मंगलबार, कात्तिक २६, २०७६

विचार

मोदी रिटर्नस, नेपालमा जयशंकर आतंक ! 

व्यक्तिले असर गर्छ र त्यो असर नेपालले भोग्दै आएको छ। विश्वेश्वरप्रसाद कोइराला र इन्दिरा गान्धीबीच अप्रिय नै नभए पनि सम्बन्ध सुमधुर नभएका कारण नेपालमा बहुदलको स्थापना धेरैपछि धकेलिएको थियो।

मोदी रिटर्नस, नेपालमा जयशंकर आतंक ! 
गए दुई साता लेखपढ गर्ने प्रायः को ध्यान भारतीय निर्वाचन परिणामतर्फ थियो। पाँच सय ४३ स्थान भएको लोकसभा निर्वाचनको परिणाममा भारतीय जनता पार्टी तीन सयभन्दा उकालै लाग्यो।

अझ भाजपाले आफ्ना गठबन्धन सहयोगीसहित तीन सय पचासभन्दा बढी स्थानमा आफ्नो स्थान सुरक्षित गर्‍यो। भाजपाले जित्ला तर यति भव्य जित होला भन्ने अनुमान कमैले गरेका थिए। 

यसको कारण मोदीको तुलनामा अरु कुनै भाबी प्रधानमन्त्रीको अनुहार नदेखिएको हुँदा यस्तो हुन गएको भन्ने धेरैले भन्ने गरे पनि वास्तवमा त्यतिमात्रै कारण थिएन। ती सबै कारणको समीक्षा समय सन्दर्भअनुसार पछि गर्दै जाऔंला। यहाँ चर्चा गर्न गइरहेको विषय भाबी समयको नेपाल–भारत समबन्धमा खास व्यक्ति आउँदा के फरक पर्छ भन्नेमा केन्द्रित छ।
 
सामाजिक सञ्जालमा आफ्ना पुराना पोस्ट हेर्दै थिएँ। अप्रिल ८, २०१९ को स्टाटसमा यस्तो लेखेको रहेछु : 'सन् २०१४ को भारतीय लोकसभा निर्वाचन परिवर्तनका लागि थियो। यो वर्षको चुनाव, परिवर्तनका लागि होइन, नरेन्द्र मोदीको परीक्षा हो।' 

परीक्षा सकियो र परिणाम पनि आयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच वर्षअघि भन्दा निकै बढी अंक ल्याएर उत्तीर्ण भए। यस परिणामले यता नेपालमा उनको भन्दा बढी चर्चा कन्हैयाकुमारको गर्नेहरु निश्चय नै खिन्न भए।

यद्यपि भारतीय निर्वाचनमा जितहारको समीकरणमा नेपालीको कुनै भूमिका हुँदैन, हुने ठाउँ छैन र हुने कुरा पनि भएन।

विहारको बेगुसरायमा, एउटा संसदीय क्षेत्रमा उम्मेदवार भएका कन्हैयाकुमार र मोदीको तुलना गर्नुको कुनै औचित्य थिएन तर मोदीप्रति नेपालका कतिपयको असन्तुष्टिका कारण कन्हैयाले केही चमत्कार गर्लान् भन्ने ती कतिपयले प्रबल आश निश्चय नै गरेका थिए। कन्हैयाले चमत्कारै गरे, मज्जाले हारे। 

यहाँ ती कतिपयको कन्हैयाप्रति प्रदर्शित प्रेम उनी मन परेर होइन। मोदीप्रति पूर्वाग्रह हो। भन्न के खोजेको भने नेपालमा सन् २०१४ मा जस्तो यसपालि मोदीप्रति समवेत सद्भाव थिएन। तर यहाँ सद्भाव नभएर के हुन्छ ? उनको पार्टीले पहिलो पटकभन्दा यसपालि झनै बढी स्थानमा विजय हासिल गर्‍यो।
  
पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि निर्वाचन हुन्छ। दुई सदस्य एङ्लो–इन्डियन समुदायबाट मनोनीत गरिन्छ (एङलो–इन्डियन सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पनि बेलायत नफर्केका, भारतलाई नै आफ्नो मातृभूमि मान्ने अंग्रेज सन्तति हुन्।

उनीहरुले आफ्नो अत्यन्त कम  जनसंख्या रहेकाले कुनै चुनाव जित्न सक्ने सम्भावना उसबेला थिएन (अझै छैन)। यसै कारण भारतीय संविधानका निर्माताले यस समुदायको हित रक्षाका साथै प्रतिनिधित्व सुरक्षित रहोस् भन्ने हेतुले यस्तो व्यवस्था गरिदिएका हुन्।) 
 
व्यक्तिले असर गर्छ र त्यो असर नेपालले भोग्दै आएको छ। विश्वेश्वरप्रसाद कोइराला र इन्दिरा गान्धीबीच अप्रिय नै नभए पनि सम्बन्ध सुमधुर नभएका कारण नेपालमा बहुदलको स्थापना धेरैपछि धकेलिएको थियो।
 
