मंगलबार, मंसिर ३, २०७६

कला - साहित्य

समयको प्रश्वास

टीकाराम। फुस्रो कैलो कपाल गरेको सानो चेहरा। चार कक्षामा पढ्ने दसएघार वर्षको कक्षामध्येको सबैभन्दा सानो केटा। जसको गाढा नीलो पेन्टभित्र जहिल्यै आकाशे नीलो रङको सर्ट हालिएको हुन्थ्यो र बेल्ट छोप्नका लागि अलिकति सर्ट निकालिएको हुन्थ्यो। अनि युके लेखिएको संयुक्त अधिराज्यको झन्डा भएको पुरानो कालो बेल्ट उसको शरीरभन्दा ठूलो लाग्ने सर्टलाई कम्मरभन्दा अलि माथि फुकाएर कस्सिएको हुन्थ्यो। उसका खुट्टाका फिस चप्पल धुलोको परिचित रङमा रंगिएको हुन्थ्यो। मलाई अझै पनि याद छ मेरो नाम टीकारामहरूले पहिलो दिनदेखि नै ज

समयको प्रश्वास
टीकाराम। फुस्रो कैलो कपाल गरेको सानो चेहरा। चार कक्षामा पढ्ने दसएघार वर्षको कक्षामध्येको सबैभन्दा सानो केटा। जसको गाढा नीलो पेन्टभित्र जहिल्यै आकाशे नीलो रङको सर्ट हालिएको हुन्थ्यो र बेल्ट छोप्नका लागि अलिकति सर्ट निकालिएको हुन्थ्यो। अनि युके लेखिएको संयुक्त अधिराज्यको झन्डा भएको पुरानो कालो बेल्ट उसको शरीरभन्दा ठूलो लाग्ने सर्टलाई कम्मरभन्दा अलि माथि फुकाएर कस्सिएको हुन्थ्यो। उसका खुट्टाका फिस चप्पल धुलोको परिचित रङमा रंगिएको हुन्थ्यो। मलाई अझै पनि याद छ मेरो नाम टीकारामहरूले पहिलो दिनदेखि नै जानेका थिए। कक्षाको प्लास्टर गर्न बाँकी भित्ताका ती इँटा, जसका बुनोट स्पष्ट देखिन्थ्यो। त्यही कक्षाका बेन्चमा बसिरहेका छात्रछात्रामाझ मैले आजसम्म पनि टीकाराम एकजनाको नाम अनि मुहार भने बिर्सन सकेको रैनछु।

विद्यालयको पहिलो दिन, जिन्सको बेली पेन्ट लगाएको शिक्षक। गोजीमा हात घुसारेर मैले मेरो नाम उनीहरूलाई भनेको थिएँ। ‘अन्वेष’ जानेसम्म मैले मेरो नाम यसै नै भनेजस्तो लाग्छ उनीहरू सामुन्ने। तर मेरो नाम उनीहरूको बुझाइ अनि लवजमा भने ‘अचिमेच सर’ भइदियो।

म त्यहि दिनबाट उनीहरूको लागि सर भैदिएँ।

पढाउँदै जाँदा केही महिना बितेपछि, एकदिन मैले सोधेको थिएँ, ‘सिक्सको टेबल आउँछ टीकाराम ?’ सधैँ जस्तो चिन्तनशील मुहार लगाएर उसले ठूलो स्वरमा आत्मविश्वाससहित उत्तर दिएको थियो, ‘आउँछ सर।’ म छक्क परेँ। ऊबाट मलाई यस्तो अपेक्षा थिएन। उसको कमजोर पढाइको स्थिति हेर्दासम्म त म यो कुराको कल्पना गर्न पनि सक्दैन थिएँ। यद्यपि उसको मुहारमा भने एक गम्भीर विद्यार्थीको चित्र आउँथ्यो। अगाडि जान आह«ाएसँगै ऊ बेन्चबाट हलुका उफ्रिएर कक्षाअगाडि ब्लाकबोर्डमुनि उभियो। र आत्मविश्वाससहित, लयमा ठू...लो आवाजमा भन्न सुरु गर्‍यो, ‘सिक्स वान जा सिक्स, सिक्स तु जा तु, सिक्स थ्री जा थ्री, सिक्स फो जा फो......।’ मैले उसलाई रोके पनि आफैँलाई हाँस्नबाट के गरि रोकौँ। मेरो जाने हाँसो मिश्रित इसारासँगै आफ्ना पैतालाहरू बिस्तारै चाल्दै ऊ आफ्नो बेन्चमा गएर बस्यो र मलाई निर्दोष नजरले हेर्न थाल्यो। अविश्वासमा उसका साथीहरू घरी किताब, घरी मतिर त घरी टीकारामतिर मिश्रित भावमा हाँसु कि नहाँसु हुँदै हेरिरहेका थिए।

