मंगलबार, कात्तिक २६, २०७६

विचार

३० वर्षमा देशले के पायो ?

भोट हाल्नेहरु हार्ने र भोट जित्नेहरुले रजगज गर्ने हाम्रो राजनीतिमा दोष कहाँ छ ? ब्यक्तिका के कस्ता दोष छन् ? प्रणालीमा के कस्ता दोष छन् ? र दलहरुभित्र के कस्ता दोष छन् ? यस्ता विषयमा हामीले धेरै मन्थन गरेका छैनौं । 

३० वर्षमा देशले के पायो ?
साधारण कुराबाट विषय प्रवेश गरौं । लगभग दुई वर्षअघि देशमा चुनाव भयो । संघ, प्रदेश र स्थानीय सरकारमा हजारौँ मान्छे निर्वाचित भए । चुनावमा जनताले के मागे र नेताहरुले के कस्ता वाचाहरु गरे त्यसको इतिहास साक्षी छ । जस्तो, 'हजुर मेरो पेट खाली छ', मतदाताले भन्यो । नेताले भने, 'ठिक छ हामीलाई भोट हाल, खान पाउँछौ । खानामात्र हैन नाना र छाना पनि पक्का ।' अर्कोले भन्यो, 'नेताज्यू म बितेका ३० वर्षदेखि सुकुमबासी छु । ठिक छ, मलाई भोट देऊ लालपुर्जा दिन्छु ।' 

एउटा निर्धो किसानले भन्यो, 'ख्वामित् म किसान हुँ । तर खेत छैन ।' नेताले हौसिँदै भने, 'लु मलाई भोट देऊ म खेत दिन्छु ।' 'सहरमा धुलो र धुवाँले मार्‍यो प्रभु !' 'यो कुन ठूलो कुरा भयो, मलाई भोट हाल म स्विजरल्यान्ड बनाउँछु । त्यसपछि सडकमा एकजनाले पनि माक्स लगाएको देख्यौ भने मलाई भन्नु ।' 'जागिर छैन, बेराजगार छु नेताज्यू ।' 'हामीले वर्षमा १० लाख रोजगारी सिर्जना गर्ने योजना बनाएका छौं । भोट हाल, रोजगारी पक्का ।'

कुरा यतिमा मात्र सकिँदैन । चुनावी सभा, चोकमा हुने छलफल र रोड सोमा नेताहरुले भने, 'हामीलाई जिताऊ, भ्रष्टाचार अन्त्य हाम्रो पहिलो प्राथमिकता हो । हामी शिक्षा र स्वास्थ सुलभ गर्छौँ । मूल्यवृद्धि रोक्छाैं र साधारण मान्छेलाई देशको मालिक बनाउँछौँ । हामी वृद्धभत्ता बढाउँछौं । हामी गरिब, किसान र मजदुरलाई हेर्छाैं । समावेशीकरण हाम्रो नीति नै हो । त्यसपछि जनताका सुदिन आउँछन् र यो देश स्वर्ग बन्छ ।'

नेपाली राजनीतिमा बाचाहरुको खरिदबिक्रिी बितेका ७० वर्षदेखि चलिरहेको छ । २००७ सालदेखि हाम्रा दलहरुले भन्ने गरेको यही नै हो 'विश्वास गर, परिवर्तन पक्का' । २००७ सालको आन्दोलनका बेला भनियो कि राणा शासन यो देशको भाग्य र भविष्यको बाधक हो । राणा शासन ढालौं, त्यसपछि उज्यालो आउँछ । नेताले जे भने जनताले मान्दै गए । पञ्चायतकालमा भनियो, प्रजातन्त्र आवश्यक छ । हामीले मानेकै हो । अनि भनियो, गणतन्त्र चाहिन्छ । गणतन्त्र ल्याउन पनि जनताले कुर्वानी दिएकै हुन् ।

नेताहरुको उत्प्रेरणा, लोकतन्त्रको असीम चाहना र समृद्धिको तिर्सनामा जनता पटकपटक आन्दोलनहरुमा सहभागी भए । चुनावमा सहभागी भए । यो बीचमा २० हजारभन्दा धेरै नागरिक मारिए । ५० हजारभन्दा धेरै परिवार राजनीति पीडित बने । हजारौँको सम्पत्ति, सामाजिक सम्बन्ध र जीविका खोसियो । ऊर्जाशील युवाहरुले पढाइ छोडे । खर्बौं राज्यकोष सकियो । हाम्रा सुनौला अनेक वर्ष बिते । तर बाचा पूरा भएन । किन ?
 
राजनीतिमा बाचाहरुको सम्झना गर्ने र त्यसलाई पूरा गर्न सदैव प्रतिबद्ध हुने सरकार नै राम्रो सरकार हो । यस्तो सरकार जसले आलोचनाहरुलाई स्वीकार गरोस् ।

किन हार्छन् भोटरहरु ? 

नेपालमा बितेका ६० वर्षदेखि केन्द्रीय सरकारका लागि निर्वाचन भइरहेको छ । स्थानीय निर्वाचनको इतिहास त्योभन्दा लामो छ । तर प्रत्येक निर्वाचनमा भोट हाल्नेहरु हारिरहेका छन् । किन ? भोट हाल्नेहरु हार्ने र भोट जित्नेहरुले रजगज गर्ने हाम्रो राजनीतिमा दोष कहाँ छ ? ब्यक्तिका के कस्ता दोष छन् ? प्रणालीमा के कस्ता दोष छन् ? र दलहरुभित्र के कस्ता दोष छन् ? यस्ता विषयमा हामीले धेरै मन्थन गरेका छैनौं । 

केही साथीहरु भन्छन्, काम हुँदैछ । खासगरी सत्ताधारी दलका मान्छेहरु भन्छन्, काम हुँदैछ । प्रिय मित्र, कहाँ हुँदैछ काम ? राणा शासनको अन्त्यपछिका ७० वर्षमा जनतासँग गरेका बाचा कहाँ पूरा भए ? लौ ठिक छ, मानौं कि बीचमा ३० वर्ष पञ्चायत आयो र त्यसले विकास र समृद्धिको गति रोक्यो । तर ४० वर्षमा चैं के भयो ? हामीसँग एउटा राम्रो विश्वविद्यालय छैन । एउटा राम्रो अस्पताल छैन । एउटा राम्रो सडक छैन । एउटा राम्रो रंगशाला छैन । एउटा राम्रो पार्क छैन । एउटा राम्रो म्युजियम छैन । एउटा राम्रो उद्योग छैन । भोक उही छ, रोग उही छ, बेरोजगारी उस्तै छ । दुःख उही छ र सुखका सपना उनै छन् । 

आशावादी साथीहरु भन्छन्, १० वर्ष जनयुद्धमा गयो । यद्यपि म आफैँ पनि निकै आशावादी मान्छे हुँ । ठिक छ, लौ त्यो पनि मानौं । ४० वर्षमा १० वर्ष त्यसरी नै बिते । बाँकी ३० वर्षमा के भयो ? के ३० वर्ष छोटो समय हो ? तीस वर्षमा एउटा साधारण मान्छे राजनीति गरेर मन्त्री हुन सक्छ । प्रधानमन्त्री हुन सक्छ । एउटा बच्चा हुर्किएर डाक्टर हुन सक्छ । इन्जिनियर हुन सक्छ । एउटा बिरुवा बडेमानको रुख हुन सक्छ । एउटा सुकुम्वासी देशकै धनी मान्छे बन्न सक्छ । देश किन बन्न सक्दैन ?

तीस वर्षको अंकगणित  

तीस वर्ष थोरै समय हैन । गणतन्त्रप्रतिको मेरो निष्ठामा प्रश्न नउठाउनु होला । राजा महेन्द्रकै प्रसंग पनि निकै रोचक छ । उनले ०१७ सालमा प्रजातन्त्रमाथि घात गरे र लगभग १० वर्ष शासन गरे । ती दश वर्षमा नेपालको प्रशासनिक संरचना बन्यो । मूल सडकको रेखा कोरियो । विकास क्षेत्रहरु स्थापित भए । विभिन्न ठाउँमा कृषि अनुसन्धान केन्द्र बने । देशलाई आजसम्म पनि गीत, संगित, साहित्य र कलामा नेतृत्व गर्ने संरचना र मान्छेहरुको पहिचान भयो । विज्ञहरु बने । युवाहरु सत्तामा आए ।  

