शनिबार, कात्तिक ३०, २०७६

विचार

के हो विप्लवको विद्रोह?

नेत्रविक्रम चन्द अर्थात् विप्लवको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल अर्थात् प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै सरकारले प्रतिबन्ध लगाएको छ। दुवैका नाम, झन्डा एउटै छन्, पढ्ने किताब एउटै हुन्। दुवैका नेताकार्यकर्ताको बोलीचाली, भावभंगीमा एउटै छ। शब्दावली र पदावली एउटै छन्।

के हो विप्लवको विद्रोह?
नेत्रविक्रम चन्द अर्थात् विप्लवको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल अर्थात् प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकै सरकारले प्रतिबन्ध लगाएको छ। दुवैका नाम, झन्डा एउटै छन्, पढ्ने किताब एउटै हुन्। दुवैका नेताकार्यकर्ताको बोलीचाली, भावभंगीमा एउटै छ। शब्दावली र पदावली एउटै छन्।

फरक यत्ति हो, एउटा संसद् र सरकारको हर्ताकर्ता छ, अर्को विगतका द्वन्द्वले पुगेन भनेर पुनः बन्दुक, बम–गोलाको प्रयोग गरिरहेको छ। पुनः हिंसात्मक द्वन्द्वकै वकालत गरिरहेको छ। २०५२ सालदेखि ०६२ सम्म प्रचण्ड र बाबुराम भट्टराईले अवलम्बन गरेको हिंसात्मक पथकै अनुशरण गरेको उद्घोष र तद्अनुरुपकै क्रियाकलाप गरिरहेको छ।

विद्रोहका नायकहरुको राजनीतिक र आर्थिक हैसियत चामत्कारिक हिसाबले उक्लिनु तर त्यहीं अरुहरुले ठगिएको महसुस गर्नु र ठगिनु मूल र प्रेरक कारण हो।

माओवादीको एक दशक लामो हिंसात्मक विद्रोहताका त्यसका सर्वोच्च कमान्डर दाहाल र उनका तत्कालीन प्रियपात्र बाबुराम अचेल विप्लवले बोल्ने गरेकै भाषा बोल्थे। यस्तै जनवादी क्रान्तिका कुरा गर्थे। उनै प्रचण्ड अहिले आएर विप्लवका प्रमुख तारो भएका छन्। बाबुराम भने अर्कै पार्टी खोलेर नयाँनयाँ सिद्धान्त प्रतिपादन गर्ने उद्योग गरिरहेका छन्। प्रचण्डलाई विप्लवबाट आफ्नो ज्यानमाथि खतरा भएको सूचना उनी स्वयंले सार्वजनिक गरेका हुन्। त्यसैले उनको विशेष सुरक्षाका लागि राज्यले ५९ जना सुरक्षाकर्मी खटाएको भन्ने सूचना समाचार माध्यममा आएको छ।

प्रचण्डले आफ्नो ज्यानमाथि विप्लवले हमला गर्ने सूचना पाएको विषय सार्वजनिक गरिरहँदा सामाजिक सञ्जालका प्रयोगकर्ताहरु उनलाई दसवर्षे हिंसात्मक विद्रोहका क्रममा भएका अमानवीय कृत्यहरु सम्झना गराइरहेका थिए। सम्झना गराइरहेका थिए– चितवनको मुढेमा यात्रुवाहक बसमा गरिएको बम विस्फोट र त्यसकारण निर्दोष यात्रुहरुको नृशंस हत्या। लम्जुङका मुक्तिनाथ अधिकारीको माओवादीले गरेको हत्या, डेकेन्द्र थापालाई जिउँदै गाडेको लगायतका क्रूरतापूर्णका अनेकानेक प्रसंगले पोतिएको माओवादी जनयुद्ध कालका काला–गाथाहरुले सञ्जालका भित्ताहरु भरिन पुगे।

प्रचण्डले, निश्चय नै विप्लवले उनलाई तारो बनाएका छन् भनेर, आफूले पाएको सूचना सार्वजनिक गर्दा लोकले सहानुभूति दर्शाउँछ भन्ने ठानेका हुन सक्छन्। तर त्यस्तो भइदिएन किनभने दसवर्षे जनयुद्धपछि उनको जीवनशैली एउटा क्रान्तिकारी नेताको नभएर लोकलाई झुक्याउँदै आफ्नो दुनो सोझ्याउने औसत राजनीतिकर्मीको भन्दा फरक भएन। जतिजति समय बित्दै गयो उनको क्रान्तिकारी छवि, त्यतित्यति खस्किँदै गयो।

