सोमबार, मंसिर ३०, २०७६

समाचार

किन सच्चिएनन् देउवा ?

तीनतीनवटा सफल जनआन्दोलनको नेतृत्व गरेको र माओवादीलाई सशस्त्र द्वन्द्वबाट मूलधारको राजनीतिमा आउन प्रेरित गरेको कांग्रेस मुलुककै कमजोर पार्टीका रुपमा दह्रिन पुग्नु कांग्रेसीका लागि मात्र होइन, लोकतन्त्रवादीहरूकै दुर्भाग्य हो ।

किन सच्चिएनन् देउवा ?
नेपाली कांग्रेस, चितवनको पार्टी कार्यालयमा विश्वेश्वरप्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्बिर लहर मिलाएर राखिएको छ । यी छ जना नेताहरूले नेपाल, नेपाली जनता, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, कांग्रेस र कांग्रेसीहरूका निमित्त ठूलो संघर्ष गरे, कुनै न कुनै रुपको गुण लगाएरै गए ।

उल्लिखित कुनै नेता जीवित छैनन् तर कर्मका कारणले नै होला उनीहरूका तस्बिर त्यहाँ झुन्ड्याएर राखिएको । गणेशमानबाहेक सबै नेपाली कांग्रेसका पूर्व सभापति हुन्, त्यसैले कांग्रेसकै कार्यालयमा फोटो टाँगिनु कुनै ठूलो कुरा होइन भन्ने पनि भेटिएलान् तर फोटोको तल नाम लेख्दा दिइएको विशेषणले ती नेताहरूको महत्तालाई झल्काएको छ ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसादको नामअगाडि महामानव लेखिएको छ । सुवर्ण शमशेरको नामअगाडि क्रान्तिका अग्रदूत र गणेशमानलाई लौहपुरुष विशेषण दिइएको छ । कर्मयोगी सन्त नेता कृष्णप्रसाद, युगपुरुष गिरिजाप्रसाद र निष्ठावान् राजनीतिज्ञ सुशील कोइराला भनी जसको फोटो हो उसैको तल लेखेको देखिन्छ । यी विशेषण लेख्न आफू जीवित छँदै चितवन कार्यालयलाई ती नेताहरूले दबाब दिएका होइनन् ।

पिएचडी सकेपछि आफैंले आफ्ना नामअगाडि डाक्टर लेखेझैँ ती नेताहरूले आफैँ लेखेका पनि होइनन् । गणेशमानजी त अझ पूर्वसभापति पनि होइनन् । तर पनि चितवन कार्यालयले यो सम्मान दिएको छ । चितवनले मात्र होइन, सम्पूर्ण नेपालीले यही रुपमै जान्दछन्, यी नेताहरूलाई र यसैगरी पुकार्दछन् ।

सुशील कोइराला पछिका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुन् । हुन् मात्र होइन, अहिलेका वर्तमान सभापति नै हुन् । भलै देउवा पटकपटक प्रधानमन्त्री हुँदा महिला आयोग, दलित आयोगहरूको गठन, विधवा भत्ता, माध्यमिक तहसम्म निःशुल्क शिक्षा जस्ता थुप्रै राम्रा काम भए होलान् तर नेपाली कांग्रेसले स्थापनाकालदेखिकै सबैभन्दा ठूलो दुर्नियति अहिले भोग्नुपरेको छ, उनको सभापतित्वकालमा ।

राणाकालमा पनि यत्तिको कमजोर थिएन कांग्रेस, पञ्चायतकालमा पनि यति धेरै निरुत्साही थिएनन् कांग्रेसी । तीनतीनवटा सफल जनआन्दोलनको नेतृत्व गरेको पार्टी, माओवादीलाई सशस्त्र द्वन्द्वबाट संसदीय व्यवस्थाको मूलधारको राजनीतिमा आउन प्रेरित गरेका पार्टी मुलुककै कमजोर पार्टीका रुपमा दह्रिन पुग्नु कांग्रेसीका लागि मात्र होइन, लोकतन्त्रवादीहरूकै दुर्भाग्य हुन पुगेको छ ।