पञ्चायत राजनीतिक प्रणालीका रुपमा बेठिक थियो । राजशाही निश्चय नै हाम्रो छनौट होइन । तर नेताहरुले सिक्नका लागि राजा महेन्द्रसँग पक्कै केही थियो, जसले १० वर्षमा राज्य निर्माणका अनेक आधार बनाए । भलै त्यो राज्यसँग जनताको गुनासो थियो । के हामी पञ्चायत जति पनि प्रभावकारी भएनौं ? के हाम्रा नेताहरुमा राजा महेन्द्रको जति पनि क्षमता छैन ? यस्ता प्रश्नहरु निश्चय नै दुर्भाग्यपूर्ण छन् । तर इतिहासले उठाउने यस्ता प्रश्नहरुलाई 'इग्नोर' गर्न पनि त सकिँदैन ।
 
तीस वर्षमा भारत, चीन, थाइल्यान्ड, मलेसिया, सिंगापुरका विकास अनुभवहरु हेर्ने हो भने त्यो समय कति मूल्यवान् थियो थाहा हुन्छ । बितेका १० वर्षमा सिक्किम र विहारकै अनुभवले पनि हामीलाई समयको बोध गराउँछन् । तर हामीले बितेका ३० वर्षलाई अनेक वहानामा बर्बाद गर्‍यौ । गणतन्त्र आएकै पनि त १३ वर्ष भयो । यो बीचमा हाम्रा नेताहरुले पटकपटक बाचा गरे । हामीले पत्यायौँ । परिणाम प्रत्येक पटक बाचाहरु बिर्सिईए र हामी बालुवाको आँधीमा लरबराइरह्यौं ।
 
आजका कुरा

दुर्भाग्य भनौँ कि आज अवस्था अझ चर्को छ । प्रतिपक्षी कमजोर छ र सत्तापक्ष बलियो । राजनीतिमा बलियो बन्नु अझ धेरै इमानदार, उत्तरदायी र प्रभावकारी बन्नु हो । तर हाम्रोमा बलियो बन्नु अझ धेरै अटेरी बन्नु, अहंकारी बन्नु र अझ धेरै गफाडी हुनु हो । त्यसैले भन्नैपर्छ– हामीलाई बलियो हैन, राम्रो सरकार चाहिन्छ ।
 
राम्रो सरकार भनेको के हो ? यसको कुनै ठूलो र दार्शनिक परिभाषा छैन । राजनीतिमा बाचाहरुको सम्झना गर्ने र त्यसलाई पूरा गर्न सदैव प्रतिबद्ध हुने सरकार नै राम्रो सरकार हो । यस्तो सरकार जसले आलोचनाहरुलाई स्वीकार गरोस् । जनतालाई सुनोस् । मानौँ कि जनताले भने, 'म भोको छु ।' सरकारले त्यसलाई विरोध ठान्नु भएन । सुकुमबासीहरु सडकमा आए । सरकारले त्यसलाई दायित्व ठान्नुपर्‍यो । सहरको धुलो र धुवाँको कुरा कसैले गर्छ भने त्यसलाई रेल र पानीजहाज विरोधी ठान्नु भएन ।
 
राम्रो सरकार भनेको जबाफदेही र उत्तरदायी सरकार हो । कोप्रति उत्तरदायी ? आफ्ना आसेपासेहरुप्रति? हनुमान वा अरिंगालहरुप्रति ? झुप्राप्रति कि महलप्रति ? नागरिकप्रति कि दलाल प्रति ? भ्रष्टाचारलाई शून्यमा झार्छु भन्नेहरुको नाकै सामुन्ने वाइड बडी काण्ड हुन्छ । एनसेल काण्ड हुन्छ । बूढीगण्डकी काण्ड हुन्छ । बालुवाटार काण्ड हुन्छ । निर्मला काण्ड हुन्छ । सुनतस्करी काण्ड हुन्छ । मूल्य आकाश चुलिन्छ र जनता अझ मर्माहत हुन्छन् । किन यस्तो हुन्छ ? राम्रो सरकारले जनतालाई आश्वस्त पानुपर्छ ।

सबैभन्दा मुख्य कुरा राम्रो सरकारले पार्टी र सरकारबीचको फरक थाहा पाउनुपर्छ । अन्यथा सरकार जनताको हुँदैन । अन्यथा सरकार अमुक पार्टी र आसेपासेको मात्र हुन्छ । त्यस्तो सरकारलाई आफ्नो सुरक्षाका लागि हनुमान चाहिन्छ । हनुमानहरुको सुरक्षा घेराभित्र बस्ने सरकार राम्रो सरकार होइन ।
   
