शुक्रबार, जेठ २३, २०७७

z
खेलकुद

इतिहास रच्ला त जापानले ?

एसियाली राष्ट्र जापान रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । खेल रोस्टोभ अन डनमा राति पौने १२ बजेपछि शुरु हुनेछ । 

इतिहास रच्ला त जापानले ?
काठमाडौं- एसियाली राष्ट्र जापान रुसमा जारी विश्वकप फुटबलको नकआउट चरणमा पुग्ने एक्लो एसियाली राष्ट्र हो । जापानले क्वार्टरफाइनल पुग्ने लक्ष्यलाई जीवित राख्दै सोमबार राति उपाधिको दावेदार मानिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । खेल रोस्टोभ अन डनमा राति पौने १२ बजेपछि शुरु हुनेछ । 

इतिहासलाई हेर्ने हो भने बेल्जियममाथि जापान हावी छ । यी दुई टिम पाँचपटक आमने समाने हुदा जापानले दुई खेलमा जित हात पार्दा दुई बराबरी र एक हारको नतिजा बेहोरेको छ । त्यसैल बेल्जियम बदला लिने योजनामा रहँदा जापान आफ्नो पुरानो प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । यी दुई टिमले २००२ को विश्वकपमा २–२ गोलको बराबरी खेलेको थियो । २०१७ को मैत्रीपूर्ण खेलमा बेल्जियम १–० ले विजयी भएको थियो ।

जापान समूह ‘एच’ बाट फेयर प्लेमार्फत सेनेगललाई पछि पार्दै अन्तिम १६ मा पुग्न सफल टोली हो । लगातार छैटौंपटक विश्वकप खेलिरहेको जापानको २००२ र २०१० को विश्वकपमा अन्तिम १६ मा पुग्नु नै ठुलो सफलता हो । त्यसैले जापान अन्तिम १६ भन्दा अघि बढ्दै जापानी फुटबलमा ऐतिहासिक नाम लेखाउने योजनामा हुनेछ । 

कोलम्वियाविरुद्ध रक्षात्मक रणनीतिमा खेलेर जित हात पारेको जापानले पोल्यान्डविरुद्धको खेलमा आक्रमक रणनीति अपनाउदा पराजित हुन पुगेको थियो । 

सेनेगलविरुद्धको खेलमा रक्षात्मक रणनीति अपनाएर खेल्दा खेलमा दुई पटक पछि परेको स्थितिमा पनि बराबरी गर्न सफल भएको थियो । त्यसैले प्रशिक्षक निसिनोले यही रणनीति बेल्जियमविरुद्ध अपनाउने देखिन्छ ।

यता, स्टार खेलाडीहरुले भरिएको बेल्जियम जापानलाई सहजै पराजित गर्दै क्वार्टरफाइनलमा पुग्ने योजनामा रहनेछ । २२ खेलसम्म अपराजित रहेको बेल्जियम यही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले जापानविरुद्धको खेलमा बल पोजिसन आफ्नो पकडमा राख्दै जापानलाई पराजित गर्ने योजना बुनेका छन् । मार्टिनेजको योजनामा रोमेलु लुकाकु, इडेन हजार्ड, केभिन डि ब्रुएन र थिवाउट कोर्टियसले साथ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस्