मंगलबार, कात्तिक २६, २०७६

विचार

मानव वधशालाको त्यो दृश्य  

आजभन्दा सात वर्षपहिले १२ सेप्टेम्बर पहिलो साता कम्बोडिया जाने अवसर मिल्यो एक साताका लागि। राजधानी नोनपेनको कार्यक्रम तालिका निकै व्यस्त थियो। तर जति नै व्यस्त भए पनि कम्बोडियामा ‘मानव वधशाला’ नहेर्नु असम्भव थियो।

मानव वधशालाको त्यो दृश्य  
आजभन्दा सात वर्षपहिले १२ सेप्टेम्बर पहिलो साता कम्बोडिया जाने अवसर मिल्यो एक साताका लागि। राजधानी नोनपेनको कार्यक्रम तालिका निकै व्यस्त थियो। तर जति नै व्यस्त भए पनि कम्बोडियामा ‘मानव वधशाला’ नहेर्नु असम्भव थियो। पोलपोट शासनकालमा (सन् १९७५–१९७९) मारिएका लाखौँ नागरिकबारे पहिले पनि सुनिएकै हो। विश्वका कुख्यात जेनोसाइडहरू। त्यसैले मन कार्यक्रममा मात्र अडिएन। समय मिलाएर हामी केही नेपाली नोनपेन नजिकैको ‘चोइङ इक’ मानव बधशाला जाने कार्यक्रम बन्यो। नोनपेनमै काम गर्ने एकजना नेपाली आइिटी इन्जिनियरले यात्राको व्यवस्थापन गर्ने जिम्मेवारी लिए।  

सन् १९९२ सेप्टेम्बरको एक साँझ मैले काठमाडाैंमा पहिलोपटक पोलपोटका विषयमा सुनेको हुँ। विश्व कम्युनिस्ट आन्दोलनको इतिहास जान्ने एकजना कम्युनिस्ट गुरुको प्रशिक्षण थियो। हामी केही विद्यार्थी प्रशिक्षणमा थियौँ। जहाँ चियरमेन माओको सांस्कृतिक क्रान्ति, काका हो चि मिन्हको भियतनाम प्रतिरोध, कोरियाली नायक किम इल सुङको जुछे विचारधारासँगै पोलपोटको ‘लाल खमेर’ सम्बन्धमा परिचर्चा भयो। 

त्यो दिन गुरुले क्रान्तिनायकका रोमाञ्चक कथा सुनाए। जस्तो : असाध्यै अनिकालमा माओ पुराना छालाका जुत्ता उमालेर सुप पिउँथे। भियतनाम युद्धमा काका हो चि मिन्हले एक्लै हजार अमेरिकीलाई ढालेका थिए। पालपोट त झन् त्रिकालदर्शी थिए। उनी गाउँमा बस्थे र सहरका बुर्जुवाहरूको सातो लिन्थे। क्रान्तिको कुरा गर्दा गुरु निकै प्रफुल्ल हुन्थे। उनी जति प्रफुल्ल हुन्थे त्यति गमक्क पर्थे। आँखा चिम्म गर्थे। आँखीभुइँ तन्काउँथे र हातले कपाल मिलाउन थाल्थे। लाग्थ्यो, कुनै पुजारी आफ्नो आराध्यदेवको महिमा गाइरहेको छ।
 

स्तम्भ नौतले मानव खप्परको अग्लो हिमाल हो । हजारौं मानव खप्पर राखिएको यो स्तम्भ मानव वधशालाको अन्तिम अवलोकन स्थल हो । त्यो हेरिसकेपछि मन भरिएर आउँछ । अब न त केही खान मन लाग्छ न त केही हेर्न नै ।


त्यही प्रशिक्षणमा एक युवकले पोलपोटको लालआतंकबारे प्रश्न गयो। उसले भन्यो, ‘मान्छेहरू पोलपोटलाई हत्यारा भन्छन्।’ केटोले साधारण प्रश्न गरेको थियो। तर हाम्रा गुरु झडंग भइहाले। उनी पड्किए। हान्ने राँगोले जस्तो रातोरातो आँखा पार्दै उनले प्रश्नकर्तालाई बेसी नै गाली गरे। ‘साला बुर्जुवा’ उनले यस्तै केही भने । प्रश्नकर्ता केटोको सातो गयो। गुरु रिसाउनु स्वाभाविक थियो किनभने पोलपोट उनका नायक थिए। ऊर्जा थियो। लाल ऊर्जा। ‘राज्यसत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने पाठ सिक्दै गरेका हामी केटौलेहरूलाई जे बताइयो त्यही ठिक । हामीलाई क्रान्ति के हो थाहा थिएन । तर यति चैं थाहा थियो कि ‘क्रान्तिको विरोध गर्नु जघन्य अपराध हो।’