बाचाहरुको अनुगमन

समस्या यो छ कि, दलहरु कहिल्यै बाचामा इमानदार देखिएनन् । सत्तामा पुगेपछि दलहरु न त आफ्ना घोषित सिद्धान्तमा टिके न त निर्वाचन घोषणापत्र नै सम्झिए । त्यसैले राजनीतिक दलहरुमा बाचाप्रति निष्ठा देखिएन ।  जसले जे बोल्दा पनि भयो । आफूले बोलेको कुरामा कसैले दायित्व लिन परेन । ढाँट, छल, दन्तबजान, फोस्रो नैतिकता र सतही प्रतिबद्धता हाम्रा दल र नेताहरुको आमसमस्या बन्यो ।
 
समस्या दलहरुमा मात्र छैन । सरकारमा पनि उस्तै समस्या छन् । जस्तो : भख्खरमात्र सरकारले नीति तथा कार्यक्रम ल्यायो । यस्तो नीति तथा कार्यक्रम गतसाल  पनि आएकै थियो । त्यो भन्दा अगाडि पनि पटकपटक आएकै हो । अब चाँडै सरकारले बजेट ल्याउँछ । यस्तो बजेट वर्षैदेखि आई नै रहेको छ । तर फूल बुट्ने हाम्रा नीति तथा कार्यक्रम र बजेटहरुले किन परिणाम दिँदैनन् ? कार्यक्रममा जे भनियो त्यो किन कहिल्यै पूरा हुँदैन ? सरकारसमेत किन आफ्ना बाचामा सधैँ असफल हुन्छ ?

के गर्ने होला ? हामीलाई दलहरुको बाचा अनुगमन गर्ने तर्कबद्ध पद्धति र संरचना आवश्यक देखियो । दलहरुले विगतमा के भने र वर्तमानमा के गरे ? यस्ता विषयमा खबरदारी चाहियो । कुरा निर्वाचनमा गरिने बाचाहरुको मात्र होइन दलहरुको घोषित नीति र कार्यक्रमको पनि अनुगमन आवश्यक छ । 

जस्तो- माओवादीहले के भने र आज के हुँदैछ ? १७ हजार मृत्युको मूल्यसँग कसैको इमानको परीक्षण कतै गरिँदैन । कांग्रेसले के बोलेको थियो र आज के गर्दैछ ? खबरदारी कतै छैन । कम्युनिस्टहरुले आफ्ना दस्ताबेजहरुमा के लेखे र आज कस्तो सरकार चलाउँदै छन् ? मधेस मुक्तिको आन्दोलन चर्काउनेहरुले सरकारमा गएर मधेसलाई के गरे ? न त कतै अनुगमन छ, न त परीक्षण ।  

प्लेटो भन्छन्, 'नेता बन्नु आफ्ना निजी आकांक्षाहरुको तिलाञ्जली गर्नु हो' । उनको भनाइमा नेता बन्नासाथ व्यक्तिका निजी स्वार्थ सकिन्छन् र ऊ सामूहिक बन्छ । सामूहिक व्यक्तित्वको वाचा, इमान र उद्देश्य सामूहिक चासोको कुरा हो । अतः त्यसको परीक्षण र अनुगमन हुनुपर्छ । त्यसो त अमेरिकी नेता मार्टिन लुथर किङ भन्छन्, 'नेताहरुले विचार गरेर बोल्नु र बोलीमा प्रतिबद्ध रहनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।' 

राजनीतिको सफाइ राजनीतिलाई गाली गरेर मात्र हुँदैन । बरु यसलाई प्रश्न, आलोचना र परीक्षाको आगोमा खारिरहनुपर्छ । दल, नेता र सरकारको बोली र व्यवहारको परीक्षण, राजनीतिलाई बदल्ने एउटा प्रयत्न हो । नेता, कार्यकर्ताहरुलाई थोरै सुझाव के भने बाचा गरौँ र बाचा पूरा गरौँ । अन्यथा प्रश्नहरुसँग नभागौँ । या त प्रश्नहरुको सामना गरौँ वा आफूलाई बदलौँ । अनिमात्र लोकतन्त्रको सार्थकता रहन्छ ।
प्रतिक्रिया दिनुहोस्