सोमबार, मंसिर २३, २०७६

समाचार

गुराँसको राजधानीमा प्रशासनको यस्तो ज्यादती 

गुराँसको राजधानी तीनजुरे मिल्के र जलजले (टिएमजे) क्षेत्रमा आएका तीन सय विदेशी पर्यटकलाई प्रवेश निषेध गरेर संखुवासभा प्रशासनले आयोजकलाई पक्राउ गरेको छ। पर्यटक ल्याएर कार्यक्रमको नेतृत्व गर्ने शक्तिपिक फेस्टिबल नेपालका अध्यक्ष सुवास केसीलाई प्रहरीले पक्राउ गरेको हो। 

गुराँसको राजधानीमा प्रशासनको यस्तो ज्यादती 
इटहरी - गुराँसको राजधानी तीनजुरे मिल्के र जलजले (टिएमजे) क्षेत्रमा आएका तीन सय विदेशी पर्यटकलाई प्रवेश निषेध गरेर संखुवासभा प्रशासनले आयोजकलाई पक्राउ गरेको छ। पर्यटक ल्याएर कार्यक्रमको नेतृत्व गर्ने शक्तिपिक फेस्टिबल नेपालका अध्यक्ष सुवास केसीलाई प्रहरीले पक्राउ गरेको हो। 

निषेधपछि अलपत्र परेका पर्यटकलाई धनकुटामा व्यवस्थापन गर्दै गरेका केसीलाई २३ गते पक्राउ गरिएको थियो। पक्राउ परेका केसीको मोबाइल अफ भएपछि तीनदेखि सम्पर्क हुन सकेको छैन। 
 
७२ देशका डिजेसहित गुराँसको राजधानीमा सातदिने सांस्कृतिक कार्यक्रम गर्न स्थानीय सरकारसहितको सहमतिमा आएका पर्यटकलाई संखुवासभा प्रशासनले २२ गते रोकेको थियो। चैत २२ देखि २६ गतेसम्म  आयोजना मिति तय भएको सांस्कृतिक कार्यक्रमसहित विपश्यना योग, मुद्रा प्राणायाम, कुण्डलिनी जागरणलगायतका विभिन्न कार्यक्रम राखिएका थिए। यसैका लागि दर्जनौं गाडीमा आफ्ना कार्यक्रमका सामग्रीहरू लिएर आएका पर्यटकलाई प्रशासनले वसन्तपुर नपुग्दै फर्काएको थियो। टिएमजेको संखुवासभाको चौकी क्षेत्रमा हुने कार्यक्रममा प्रशासनले निषेध गरेको थियो। टिएमजे संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्छ।



आर्थिक लेनदेन नमिल्दा निषेध र पक्राउ : आयोजक

गत वर्ष सोही स्थानमा भएको यस्तो कार्यक्रममा भने प्रशासने सहयोग गरेको प्रशासनले यसपटक निषेध गर्नुमा आर्थिक कारण रहेको आयोजक शक्ति पिकका एक सदस्यले बताए। प्रशासनका तर्फबाट तेस्रो व्यक्तिले केही लाख रकम मागेको तर दिन नसक्ने भनेपछि विभिन्न बहानामा पक्राउ गरिएको उनले बताए। नाम नबताउने सर्तमा उनले भने, ‘यो पटक प्रशासनले आर्थिक बार्गेनिङ गरेको कुरा अध्यक्षज्यूले धनकुटामा मिडियामा भने पनि लागूऔषध अनुसन्धानका नाममा पक्राउ गरिएको हो।’

संखुवासभाको मादी नगरपालिकाका मेयर विदुर लिङ्थेपले आर्थिक कारणले निषेध र पक्राउ गरेको आयोजकबाट सुनेको बताए। उनले भने, ‘मैले कुनै प्रस्ट तथ्य त भेटेको छैन तर आर्थिक कुरामा पक्राउ गरेको भनेर आयोजकका केही साथीहरूले कुरा गरेको सुनेको छु।’ आफूले कुराकानी गर्दा दिउँसो मात्रै दिने तर राति कार्यक्रम गर्न नदिनेसम्म भनेका सिडिओले अन्तिममा कार्यक्रमलाई पूरै निषेध गरेकाले घटना रहस्यमय भएको मेयर लिङ्थेपले बताए। 

के भन्छन् संखुवासभाका सिडिओ गणेशबहादुर अधिकारी ?

शक्ति पिकका अध्यक्षलाई लागूऔषध अनुसन्धान ब्युरोले अनुसन्धानका लागी पक्राउ गरेको संखुवासभाका सिडिओ गणेशबहादुर अधिकारीले बताए। सिडिओ अधिकारीले भने पार्टीका नाममा लागूऔषध प्रयोग गर्ने र यौनजन्य क्रियाकलाप गर्ने भन्दै निषेध गरेको बताएका थिए। ‘ट्रान्स पार्टी’ का नाममा यस्ता गलत काम हुने भएकाले निषेध गरिएको सिडियो अधिकारीले बताए। स्थानीय जनप्रतिनिधि, सर्वदलीय प्रतिनिधि र स्थानीयहरूको आग्रहमा निषेध गरिएको अधिकारीले बताए। 



जनप्रतिनिधि भन्छन् : प्रशासनले हस्तक्षेप गर्‍यो
 
मादी नगरपालिकाका प्रमुख विदुर लिङ्थेपले लागूऔषध र यौनजन्य क्रियाकलापका नाममा प्रशासनले नाजायज हस्तक्षेप गरेको बताए।  ‘गाँजा ल्याएका थिए भने बाटैबाट पक्राउ गर्दा हुन्थ्यो। यौनजन्य खराब गतिविधि गरेको भए ठाउँको ठाउँ पक्राउ गर्दा हुन्थ्यो’, लिङ्थेपले भने, ‘बाटैमा जान निषेध गर्ने अनि अलपत्र पार्ने र आयोजकलाई पक्राउ गर्ने काम ठिक भएन।’
 
संखुवासभा प्रशासनको यस्तो गतिविधिले मुलुककै  पर्यटन क्षेत्रमा खराब सन्देश जाने लिङ्थेपले बताए।   ‘सबै पर्यटक नेपालमा उपन्यास लेख्न र हिमाल चढ्न मात्रै आउँदैनन्’, उनले भने, ‘मनोरञ्जन गर्न पनि आउँछन्। यसरी मनोरञ्जन गर्दा सीमा नाघेमा पक्राउ गरेर बुझाउन मिल्छ। तर बाटैमा रोकेर अलपत्र पार्ने र दुःख दिने काम राम्रो भएन।’
 
१५० स्थानीयका घरमा दैनिक ५ हजारका दरले होमस्टे बुक गरिएको कार्यक्रम हचुवामा बन्द गराउनु नाजायज भएको मेयर लिङ्थेपले बताए। उनले भने, ‘कार्यक्रमले स्थानीयलाई असर गर्ने नाममा निषेध गरियो तर कार्यक्रम निषेध गरेको भन्दै स्थानीयले नाराजुलुस गरेका थिए।’

मेयर लिङ्थेप मात्रै हैन सोही नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा पर्यटन व्यवसायी पासाङ शेर्पाले पनि प्रशासनले पर्यटन क्षेत्रलाई तहसनहस गरेको बताए। उनले भने, ‘बकाइदा नगर कार्यपालिकाको बैठक र स्थानीयको निजी जग्गामा हुने कार्यक्रमलाई प्रशासनले असहयोग र्गयो। यो गलत छ।’ 
प्रतिक्रिया दिनुहोस्