पोलपोटबारे सुनेको २० वर्षपछि म पोलपोटकै देशमा थिएँ। तर पोलपोटको इतिहास मैले पढेजस्तो सुनौलो थिएन। सबै उल्टोपाल्टो थियो। जस्तो नेनपेनको सडकमा पोलपोटको नामलाई श्रद्धा गर्ने एकजना कतै भेटिँदैनथ्यो। उनी न त मैले पढेजस्ता क्रान्तिकारी थिए। न त नायक नै। मान्छेहरू भन्थे, ‘उनले निर्दोष मान्छेको हत्या गरेका छन्। मारिनेहरू गरिब थिए। रोगी पनि थिए। बालबालिका र आमा पनि थिए। कोही कोही त किसान थिए जो खेतमा काम गर्दागर्दै मारिए। मारिनेमा कवि, कथाकार र कलाकार पनि थिए।  कस्तो बिब्ल्याँटो कुरा! 

मान्छेहरूले सुनाए, ‘सहरका सुकिलामुकिला बुर्जुवाहरूलाई श्रममा लगाउने नीतिअनुसार ९० प्रतिशत नोनपेनका नागरिकलाई गाउँतिर धपाइयो।’ सहर खाली गरिए। कस्तो उदेक कि कलम बोक्नेहरू फरुवा बोक्न बाध्य बनाइए। कविहरूले हलो जोत्नुपथ्र्यो। प्रेमपत्र लेखेबापत प्रेमीहरू गाउँबाट लखेटिन्थे। पार्टी कार्यकर्ताहरू सर्वाहारा सत्ताको जग बसाउन यत्रतत्र हतियार चलाउँदै थिए। जसले हत्यालाई प्रोत्साहन गर्दथ्यो। यत्रतत्र हत्या। नरसंहार। परिणाम यस्तो भयो कि फूलबारीहरू मानव बधशालामा फेरिएका थिए। खेलमैदान बन्द भए। स्कुल बन्द भए। सबैतिर मृत्युउत्सव चल्यो।

हामीले नोनपेनको सडकमा हिँड्ने कुनै युवकलाई सोध्यौं, ‘पोलपोटलाई कसरी जान्दछौ ?’ उसले सीधा भन्यो, ‘पोलपोट एक आततायी, निरंकुश र मानवताविरोधी मान्छे हो।’ पोलपोटको कुरा गर्दा मान्छेहरू दुस्वप्नबाट भख्खर ब्युँझिएझैं हुन्थे। कम्वोडियामा पोलपोट एक हत्यारा थिए। उनी इतिहासकै सबैभन्दा तुच्छ र घृणायोग्य पात्र थिए। कस्तो अनौठो कुरा ? यता हामीले जे प्रशिक्षण लियाैं, उता ठ्याक्क उल्टो।

योजना बनेको तेस्रो दिन हामी ‘जेनोसाइड’ हेर्न हिँड्याैं। नोनपेनका फराकिला सडक छिचोल्दै ३० मिनेटको यात्रापछि ‘चोइङ इक’ मानव बधशाला पुगियो। हाम्रो स्थानीय साथी भन्दै थियो, ‘नागरिक हत्याका लागि यस्ता सयौं ‘किलिङ फिल्ड’ छन् कम्बाेडियामा। जसमध्ये ‘चोइङ इक’ चर्चित मानव वधशाला हो।’ जान्नेहरू भन्थे कि त्यो सब हेरिरहँदा विचित्रको अवस्थामा प्रवेश गर्छ मान्छे। जस्तो कोही मौन हुन्छन्। कोही रुन्छन्। कोही कसैलाई सरापेजस्तो गर्छन्। कोही भगवान्को नाम लिन्छन्। मानव सभ्यताको कालो इतिहासले मान्छेलाई पूरापूर स्तब्ध र भावुक बनाउँछ।

प्रतिव्यक्ति पाँच अमेरिकी डलर तिरेर ‘वधशाला’ को गेटभित्र प्रवेश गर्दा पानी परिरहेको थियो। गेटमै एउटा ब्रोसर, फिल्डको नक्सा र आवश्यकताअनुसार विभिन्न भाषामा सुन्न सकिने ‘गाइड मेसिन’ पाइन्छ। त्यही बोकेर हामी अगाडि बढ्याैं। बिहान ९ बजेको समय। सयाैं मान्छे अगाडि बढ्दै थिए।

भित्र प्रवेश गर्नासाथ चोकमा उभिएर मैले सुन्ने यन्त्रमा एक थिचें। आकाशबाट देवदूतले बोलेजस्तो गम्भीर स्वर कानमा ठोकियो। ऊ भन्दै थियो, ‘मानव बधशालामा तपाईंलाई स्वागत छ। म एक भाग्यमानी कम्बोडियन हुँ। किनभने म बाचेँ। तर मेरा सबै आफन्त मारिए। म कसरी बाँचे मलाई नै थाहा छैन। आज म तपाइँलाई इतिहासको त्यो कथा सुनाउँछु जसमा मेरा लाखौं बन्धु मारिएका थिए।’ हैट् ! कति भयंकर सुरुवात ? 

