शुक्रबार, कात्तिक २९, २०७६

कला - साहित्य

किन भेला भए राजधानीमा देशभरका लोकवार्ताविद् ?

बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक नेपालका विभिन्न क्षेत्रमा प्रचलित लोकगीत, लोकभाषा, उखानटुक्का, लोकनाचलगायत विभिन्न विषयमा प्राज्ञिक छलफल गर्न देशभरका लोकवार्ताविद्हरूको सम्मेलन राजधानीमा सुरु भएको छ।

किन भेला भए राजधानीमा देशभरका लोकवार्ताविद् ?
काठमाडौं - बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक नेपालका विभिन्न क्षेत्रमा प्रचलित लोकगीत, लोकभाषा, उखानटुक्का, लोकनाचलगायत विभिन्न विषयमा प्राज्ञिक छलफल गर्न देशभरका लोकवार्ताविद्हरूको सम्मेलन राजधानीमा सुरु भएको छ।

विभिन्न जाति, भाषा र क्षेत्रमा विविधताभित्र लुकेका मूर्त एवम् अमूर्त सम्पदाबारे प्राज्ञिक छलफल गर्न विद्वान्हरू भेला भएका हुन्। तेस्रो राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन नाम दिइएको उक्त सम्मेलन आयोजना नेपाली लोकवार्ता तथा संस्कृति समाजले गरेको हो।

सम्मेलन उद्घाटन गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सांस्कृतिक विविधताभित्र लुकेका धेरै कुरा बाहिर ल्याउन यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए।

उनले मुलुक समृद्ध हुनका लागि सर्वप्रथम सांस्कृतिक एकीकरण आवश्यक रहेको बताए। जोशीले भने, ‘यस्ता कार्यक्रमले मुलुकको सांस्कृतिक एकतामा टेवा पुग्नेछ।’

लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष एवम् वरिष्ठ संस्कृतिविद् तुलसी दिवसले गीत गाउने, कथा भन्नेमा सीमित रहँदै आएकोमा अब यी विषयमा गहन रूपमा खोजअनुसन्धान हुन थालेको बताए। उनले भने, ‘लोकगीत, लोककथा, लोकगाथा अब गाउन र भन्नमा सीमित छैन। यी विषयमा अब बुद्धिजीवीहरू घोत्लिन थालेका छन्। उच्च घरानाहरू पनि लोकवार्ताप्रति ढल्किन थालेका छन्।’ उनले सरकारले सांस्कृतिक नीति बनाए पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, समाजका उपाध्यक्ष अभि सुवेदी, महासचिव चूडामणि बन्धु, सचिव भीमनारायण रेग्मीलगायतले लोकवार्ता र लोकसंस्कृतिमाथि प्रकाश पार्दै सम्मेलनको उद्देश्यबारे बताएका थिए।

दुई दिनसम्म चल्ने सम्मेलनमा विद्वान्हरूले विभिन्न ४७ वटा कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनमा याङमा गाउँको लोकजीवन, डोल्पाको तिचुरोङ तराली मगरहरूको रङ पर्वको सामाजिक सांस्कृतिक अध्ययन, काइके लोकसंस्कृतिका केही पक्ष, काँठक्षेत्रको जीवन्त नाच रत्यौली, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाली जातिसंगीत शास्त्रको परम्परा शीर्षकका कार्यपत्र प्रस्तुत हुनेछ। यस्तै नेपाली लोकनृत्यको संरचनागत वर्णन, खाना, कृषि र संस्कृति, ललितपुरका नेवारहरूमा क्वाति खाने प्रचलन, लिम्बुजातिको मृत्यु संस्कार, मगर समाजमा डीबराह पूजा विषयमा सम्बन्धित क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

नेवार संस्कृतिमा ज्याः जंको, बोसराको परिचय, काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रामा तान्त्रिक मिथक र तान्त्रिक संस्कृतिको सम्मिश्रण, शैलेश्वरीको जाँत, ऐतिहासिक बहिष्करणदेखि बजारको अतिक्रमणसम्म, संकटमा किरात बाम्बुले राई जातिको महान् पूजा ढ्वाङ्कुमो, मगर जातिमा रोदी संस्कृति हराउनुमा विकासको योगदान, सञ्चारको परम्परागत माध्यम : कटवाल प्रथा सम्मेलनमा छलफल हुने अन्य विषय हुन्।

यसैगरी पौराणिक साहित्यमा कालीगण्डकी र शालग्रामको सन्दर्भ, रीति सिद्धान्तका आधारमा लोककविताको विश्लेषण, लोककवितात्मक रूपमा नेपाली उखान, बा डोको नफाल्नु होला लोककथाको तुलनात्मक अध्ययन विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। सम्मेलनमा यी कार्यपत्रहरूमाथि गहन विश्लेषण गरी काठमाडौं घोषणापत्र जारी गरिने समाजले जनाएको छ। समाजले महत्त्वपूर्ण कार्यपत्रलाई समेटेर ग्रन्थ प्रकाशन गर्ने योजना बनाएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका ६० जनाभन्दा बढी लोक संस्कृतिविद्हरू सहभागी छन्। सम्मेलन लोयल्टी एकेडेमी र नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना भएको हो।
प्रतिक्रिया दिनुहोस्