त्यस दिन जाडोको मौसम थियो। उसले उसको शरीरभन्दा थोरै ठूलो ज्याकेट लगाएर आएको थियो। मैले कक्षाको अगाडि जानु भनेसँगै ऊ भन्दा धेरै अग्ला बेन्चमा उक्लियो। र हलुका उफ्रिएर झर्‍यो। बेन्चमा बसेका बेला उसका खुट्टा पिङ खेलिरहेका हुन्थे। हात बाँधिएका हुन्थे। त्यसबेलाको समयतिर उसको सानो हात लेख्नलाई बेन्चमा अरु साथीहरूको तुलनामा बढी तन्किएको हुन्थ्यो। ऊ उभिएर डेस्कमा लेख्थ्यो। त्यो असहजता मैले देखे पनि उसले कहिल्यै गुनासो गरेन। ऊ उभिएर लेख्नमै सहज थियो, सायद।

‘टीकाराम गीत गाउन आउँछ ?’ अगाडि बोलाएपछि मैले सोधेँ, त्यही दिन।

‘‘आउँछ सर।’’

‘‘लु गा न त।’’ ऊ मेरो छातीको जति पनि थिएन। दुवै हात पछाडि कसेर ऊ गाउन थाल्यो, ‘काँ बज्यो धुन बज्यो बृन्दावनैमा.....’ गाउँदा उसका निधार खुम्चिएका थिए।

मैले देख्दासम्म टीकाराममा जहिल्यै पनि एक अनौठो आत्माविश्वासमा हुन्थ्यो। ठूलो स्वरमा उसको मुखबाट मैले आउँदैन सायद सुनिन (भनेको भए मलाई याद छैन।)। उसको चर्को आवाज अनि सानो शरीर। उसका ठूलाठूला नराम्रा अक्षर। सानो हातले समातिरहेको बलपेनको कभरसँग जोडेको सानो पेन्सिलको टुक्रा जो प्राय ब्यागमा डोरीले बाँधिएका हुन्थे। स्कुल पढाउँदा म दिनहुँ होमवर्क दिने गर्थेँ। अरुको तुलनामा ऊ अलि बढी नै होमवर्क गर्थेन। तर त्यसताका मेरो शिक्षक हुनुको शासनलाई म क्रूरतापूर्वक विद्यार्थीसँग प्रतिक्रिया गर्थेँ। होमवर्क नगर्ने विद्यार्थी मैले पढाएको बेला कहिले, कक्षाकोठा बाहिर घुँडा टेकेर आफ्नो गृहकार्य पूरा गरिरहेका हुन्थे। कहिले साना पाखुराका लोतीभित्रको हड्डीसम्म पुग्नेगरी जोडदार थिचिन्थे। कहिले चाकमा सिर्कना बज्रन्थे। अनि हातमा डस्टर पड्कन्थे। धेरैपटक मैले मेरो विद्यार्थीलाई हातमा थुक दलिरहेको देखेको थिएँ। यस्तैमा एक दिन होमवर्क नगरेकै कारण पिटाइ खानुभन्दा अगाडि टीकारामले ठूलो स्वरमा भनेको थियो, ‘सर... मैले बाख्रा चराउनुपर्छ। चराएन भने बुबाले पिट्नुहुन्छ।’ तर मेरो मान्यता थियो तैँले होमवर्क पनि गर्नुपर्छ टीकाराम। पिटाइ जति खाएपनि उसको घरबाट कम्प्लेन कहिल्यै आएन। न ऊ कहिल्यै क्लासमा एब्सेन्ट भयो।

गुनासै गुनासोमा मैले एक दिन मेरो स्टाफलाई भनँे, ‘यो टीकाराम जहिल्यै बहाना बनाउँछ। के गरेर सुधारुम् हौ सर यल्लाई ?’ ऊ मैदानमा आफूभन्दा ठूलो भकुन्डोको पछिपछि कुदिरहेको थियो। पासका लागि चिच्याइरहेको थियो। ‘यो आउनु नै ठूलो कुरा हो सर। गाउँको स्कुल धन्न पो पढाइरहेका छन् बाउआमाले। मान्छे यत्रो छ त तर तल बेसीबाट स्कुल धाउँछ। दुई घण्टा हिँडेर यो स्कुल आउँछ। बाख्रा पनि बिस पच्चीसवटा पाल्छन्, यिनीहरू।’ मैले टीकारामलाई हेरेँ। केही समय अगाडि मात्र मैले उसको टेस्ट पेपर काटेको थिएँ। ऊ फेल भएको थियो। सारै जतनसाथ उसले उसको फिर्ता भएको टेस्ट पेपर आफ्नो झोलामा राख्यो। मैले सबलाई टेस्टपेपर साइन गर्न अराएको थिएँ।