मलाई लाग्यो, लाखौं आफन्त मारिएको कथा सुनाउने तागत कसरी आयो होला यो मान्छेमा ? उसले सुनाएको कथा सय वा दुई सय वर्षअगाडिको थिएन। यो त मेरै उमेरको कथा थियो। त्यो बेला मारिने साना नानीहरू कम्बोडियाको सडकमा खेल्दा म पनि नेपालको कुनै गाउँमा उसरी नै खेल्दै थिएँ। उता ऊ मारियो, यता म बाँचेँ। त्यसैले आज म उसको इतिहास सुन्दै छु। यस्तो इतिहास जसलाई सुन्न पनि तागत चाहिन्छ। बिहानै बे्रकफास्ट टेबलमा किलिङ फिल्ड घुम्न जाने कुरा गर्दा रोमबाट आएकी एक भद्र महिला एनालिजा भन्दै थिइन्, ‘म त्यहाँ जान सक्दिनँ केशव। किनभने त्यो सब हेर्ने तागत मसँग छैन।’

हामी वधशालाको प्रवेशद्वारबाट २० कदम अगाडि बढेर दाहिनेतिर लाग्यौँ। म आफू उभिएको ठाउँमा जुन नम्बर लेखिएको छ सुन्ने यन्त्रमा त्यही नम्बर दबाउँथेँ। अनि सुरु हुन्थ्यो कथावाचन। वर्षावनमा झरी परेजस्तो आवाजमा कसैले मेरो कानभित्र इतिहासको त्रासद कथा सुनाउँथ्यो। ऊ भन्दै जान्थ्यो, म अगाडि बढ्दै जान्थेँ। उसले सुनायो, ‘तिमी अहिले जुन ठाउँमा उभिएका छौ, त्यहाँ ट्रकबाट जिउँदा मान्छे झारिन्थे। हरेक दिन र हप्तौं त्यसो गरिन्थ्यो। उनीहरूका हात बाँधिएका हुन्थे। उनीहरू भोका र प्यासी हुन्थे। उनीहरू किन यहाँ ल्याइए ? उनीहरूको कसुर के हो ? कसैलाई थाहा हुँदैनथ्यो। उनीहरूलाई बन्चरो, खुर्पा, झम्फल वा घनले हानिन्थ्यो। दिनभरि मार्दा पनि काम सकिँदैनथ्यो र बाँकीलाई अर्को दिन मार्न राखिन्थ्यो।’ हे प्रभु ! के त्यस्तो भएको होला र ? हाम्रो गाइडले भन्यो, ‘ हो हो विश्वास गर, यो सत्य हो।’ 

आवाज आइरह्यो, ‘अहिले तिमी उभिएको ठाउँ सामूहिक चिहान हो। दुई सय मान्छेलाई यहाँ गाडिएको भेटियो। देशभरि यस्ता चिहान सयौं छन्। आमाको छातीमा टाँसिएर दूध चुस्दै गरेका साना नानीहरूको कंकाल समेत भेटिएको थियो।’ आहो कति निर्मम हत्या ? यो सब सुनिरहँदा मनमा धेरै कुरा आए। मेरो देश, मेरा मान्छे, मेरो इतिहास। साना नानीहरूको हत्याको कथा सुनिरहँदा मलाई मेरा छोराछोरीहरूको सम्झना आयो। म एकैछिन डराएँ। 

मेरो कानमा ठोकिने आवाज कहिले तीव्र हुन्थ्यो। कहिले सिरसिर बतास चलेजस्तो सुसाउँथ्यो। उसको आवाजको लयमा म अगाडि बढ्दै गएँ। अलिकति अगाडि सयौं मान्छे काटिएको ठाउँ आइपुग्यो। अर्धमृत मान्छेमाथि डिडिटी पाउडर छर्किने ठाउँ। त्यो भन्दा केही अगाडि अजंगको रूख देखियो। राति रूखको आडैमा जेनेरेटर चलाइन्थ्यो रे। चर्को स्वरमा खमेरुज क्रान्तिका गीत घन्काइन्थ्यो र हत्या सुरु हुन्थ्यो। निर्दोष नागरिकको पीडा जेनेरेटरको हल्ला र माइकको चर्को स्वरसँगै बिलाउँथ्यो। यो सब सुनिरहँदा मलाई इतिहासमाथि नै घृणा जाग्यो। बान्ता होला जस्तो भयो। काम छुट्ला जस्तो भयो। मनको देब्रेतिरबाट आँधी आयो। नरकंकाल नजिकैबाट हिँड्दा मान्छे कसरी शान्त रहन सक्छ र? 