मोदीले दोस्रो पटक प्रधानमन्त्रीका रुपमा शपथ र आफ्नो मन्त्रिपरिषद् गठन पनि गरिसकेका छन्। वरीयताको क्रममा दोस्रो स्थानमा राजनाथ सिंह, रक्षामन्त्री भएका र भाजपाका अध्यक्ष अमित शाह वरीयता क्रममा तेस्रो, गृहमन्त्री बनाइएका छन्। यस विषयमा अरु धेरै विस्तारमा नजाऔं। यहाँ अचेल दुःखेको अर्कै कुरा छ। 

दुःखेको विषय हो सुब्रह्मण्यम जयशंकरलाई भारतीय विदेशमन्त्रीमा नियुक्ति।

मोदी मन्त्रिपरिषद् गठनसँगै नेपालमा विशेष चर्चाचाहिँ जयशंकरलाई लिएर भएको छ। जयशंकरलाई मोदीले आफ्नो विदेशमन्त्री बनाउनुका पछाडि उनका आफ्नै प्राथमिकता छन् नै। नेपालमा जयशंकरबारे के धारणा छ भन्नेतर्फ भारतीय प्रधानमन्त्रीले पक्कै ध्यान दिँदैनन् (दिएकै भए पनि रोक्न सकिने होइन)।
 
यहाँ जयशंकरबारे विशेष चासो र चर्चा हुनुको कारण हो, संविधान जारी हुनु दुई दिनपूर्व जारी हुनबाट रोक्ने प्रयोजनले उनी संविधानमा धर्मनिरपेक्ष नराख्न र केही दिन विलम्ब गराउन मोदीको सन्देश लिएर काठमाडौं आएका थिए। 

मोदीको विशेष दूतका रूपमा उनी काठमाडौं आएका र परिणाम नराम्रो हुने भन्दै रित्तै हात फर्केका थिए। त्यसको दुई दिनपछि तय गरेकै मितिमा संविधान जारी भयो र जारी हुँदै गर्दादेखि नै भारतले सिमानामा आपूर्ति नाकाबन्दी लगाएको थियो। 

संविधान जारी हुनबाट रोक्नुपर्छ भन्ने भारतीय प्रस्तावलाई नेपाली नेताहरूले अस्वीकार गरेको त आफ्नो ठाउँमा छँदैछ, केपी शर्मा ओली र जयशंकरबीच अत्यन्त कटुतापूर्ण कुराकानी भएको र जयशंकर नेताहरूलाई धम्क्याउँदै फर्केको प्रसंग नेपाल भारत सम्बन्धको विषय उठ्नासाथै सम्झने गरिन्छ।

पछिल्लो समयमा नेपालमा नाकाबन्दीका कारण मोदीपछि सबैभन्दा बढी नकारात्मक रूपमा प्रचारित गरिने नाम उनैको रहिआएको छ। मोदीको नयाँ मन्त्रिपरिषद्मा कुनै अन्य विभागीय मन्त्री नभएर विदेशमन्त्री नै उनै जयशंकर हुँदा धेरैका कान ठाडा भएका हुन्। 



निश्चय नै दुई देशबीचको सम्बन्ध विदेशमन्त्री को हुन् भन्नेमा पूरै निर्भर हुने होइन तर सम्बन्धमा व्यक्ति–व्यक्तित्वको सामीप्य र दूरीको विशेष अर्थ हुन्छ। सम्बन्धित पात्रहरू सम्बन्धको धरातल कमजोर पार्ने कि मजबूत बनाउने खालका छन्, यसले सम्बन्धको भाबी दशा दिशा निर्देशित गर्छ। यसलाई गौण मान्न मिल्दैन।

जस्तै : २०४६ सालको जनआन्दोलनपछि अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारतको राजकीय भ्रमणमा जाँदा भारतबाट नेपाललाई के कस्तो सहयोग चाहिएको छ भन्ने एउटा लिस्ट लिएर गएका थिए।
 
वार्ताका क्रममा भट्टराईले त्यो लिस्ट कोटको खल्तीबाट निकाल्दै गर्दा भारतका तत्कालीन प्रधानमन्त्री विश्वनानाथप्रताप सिंहले लिस्ट हेर्दै नहेरी भनेका थिए, 'तपाईंले जेजस्तो लिस्ट लिएर आउनुभएको छ त्यसमा मेरो पूरा सहमति छ। सबै काम तपाईंले भनेबमोजिम नै गरिनेछ।' तात्पर्य के भने पात्रहरुबीच सम्बन्ध सौहार्द्रपूर्ण र परस्पर विश्वास प्रगाढ हुँदा त्यसले दुवै देशका सम्बन्धमाथि सकारात्मक असर पर्छ र पात्रहरुबीच सम्बन्ध कटुतापूर्ण हुँदा दुवै देशको सम्बन्धमा अप्रिय मोड पनि आउँछ।
 
जस्तै : भारतका तत्कालीन नेता राजीव गान्धी र नेपालका तत्कालीन राजा वीरेन्द्रबीच कटुतापूर्ण सम्बन्धका कारण २०४५ सालमा देशले नाकाबन्दी बेहोर्नुपरेको थियो। 