यो अवस्था आउनुमा देउवा एक्लै दोषी अवश्य होइनन् । पार्टीको नेतृत्व पङ्क्तिमा रहेका सबैमा भागशान्तिले जिम्मेवारीको अंश जानैपर्दछ तर मूल नेतृत्व सभापतिले मुख्य नैतिक जिम्मेवारी लिनैपर्दछ । त्यस्ता नेताहरू र आदर्शले ओतप्रोत पार्टीको दुर्दशाका कारण वर्तमान सभापतिले कार्यकाल समाप्त भएपछि त्यस प्रकारको विशेषण पाइहाल्ने संकेत अहिलेसम्म देखिएको छैन । कांग्रेसको इतिहास, यसका नेताहरूको त्याग, संघर्ष र बलिदानलाई दृष्टिगत गर्दा नेपाली कांग्रेसका सबै नेतृत्व र नेता त्यही प्रकृतिका बनून्, सबैको नाम इतिहासमा स्वर्णाक्षरले लेखियोस् भन्ने सोच कांग्रेसीहरूमा रहेको पाइन्छ ।

वर्तमान सभापति देउवाका अगाडि राख्ने विशेषणको पनि खोजी हुन थालिसकेको छ । देउवाले जबरजस्ती नगर्ने र कार्यकाल लम्ब्याउन विधानले विशेष परिस्थिति भनी दिएको सुविधालाई (दुर्) उपयोग नगर्ने हो भने अब एक वर्ष मात्रै बाँकी हो । इतिहासमा देउवाले गरेका संघर्ष र उनले प्रधानमन्त्री हुँदा गरेका राम्रा कामहरूलाई विगतका निर्वाचनमा देउवाको नेतृत्वमा पार्टीले बेहोर्नुपरेको शर्मनाक हारको पीडाले बिर्साइसकेको छ । अन्य पूर्वसभापतिहरूकै जस्तो नामका अगाडि कुनै न कुनै विशेषणको लोभ गर्ने हो भने बाँकी कार्यकालमा देउवाले ठूलै भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । अन्यथा, पछिल्लो घटनाले गर्दा पटके प्रधानमन्त्री सिवाय कुनै पदवी जनताले देलान् जस्तो देखिँदैन ।
 
तीनतीनवटा सफल जनआन्दोलनको नेतृत्व गरेको र माओवादीलाई सशस्त्र द्वन्द्वबाट मूलधारको राजनीतिमा आउन प्रेरित गरेको कांग्रेस मुलुककै कमजोर पार्टीका रुपमा दह्रिन पुग्नु कांग्रेसीका लागि मात्र होइन, लोकतन्त्रवादीहरूकै दुर्भाग्य हो ।

गिरिजाप्रसादले पनि गल्ती नगरेका होइनन् । ठूल्ठूलै गल्ती गरेका थिए । सुविधाजनक बहुमतको पार्टी हुँदहुँदै पनि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचनमा जबरजस्ती लगेर दोस्रो दल बनाएकै हुन् । उनीसँगै असन्तुष्ट भएर गणेशमान, किसुनजी जस्ता नेताहरू पार्टीभित्र पक्षाघात भएर बसेकै हुन् तर उनले तत्काल महसुस गरी किसुनजीलाई भावी प्रधानमन्त्री घोषणा गरी कांग्रेसलाई चुनावमा होमे, पार्टीलाई पुरानै अवस्थामा फर्काए ।

फेरि गल्ती गरे, किसुनजीलाई बीचैमा प्रधानमन्त्री छोड्न बाध्य गराए तर माओवादीलाई मूलधारमा ल्याई सशस्त्र द्वन्द्वको अन्त्य गराई नाम कमाए । २०६२–६३ को गणतान्त्रिक जनआन्दोलनको नेतृत्वबाट त युगपुुरुष नै कहलिन पुगे । भन्न खोजिएको के हो भने अन्त्यमा सम्झन लायकको कुनै राम्रो काम गर्न सकियो भने पहिलेका गल्तीहरूको प्रायश्चित्त हुन सक्छ र जनताका मनमा पनि त्यही नै रही रहने रहेछ ।

