विप्लव इन्चार्ज हत्याबारे गृहमन्त्रीको यस्तो जवाफ (भिडियोसहित)
काठमाडौं- नेत्रविक्रम चन्द विप्लव  समुहका कार्यकर्ता कुमार पौडेलको हत्याका विषयमा गृहमन्त्री रामबहादुर थापाले संसदीय समितिमा जवाफ दिएका छन् ।

उनले प्रहरीले आत्मारक्षाका लागि गाली चलाउँदा पौडेलको मृत्यु भएको दाबी गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाको जानकारी दिन उपस्थित भएका गृहमन्त्री थापाले सुरुमा कुमार पौडेलले गोली चलाएको र प्रहरीले आत्मारक्षाका लागि फायर गर्दा कुमार पौडेलको मृत्यु भएको जवाफ दिएका हुन् । 

गृहमन्त्री थापाका अनुसार असार ५ गते दिउँसो २ बजे प्रहरी गस्तिमै रहेका बेला लालबन्दीमा अन टेष्ट लेखिएको दुईवटा मोटरसाइकलमा आएका चार जनाले प्रहरी टोली देख्नासाथ गोली चलाएको र  प्रहरीले आत्मरक्षाका लागि गोली चलाउदा कुमार पौडेलको मृत्यु भएको गृहमन्त्रीको दाबी छ । 

त्यस्तै घटनामा अर्का एक जनालाई पनि गोली लागेको र गोली लागेको व्यक्ति र अन्य दुई जना जंगलतर्फ भागेकोले खोजी जारी रहेको गृहमन्त्रीले समितिमा बताए । उनले घटना नियोजित नभइ आकस्मिक रुपमा घटेको पनि दाबी गरेका छन् । 

गृहमन्त्रीका अनुसार सर्लाहीको लालबन्दी र हरिवन इलाकामा विप्लव समूहले स्थानीय जनप्रतिनिधीसँग जबरजस्ती चन्दा माग्ने गरेको जनगुनासोको आधारमा प्रहरीले सक्रियता बढाएको थियो ।



प्रहरीले इन्काउन्टर गरेर विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या गरेको आरोप लागेपछि राज्य व्यवस्था समितिका सदस्यहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए। उनीहरुले हत्या नै गर्नुका कारण मागेका थिए । 

समितिको बैठकमा सत्तारूढ दल नेकपाकी सांसद तीर्था गौतमले मान्छे मार्ने काम बन्द गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् ।  उनले समिति बैठकमै भक्कानिँदै यो वा त्यो बाहानामा नेपालीलाई मार्ने काम बन्द गर्न आग्रह गरेकी थिइन् । 

उनले गोलीबाट हैन संवादबाट निकास दिन आग्रह गरिन्।  गौतमका पति यदु गौतमलाई माओवादी विद्रोहीले २०५५ साल फागुन २१ नियन्त्रणमा लिएर हत्या गरेका थिए। 
प्रतिक्रिया दिनुहोस्