भोलिपल्ट मैले अराएपश्चात उसले आफ्नो झोलाबाट टेस्ट पेपर झिकेर ल्यायो। साइन गरिएको थियो। ‘बुबालाई गराइस् कि आमालाई गराइस् साइन् केटा ?’ मैले सोधेँ।

‘दिदीलाई गराएँ सर।’

‘ए दिदी ? कतिमा पढ्छिन् तेरी दिदी ?’

‘आठमा पढ्नुहुन्छ।’

‘बुबालाई किन नगराको ?’

‘बुबाले पिट्नुहुन्छ।’ म यो असफलता वा फेल हुनका लागि उसको बुबाले हेरोस् भन्ने चाहन्थेँ। आशा मुताविक नभए नि उसले सीधा जबाफ दियो।

‘साह्रै पिट्नुहुन्छ ?’ उसले टाउको हल्लायो। ‘त्यसो भए भोलि बुबालाई साइन गराएर लिएर आइज।’ ऊ त्यसको भोलिपल्टबाट बिरामी भयो र पर्सिपल्ट मात्र आयो।

म आफैँलाई त्यही विगतदेखि समीक्षा गर्ने प्रयास गर्छु। धेरै पछि मैले त्यही स्कुलको क्लास टु तिर पढाएको विनोदलाई भेटेको थिएँ। सानो थियो अहिले त्यो क्लास एट पुगेछ। त्यसो भए टीकाराम पक्का अब दसमा पुग्यो। त्यल्ले मलाई चिन्छ चिन्दैन। विनोदलाई भेट्दा लाग्यो, लामो अन्तरालपछि भेट्दा मान्छे अचानक नै ठूलो भएजस्तो लाग्दो रहेछ। धेरै विद्यार्थीको नाम, चेहरा सम्झनामा छैन तर उतिबेला म उनीहरूको मस्तिष्कमा शिक्षकका रुपमा एक हाउगुजी नै थिएँ, सायद। मानवअधिकार मञ्चको बाल क्लबले चलाएको नृत्य कार्यक्रममा नितेशले ल्याएको थियो विनोद अनि केही विद्यार्थीहरू। विनोदहरू प्रथम पनि भए। उनीहरूको सुन्दर नृत्य पटकपटक देखाइयो।

‘एज आर अन्ली नम्बर्स।’ (उमेर सिर्फ अंक हो।) यो भनाइको गहिराई के हो सोच्न खोज्छु। मैले यो कुरा सुनेको भनेको अमेरिका गट ट्यालेन्टमा हो जहाँ एक अस्सी कटिसकेका मानिसले एसिडिसी ब्यान्डको ह्याभी मेटल गीत गाउँछन्। सायद मानिसको मनको विषयलाई लिएर उनको कुरा होला यो। तर सिर्फ यतिको आधारमा उमेरका अन्य पक्षलाई नकार्न सकिएला र ? मानिसले हरेक उमेरसँगै आर्जन गर्ने अनुभवको मूल्यहरू ? समृद्ध चेतनाहरू ? यसलाई के मान्ने ?

मेरो सानो अनुभवको अंशले पनि भन्छ। उमेर सिर्फ उमेर मात्र हैन। उमेर एक व्याख्या पनि हो। जसले जिन्दगीको व्याख्या हरेक उमेरसँगै पाइने अनुभवले बढाइरहन्छ। हिजोका लागि म जहाँ जुन मानकसहित शिक्षक बनेर उभिएको थिएँ। त्यो मानकलाई आजकल बारबर आफ्नै मनमा बहसमा ल्याउछुँ, उभ्याउँछु अनि सोधिरहन्छु। त्यतिबेला लाग्थ्यो विद्यार्थी पढ्ने नाममा आमाबुबाको पैसा होमवर्क नगरेर, नपढेर ठगिरहेका छन्। डरले नियन्त्रण गर्नुपर्छ यिनीहरूलाई। सोच्छु के यही हो त वास्तविकता ? के यही हो त तरिका ?