सुशील कोइरालाले पनि महामन्त्री छँदा आफूसँग कुरा नमिल्ने दुई दर्जनभन्दा बढी जिल्ला सभापतिहरूलाई एकैपटक बर्खास्त गरी नाम कमाएकै हुन् । विगतमा जेजस्ता गल्ती भए पनि अन्त्यमा हार बेहोरेको पार्र्टीलाई निर्वाचनमार्फत ठूलो पार्टीमा उभ्याउनुका साथै संविधान घोषणा गराएर इतिहासमा नाम लेखाए । यसैगरी सुनौलो अक्षरमा नाम अंकित गर्न देउवाका लागि पनि अवसरको कुनै कमी छैन । पर्याप्त मौकाहरू छन्, खाली उनको चाहना महत्त्वपूर्ण हो ।

सभापतित्वको बाँकी एक वर्षको कार्यकालमा देउवाले धेरै गर्न सक्छन्, उनमा इच्छाशक्ति छ भने । दुईवटा काम देउवाका प्राथमिकतामा हुनुपर्छ, इतिहास रच्ने हो भने । पहिलो, कांग्रेसको सशक्त संगठन निर्माण । दोस्रो, लोकतन्त्रको पहरेदारी ।

कांग्रेसको संगठन निर्माणमा देउवा आफू सबैभन्दा पहिले निष्पक्ष भएर अन्य नेताहरूलाई निष्पक्ष हुन सिकाउन सक्नुपर्दछ । आफूले सबै कार्यकर्तालाई समान देख्ने र पार्टीका कार्यकर्ताहरूलाई समेत सबै नेताहरूलाई समान दृष्टिले हेर्न र सम्मान गर्न निर्देश गर्नुपर्दछ । कार्यकर्ताहरूलाई पार्टीमा गरेको योगदानको मूल्यांकन र उसमा रहेको क्षमताका आधारमा जिम्मेवारी दिई सम्मानपूर्वक सबैको सहभागिता खोज्न आवश्यक छ ।



अहिलेको जस्तो नेताको दैलो चहार्नेले अवसर प्राप्त गर्ने र जिल्ला वा गाउँमा रहेर कांग्रेसको संगठन गर्दै हिँडेको कार्यकर्ता सधैं पछाडि परिरहने हो भने कांग्रेसको भविष्य बन्न सक्दैन । ठेकेदार र धनवान्हरूलाई प्राथमिकता दिनुको सट्टा पुराना, इमानदार र संगठन गर्न कुशल क्षमतावान् कार्यकर्तालाई अवसर दिई यो एक वर्षभित्रै पार्टीलाई पुरानो अवस्थामा ल्याउन सक्दछन् देउवाले ।

तरुण दल वर्षौँदेखि चार जना पदाधिकारीमा सीमित छ । नेपाल विद्यार्थी संघको केन्द्रीय समिति छैन । जिल्ला तथा क्याम्पसमा नेवि संघ समर्थक विद्यार्थी भेटिन छाडिसके । एकाइ अध्यक्षहरू भने नेतापिच्छेका एकएक जना गरी एउटै क्याम्पसमा तीन चारजना सम्म भेटिन्छन् । कार्यकर्ताबिनाका नेताहरूको मात्रै संगठन भेटिन्छन् ।