त्यसैले व्यक्ति आउँदैमा सम्बन्ध तलमाथि हुँदैन भन्ने कथन सर्वथा सत्य होइन। व्यक्तिले असर गर्छ र त्यो असर नेपालले भोग्दै आएको छ। विश्वेश्वरप्रसाद कोइराला र इन्दिरा गान्धीबीच अप्रिय नै नभए पनि सम्बन्ध सुमधुर नभएका कारण नेपालमा बहुदलको स्थापना धेरैपछि धकेलिएको थियो। 

भन्ने कुरा हो व्यक्ति आउँदैमा केही फरक पर्दैन। यथार्थमा व्यक्तिका कारण सम्बन्ध तलमाथि हुन्छन्। 

अझ प्रस्ट पारौं, भारतले लामो समयसम्म नेपालका हकमा दुई स्तम्भ नीति (ट्विन पिलर पलिसी) अवलम्बन गरेको थियो, बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था। 

तर नेपालमा वीरेन्द्रको सवंश विनाशपछि राजा बनेका ज्ञानेन्द्रसँग भारतको स्वार्थ बाझेका कारण दुई स्तम्भ नीति परित्याग गरेर उसले तत्कालीन सात दल र माओवादीबीच अघोषित मध्यस्थता गर्दै १२ बुँदे सम्झौताको वातावरण निर्माण गरेको थियो। तात्पर्य हो, एउटा व्यक्तिले धेरै फरक पर्छ।
 
एउटा व्यक्तिले गर्दा ठूल्ठूला उलटफेर भएका छन्, व्यवस्था बदलिएका छन्। डिस्कोर्स नै मोडिएका छन्। 

युद्धहरू भएका छन्। युद्धमात्र होइन, शान्ति कायम गर्न पनि व्यक्तिको भूमिका अहम् हुने गरेको छ। यसलाई पुष्टि गर्ने अनेकन् उदाहरण छन्। महाभारतमा यदि दुर्योधन हुँदैनथे र उनलाई कर्णको साथ हुँदैन थियो, शकुनीको दुष्टता हुँदैन थियो भने कुरुक्षेत्रको भयानक युद्ध निश्चय नै हुने थिएन। पाण्डव पक्षमा श्रीकृष्ण हुँदैन थिए भने पाण्डव युद्धमा विजयी हुने थिएनन्। व्यक्तिले फरक पर्छ, धेरै फरक पर्छ। 

त्यसैले भारतीय विदेशमन्त्रीमा जयशंकरको नियुक्ति नेपालको वर्तमान सत्ताका लागि सुखद समाचार होइन। सुखद होइन किनभने एक त उनी प्रशिक्षणले कर्मचारी–कूटनीतिज्ञ हुन्, उनलाई राजनीतिक हाउभाउ आउँदैन र साना छिमेकीको मनोविज्ञानको कदर गरेको देखाउने राजनीतिक 'लोलोपोतो' सँग उनलाई केही लिनुदिनु छैन।

यता नेपालमा भारतबाट विशेष अनुग्रहको अपेक्षा गरिन्छ तर उनीहरुको आग्रहका हकमा चाहिँ यता स्वाभिमानसँग सम्झौता गरेको मानिने मानसिकता छ। भारतको पनि दिँदा तौली तौली दिने बानी छ। सम्बन्ध जतिसुकै विशेष किन नहोस्, कसैले दिन्छ भने मोल बराबरको लिन्छ पनि। पाएन भने सम्बन्ध बिग्रिन्छ।
 
औपचारिकता आफ्नो ठाउँमा छ, तर सत्य के हो भने भारतको वर्तमान सत्ताधारी दल, जो झनै शक्तिशाली भएर आएको छ, उसको नेपालका वर्तमान सत्ताधारीसँग सम्बन्ध सहज छैन। दुवैबीच न कुनै व्यक्तिगत भावनात्मक, न त सैद्धान्तिक सामीप्य छ।
 
फेरि नेपालमा उनै व्यक्ति प्रधानमन्त्री छन्, जसलाई प्रधानमन्त्री बन्नबाट रोक्न निवर्तमान हुँदै गरेका प्रधानमन्त्री सुशील कोइरालालाई पुनः उम्मेदवारी दिन लगाइएको थियो। तिनै ओली प्रधानमन्त्री छन् जसलाई हटाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गठजोड तयार गरिएको थियो।

ओली पुनः प्रधानमन्त्री बनून् भन्ने उताकाले नचाहेकै हो। यसपालि यताकाले पनि मोदी नआऊन् भन्ने कामना गरेकै हुन्। यताका कतिपयमा कन्हैयाकुमारप्रति त्यसै आकर्षण उत्पन्न भएको थिएन। दुःखेको यता पनि छ र उता पनि। साथै सत्य के हो भने यताको दुःखाइमा भारतीय विदेशमन्त्रीमा जयशंकरको आगमनले पीडा अरू थपिदिएको छ। 
प्रतिक्रिया दिनुहोस्