एक दिन टीकारामहरूसँगै थिएँ म। टिफिनमा खेल्न त्यस दिन अलि समय होस् भनेर खाजा क्लासमै खान दिने मन भयो। सबलाई खाजा खाओ भनेँ। एउटी (माफ गर् नानी तेरो नाम नै सम्झिन सकिनँ।) विद्यार्थीले मकै ल्याएकी रहिछे। बाहिर हुस्सु लागिरहेको थियो। मैले थोरै मकै मागेँ। उसका ठूला ठूला आँखाहरू अचानक नै उज्यालोले भरिएका जस्ता भए। मुस्कुराउँदै उसले उसको हातको सक्दो बढी मकै मुठ्याएर दिई। त्यसपछि सबैको मन राखिदिनुपर्ने भयो, मैले। बाह्र जना विद्यार्थी थिए क्यार टीकारामको क्लासमा सबले मुठीभरिका खाजा दिए। त्यस दिन मैले कसले खाजा हालिदिन्छ भनेर सोधेँ। उनीहरू भन्दै गए। एकअर्काको पोल खोल्दै थिए। रिसाए पनि त्यहाँ इखालु बिखालु रिस कतै थिएन। उनीहरू आफैँ हाँस्दै थिए। त्यो दिनको उज्याला मुहारका खुसीहरू कुन शब्दमा वर्णन गरुँ। अहिले आएर सोच्छ, मैले कहिलेकाहीं दिने थोरै अतिरिक्त क्रियाकलापमा संसार जितेझैँ अनुभुत गर्थे उनीहरू। उनीहरूका लागि मैले गाउँदा म नै सबैभन्दा ठूलो गायक थिएँ झैँ गर्थे। एक शिक्षक उनीहरूका लागि के कति हुनसक्छ? आज आएर लाग्छ मैले उनीहरूका बारेमा कति पो जाने हुँला र। आखिर मैले एक दिन पनि त के समस्या पर्‍यो र होमवर्क गरिनस्/पढिनस् भनेर नरम भएर पनि त सोधिनँ। कारणहरू मेरो प्रश्नहरूको अभावमा मौन रहे।

धेरैपछि हरिहर मेमोरियल, गोदक एक कथाको प्लटको सिलसिलामा पुगेको थिएँ। त्यसको संस्थापक तीर्थ (राई) सरले सुनाउनुभएको कुरा याद आउँछ। ‘सर हाम्रो गाउँमा एउटा सर हुनुहुन्थ्यो। एकदमै विद्यार्थीलाई माया गर्ने। एक दिन एकजना विद्यार्थीले होमवर्क गरेर ल्याएनछ। कपडा पनि व्यवस्थित रहेनछ। सरको मुड के थियो कहिले नपिट्ने सरले त्यो दिन छ्यास्स पिटिदिनुभएछ। त्यसपछि त त्यो बच्चा रुकोरुकै गर्न थालेछ। सारै चित्त दुखाएर रुको जस्तो लागेपछि यसो कुरो बुझ्दा त। अघिल्लो दिन त्यो नानीको बुबा रक्सी खाएर आएपछि आमाबुबाको लप्पा परेको रैछ। बच्चाहरू चैँ डरले बारीतिर भागेर गोठमा सुतेछन्। भोलिपल्ट उतैबाट केहि नखाई स्कुल आको रैछ। हामीसँग यही कुराका लागि कमसेकम काउन्सिलिङ र केश स्टडीको सिस्टम चैँ हुनुपर्छ सर।’ मेरो शिक्षण इतिहासमा यी कुरा मैले उतिबेला कहिल्यै अंगीकार गर्न सकिनँ। शिक्षण पेसा छाडेको धेरै समयपछि एक फिल्म हेरेको थिएँ, टु सर विथ लभ। त्यहाँ एक काला शिक्षक आफ्नो उद्दण्ड विद्यार्थी नियन्त्रण गर्न नसकेपछि तनावमा हुन्छन् र तनाव नै तनावमै उसले के कमी भयो भनेर सोच्न थाल्छ। अन्ततः एक निचोड निकाल्छ, ‘मैले विद्यार्थीहरूलाई केटाकेटी सम्झे तर उनीहरू त वयस्क भइसकेका छन्।’’ हो उनीहरू वयस्क भइसके। हामीमाझ कति दुरी होला र? आज एक शिक्षक हिजो एक विद्यार्थी थियो भने दुरी कति होला र? तर पनि किन ती विद्यार्थीका मुहारहरू बुझिन्नन् ? विद्यार्थीका कथाहरू सुनिन्नन् ? किन सुनिन्नन् ? बस आज जहाँ रहेर म टीकारामको मुहार सम्झन्छु तब म आफैँलाई ग्लानि महसुष गर्छु। ‘तँ एक असल विद्यार्थी होस् टीकाराम। तँ मिहेनत गर्, तेरो जस्तो आत्मविश्वास जो कोहीमा हुन्न।’’ सायद मैले यही कुरा त्यही दिन भनेको भए?
प्रतिक्रिया दिनुहोस्