नेवि संघ सशक्त र चुस्त नभई दह्रो कांग्रेसको परिकल्पना गर्नु जरो काटेर रुख हुर्काउने सोच भएको मूर्खताजस्तै मात्रै हुन जान्छ । यो अवस्थाको पार्टीको केन्दीय सभापति हुँ भन्दा छाती फुलाउने होइन कि इज्जत जोगाउनसमेत मुस्किल हुन्छ । पार्टी सभापतिले समन्वय गर्ने हो, नेतृत्व दिने हो, पार्टीलाई एक नम्बरको बनाउन प्रयत्न गर्ने हो ।
००
वर्तमान सभापतिले यो एक वर्षभित्र के त्यति गर्न सक्दैनन् ? पार्टीभित्रका गुट–उपगुटले रोके भन्ने जबाफ आउला । गिरिजाप्रसाद सभापति हुँदा साठी–चालीसको भागबन्डा लगाउन आफैँले बाध्य पारेपछि पार्टीभित्रको अहिलेको प्रतिपक्षले त्यही सिक्नु कुनै अनौठो होइन । देउवाले कागतीको रुख रोपेका थिए, त्यही फल्यो । अहिले सुन्तलाको आशा गरेर उनले पाउन सक्दैनन् । जसरी गिरिजाप्रसादले देउवाको माग चुपचाप स्वीकारेका थिए, अहिले देउवाले त्यसरी नै समन्वय गर्नुको कुनै विकल्प देखिएको छैन ।

बरु जसरी गिरिजाप्रसादले भाबी प्रधानमन्त्री किसुनजी भनेर पार्टीलाई संकटबाट मुक्त गरेका थिए, त्यसैगरी भावी सभापति रामचन्द्र भन्ने हो भने केही समाधान होला कि ? अझ अगाडि बढेर संगठन एक बनाउन साठी–चालीस होइन, पचास पचासै भयो भन्ने हिम्मत गरे भने प्रतिपक्ष पनि लचिलो बन्ला र देउवालाई सफल सभापति हुन सघाउला कि ? महासमिति बैठकमा रामचन्द्र पौडेलले ‘डिप लभ’ भन्दै निकास दिएजस्तै देउवाले पनि सहज मार्ग अवलम्बन गर्दा उनकै कद बढ्न सक्छ कि ? धेरै कोणबाट विश्लेषण गर्न जरुरी छ ।

त्यस्तै अहिले केपी ओली सरकार अधिनायकवादको मार्गमा अग्रसर छ । जनताको रगत पसिनाबाट आएको गणतान्त्रिक संविधानलाई धुजाधुजा पारेर भविष्यमा कम्युनिस्ट राज्य घोषणा गर्ने अभिप्रायका साथ अग्रसर छ । राज्यका संयन्त्रहरूलाई कमजोर बनाउँदै जनतालाई आर्थिक संकटमा फसाउने लक्ष्य राखेको देखिन्छ । सारांशमा भन्नुपर्दा कांग्रेस जति कमजोर हुँदै गएको छ, लोकतन्त्र त्यति नै खतरामा पर्दै गएको छ ।

यो लोकतन्त्रको पहरेदारी कांग्रेसबाहेक अरू कसैले गर्न सक्दैन । कांग्रेसलाई सशक्त बनाउँदै लोकतन्त्रलाई सुरक्षित, जनतालाई समृद्ध र देशलाई समुन्नत बनाउने मार्गमा देउवा अग्रसर हुनैपर्ने देखिन्छ । यसो गरे भने एक वर्षपछि देउवाको तस्बिरमा समेत लोकतन्त्रका पहरेदार शेरबहादुर देउवा भनेर चितवन कांग्रेसले लेख्न पाउनेछ । बिना विशेषणप्राप्त नेता कांग्रेसको बनोस् भन्ने कुनै कांग्रेसीको चाहना छैन । लोकतन्त्रलाई सबल बनाउन सभापतिको मात्रै आस गर्ने होइन कि कार्यकर्ताहरूले समेत सभापतिलाई बाध्य बनाउन प्रयत्न गर्नुपर्दछ । सबैको चाहनालाई मध्यनजर गर्दै त्यतातर्फ कदम बढाउन देउवाज्यूमा हार्दिक अनुरोध !
प्रतिक्रिया दिनुहोस्