सोमबार, मंसिर २३, २०७६

समाचार

परिचयपत्रअनुसार अपाङ्गता भत्ता

इटहरी उपमहानगरबाटै अपाङ्गता परिचयपत्र वितरण सुरु भएको छ। यसअघि अपाङ्गता परिचयपत्रका लागि महिला बालबालिका कार्यालय इनरुवा पुग्नु पर्थ्यो। तर, अब स्थानीय सरकारले नै यस्तो परिचयपत्र वितरण गर्न थालेको छ। 

परिचयपत्रअनुसार अपाङ्गता भत्ता
इटहरी - इटहरी उपमहानगरबाटै अपाङ्गता परिचयपत्र वितरण सुरु भएको छ। यसअघि अपाङ्गता परिचयपत्रका लागि महिला बालबालिका कार्यालय इनरुवा पुग्नु पर्थ्यो। तर, अब स्थानीय सरकारले नै यस्तो परिचयपत्र वितरण गर्न थालेको छ। 

मंगलबार पहिलो दिन २० जनालाई परिचयपत्र वितरण गरिएको छ। प्रत्येक महिनाको पहिलो हप्ताको बिहीबार अपाङ्गता परिचयपत्र वितरण गरिने उपप्रमुख लक्ष्मी गौतमले बताइन्। नगरसभाबाट समिति बनाउने प्रस्ताव पारित गरेर, कानुन र कार्यविधिजस्ता सबै कानुनि प्रक्रिया पूरा भएपछि परिचयपत्र वितरण भएको गौतमले बताइन्।

अपाङ्गताको प्रकारअनुसारको वर्गीकरण

इटहरी उपमहानगर सामाजिक विकास शाखाकी अधिकृत सुशीला कार्कीका अनुसार परिचयपत्र अपाङ्गताको प्रकारअनुसारको रंग दिएर वितरण गरिन्छ। पूर्ण अपाङ्गता भएकालाई वितरण गरिने कार्डको रङ रातो छ। यो रङको कार्ड हुनेहरु अरुको सहयोगबिना हिँडडुल गर्न सक्दैनन्। नीलो परिचयपत्र भने अरूको सहयोगमा हिँडडुल गर्न सक्ने, ह्विल चेयरमा आउजाउ गर्न सक्नेहरुलाई प्रदान गरिन्छ।

आफैं हिँडडुल गर्न सक्ने तर अपांगता भएकाहरुलाई रातो परिचयपत्र र हातखुट्टामा कुनै चोटपटकले असर गरेको तर सहज काम गर्न सक्नेहरुले सेतो परिचयपत्र पाउनेछन्।

कति पाउँछन् अपाङ्गता हुनेहरुले मासिक भत्ता?

इटहरी उपमहानगरपालिकाका २० वटा वडा कार्यालयमा निवेदन दिएपछि उपमहानगरबाट अपाङ्गता भएकाहरुले भत्ता प्राप्त गर्न सक्छन्। रातो र नीलो परिचयपत्र पाउनेहरुले स्थानीय सरकारबाट मासिक भत्ता पाउँछन्। रातो परिचयपत्रधारी अशक्तहरुले २ हजार र अरुको सहयोगमा हिँडडुल गर्न सक्ने नीलो परिचयपत्रधारीहरुले ६ सय मासिक भत्ता पाउनेछन्। पहेलो र सेतो परिचयपत्रधारीहरुले भने कुनै भत्ता पाउने छैनन्।

आफ्नै घरआँगनछेउबाटै परिचयपत्र प्राप्त गरेकोमा अपाङ्गता भएका व्यक्तिहरुले सुखद अनुभव गर्ने अपांगता भएका इटहरीका युवा मानबहादुर भुजेलले बताए। नेपाल अपाङ्ग महासंघकी पूर्व केन्द्रीय सदस्य तथा परिचयपत्र समितिकी सदस्य तृप्ता मगरले परिचयपत्र वितरण र मासिक भत्ताले अपाङ्गता भएकाहरुलाई स्थानीय सरकारको अनुभूति भएको बताइन्।
प्रतिक्रिया दिनुहोस्