शुक्रबार, मंसिर ६, २०७६

कला - साहित्य

वेदान्त दर्शन र वैष्णव दर्शनमा आधारित ‘श्री जी’

प्राध्यापक हरिशरण उपाध्यायको ‘श्री जी’ शीर्षकको कृति बजारमा आएको छ। कांग्रेस महामन्त्री शशांक कोइराला र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सोमबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन्।

वेदान्त दर्शन र वैष्णव दर्शनमा आधारित ‘श्री जी’
काठमाडौं - प्राध्यापक हरिशरण उपाध्यायको ‘श्री जी’ शीर्षकको कृति बजारमा आएको छ। कांग्रेस महामन्त्री शशांक कोइराला र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले सोमबार राजधानीमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन्।

कांग्रेस महामन्त्री शशांक कोइरालाले पुस्तकलाई आध्यात्मिक चिन्तनको महत्त्वपूर्ण विन्दुका रूपमा लिनुपर्ने बताए। उनले भने, ‘आध्यात्मिक चिन्तन नभई मानिस पूर्ण हुन सक्दैन।

प्राज्ञ मुकुन्दशरण उपाध्यायले कृतिमा हिन्दु धर्म/दर्शनको औचित्यमाथि सरल रूपमा प्रस्तुत गरिएको बताए। उनले भने, ‘सांस्कृतिक र भाषिक रूपमा कृति सफल छ।’ नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले कृतिमा सांस्कृतिक राष्ट्रवादको उठान गरिएको बताए।

कृतिका रचनाकार उपाध्यायले आफूले ४८ वर्षसम्म भारतको वाराणसीस्थित सम्पूर्णानन्द विश्वविद्यालयमा प्राध्यापन गरी फर्केपछि अध्ययन गरेर ग्रन्थ रचना गरेको बताए। कार्यक्रममा उद्धव सिग्देलले कृतिको समीक्षा गरेका थिए भने दीनदयाल रेग्मीले प्राध्यापक उपाध्यायको जीवनमाथि प्रकाश पारेका थिए।

प्राध्यापक व्रतराज आचार्यले ग्रन्थ यतिबेला निकै सान्दर्भिक रहेको बताए।

विभिन्न १४ वटा उपशीर्षक रहेका प्रस्तुत कृति वेदान्त दर्शन र वैष्णव दर्शनमा आधारित छ। कृतिमा वैदिक धर्म, सनातन धर्म र हिन्दु धर्मलाई एउटै सनातन धर्मका पर्यायवाची हुन् भन्दै हिन्दु धर्मको उदारता, विशालता, सहिष्णुता एवम् सवदर्शिताको परिचय दिइएको छ। साथै यसमा हिन्दु धर्मको व्युत्पत्ति, विश्लेषण एवम् व्याख्या गर्दै हिन्दु धर्म वा सनातन धर्मको महत्ताबारे प्रकाश पारिएको छ। उपाध्यायले आफ्नो कृतिमा आध्यात्मिक विज्ञानका दृष्टिले भौतिक विज्ञानको विश्लेषण गर्दै पृथ्वीको गुरुत्वाकर्षणका विषयमा तर्कपूर्ण तथ्य प्रस्तुत गरेका छन्।

पाणिनीय व्याकरण चिन्तनका आधारमा शब्दतत्त्व, शून्य दर्शन, विष, विषय र अमृत यस ग्रन्थका अन्य विवेच्य विषय हुन्। साथै कृतिमा मनुस्मृतिलगायत केही ग्रन्थहरूमा लेखिएका कुराको गलत अर्थ लगाइने गरेकोमा चिन्ता व्यक्त गर्दै बलि प्रथाको विरोध गरिएको छ। राष्ट्र, राष्ट्रियता, राष्ट्रधर्म, राष्ट्रवाद र नेपाल, गणतन्त्रपछिको नयाँ नेपाल, भौतिक र आध्यात्मवादको अन्तद्र्वन्द्वमा वर्तमान विश्व, वेदमा गाईको स्थान र सर्वपूज्यता आदि यस ग्रन्थमा समेटिएका अन्य विषय हुन्।
प्रतिक्रिया दिनुहोस्