‘मानव वधशाला’ को आधा फन्को लगाउँदासम्म मैले कम्बोडियाली इतिहासका दर्जनौं पीडा देखेँ र सुनेँ। गहिरा सामूहिक चिहान, खप्पर, हड्डी र हत्याको जिउँदो साक्षी भएर ठिंग उभिएका रुखहरू। लगभग आधा बाटो छिचोलेपछि ठिक सामुन्ने एउटा अग्लो र मोटो रुख आउँछ। रुखको फेदमा हजारौ रंगचंगी धागाहरू बाँधिएका देखिन्छन्। त्यहाँ आइपुग्दा आवाजले कानमा साउती मारेझैं भन्छ, ‘यो केटाकेटीहरू मार्ने ठाउँ हो। यहाँ ३ देखि ५ वर्षसम्मका केटाकेटीहरू रूखमा बजारेर मार्ने गरिन्थ्यो। टहटह जुन लागेको रात, आमाको दूध चुस्दै गरेका नानीहरूलाई यही रूखको फेदमा बजारिन्थ्यो।’ नजिकै उन्खननमा भेटिएका मृत बच्चाका कपडा थुपारिएको छ। यो सब हेर्दा मन बेचैन हुन्छ। मृतकका नाममा प्रार्थना गर्न र श्रद्धाले रंगीन धागो चढाउन मन लाग्छ। 

त्यहाँ हेर्नुपर्ने अझै धेरै कुरा छन्। अथवा भनाैँ हेर्नै नपर्ने कुरा धेरै छन्। तर इतिहास नहेर्ने छुट कसरी पो पाइन्थ्यो र ? जस्तो : त्यहाँ ठूलो म्युजियम छ, जहाँ पुगेर इतिहासका साक्षीहरूसँग भेट्न सकिन्छ। त्यहाँ फोटो प्रदर्शनी छ, जहाँ फोटाहरू रुँदै इतिहासको गीत गाउछन्। त्यहाँ हत्यामा प्रयोग भएका हतियार, मृतकका कपडा, मानव कंकाल, साक्षीका बयानसहितका डकुमेन्ट्री छन्। र अन्त्यमा छ मुख्य स्तम्भ। 

स्तम्भ नौतले मानव खप्परको अग्लो हिमाल हो। हजारौं मानव खप्पर राखिएको यो स्तम्भ मानव वधशालाको अन्तिम अवलोकन स्थल हो। त्यो हेरिसकेपछि मन भरिएर आउँछ। अब न त केही खान मन लाग्छ न त केही हेर्न नै। त्यसपछि ‘मानव वधशाला’ को यात्रा सकिन्छ। तीन घन्टाको यात्रा। त्यसो त तीन घन्टा निकै छोटो समय हो। तर ‘मानव वधशाला’ को प्रभाव जिन्दगीभरका लागि हुनसक्छ। एउटा अविस्मरणीय, उथलपुथलपूर्ण र बोझिलो प्रभाव। यो इतिहासको यस्तो घाउ हो, जसमा अझै खाटा बसेको छैन। 

हामी त्यहाँबाट निस्कियौं, चुपचाप र शान्त भावमा। एक मित्रले सोधे, ‘कस्तो लाग्यो ?’ मसँग उनलाई दिने जबाफ थिएन। म निःशब्द थिएँ। तर मनभित्र आँधी थियो। यस्तो थियो कि मानाैँ म अग्निकुण्डबाट निस्कँदै छु। आगो दनदनी बल्दैछ। जसले मेरा पुराना पाठशाला, किताब र ज्ञानलाई जलाउँदैछ। बस म मात्र बाँच्नेछु। मलाई लाग्यो यो संसारमा म एक्लो हुँदैछु। मैले पढेको राजनीतिक इतिहास, मेरो आस्थाको संसार र मेरा गुरुहरूको ज्ञान सबै सबै डरेर खरानी भइसके। मनमा प्रश्न उठ्यो, कम्बोडियामा मारिएका तीस लाख मान्छेको हत्याको मूल्य के होला ? मैले मेरो भगवान्सँग अनुरोध गरेँ, ‘प्रभु ! यो इतिहास कहिल्यै नदोेरियोस्।’ 
(dahal.keshab@gmail.com) 
प्रतिक्रिया दिनुहोस्