उनकै सहकर्मीहरुले प्रचण्डलाई लडाकुहरुका नाममा आएको अर्बौं रकम हिनामिना गरेको, द्वन्द्वकालमा लुटेका करोडौं मूल्यका हतियार बेच्ने उद्योग गरेको, टेलिकमको अर्बौं रकम कमिसन खाएको जस्ता अनगिन्ती आरोप लगाएका छन्। शान्ति प्रक्रिया चलिरहँदा र पहिलो संविधानसभाको अवधिमै प्रचण्डको क्रान्तिकारी नेताको छवि क्रमशः ध्वस्त हुँदै गयो र त्यसमा प्रमुख कारण थियो, उनका विरुद्ध आर्थिक अपचलनको आक्षेप र यो आक्षेप केही राजनीतिककर्मीको मुखमा सीमित नभएर आमचर्चा परिचर्चामा छ।

लोकमा उनको छवि एक त हिंस्रक पात्रका रुपमा ‘सुप्रसिद्ध’ छ तथा शान्ति प्रक्रियामा आएपछि आफ्नै लडाकुको रकम हिनामिना गर्ने, जेमा पनि कमिसन नै खान खोज्ने अपात्रका रुपमा ‘सुपरिचित’ हुन पुगेको छ।  त्यसैकारण अर्थात् अलोकप्रियताका कारण पहिलो संविधानसभामा सबैभन्दा बढी स्थानमा विजय हासिल गर्ने तत्कालीन माओवादी दोस्रो संविधानसभामा पुग्दा तेस्रो बन्न पुग्यो, त्यो पनि अत्यन्तै झिनो।

पहिलो संविधानसभाकालमै पार्टीमा विखण्डन प्रारम्भ भयो। मोहन वैद्य, सिपी गजुरेल, नेत्रविक्रम चन्द, रामबहादुर थापा आदि प्रचण्डबाट अलग भए। (थापापछि फर्केर प्रचण्डसँगै गए, अचेल गृहमन्त्री छन् र चन्दविरुद्ध कठोरतापूर्वक प्रस्तुत हुने उद्घोष गरिरहेका छन्)।

संविधान आएलगत्तै जसो बाबुराम भट्टराई पनि उनको अंकमालबाट फुत्किए। नेपाल कम्युनिस्ट पार्टी (माओवादी), एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अन्त्यमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी–केन्द्र) बनेको प्रचण्डको पार्टी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) मा विलीन हुँदै ओली र उनको गठजोडका रुपमा अर्थात् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामले अचेल सत्तासीन छ।

हिंस्रक पृष्ठभूमिका बाबजुद विद्रोह अवतरण गराइरहँदा बीपी कोइराला, मदनकुमार भण्डारीजस्ता पात्रहरुसँग दाँजिने प्रचण्डसँग आज भौतिक साधनस्रोत प्रचुर छ। खुला राजनीतिमा अवतरण गरेसँगै सत्ता सान्निध्य निरन्तरजस्तै छ। तर यसबीच, राजनीतिमा सबैभन्दा आकर्षक मानिने छविचाहिँ ध्वस्तप्रायः हुन पुगेको छ। अनि विडम्बना, यसै अवस्थामा कुनै बेला उनकै चेला र आफ्नै सहयोगी रहेका चन्द विद्रोहमा उपस्थित भएका र प्रचण्डले नै पाएको सूचनाअनुसार उनी चन्द नेतृत्वको नेकपाको तारो बन्न गएका छन्। चन्दको स्वभाव र प्रवृत्तिसँग प्रचण्ड जति अरु कोही परिचित छैनन् किनभने चन्द उनकै छत्रछायामा हुर्केका उनकै भाषा बोल्ने विद्यार्थी हुन्।

चन्द किन शान्ति प्रक्रिया पूरा नहुँदै पुनः विद्रोहतर्फै फर्के, पार्टीले उनका असन्तुष्टिहरुको सम्बोधन किन गरेन र उनी पुनः बन्दुक उठाउने निधोमा पुगे, यसको जबाफ स्वयं प्रचण्डले दिनुपर्ने हुन्छ र यसको समुचित उत्तर अरुसित नभएर उनैसँग छ। पार्टी छोडेर गएका भए पनि हिंसात्मक विद्रोह हुँदै शान्ति प्रक्रियाका अर्का नायक बाबुराम भट्टराईले समेत साखुल्ले हुन मिल्दैन। किन फर्के चन्द विद्रोहतर्फ ? उत्तर त बाबुरामले पनि बरोबर दिनुपर्छ। जबाफमात्र होइन कि चन्दको मूल प्रवाहीकरणको जिम्मेवारी पनि प्रचण्ड–बाबुरामकै हो।

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन देश र विदेशको समेत धेरै ठूलो स्रोतसाधन खर्च भएको छ। दसवर्षे हिंसात्मक विद्रोहका कारण १७ हजारभन्दा बढीको ज्यान गएको र बेपत्ताको अवस्था के भयो यकिन  छैन, प्रायः हरेक जिल्लाबाट बेपत्ता छन् र संख्या यकिन गरिएभन्दा धेरै छ। लडाकुहरुको व्यवस्थापनमा अर्बौं खर्च भएको छ। द्वन्द्वपीडितहरुले अझै न्याय पाउन सकेका छैनन्।

यस परिवेशमा नेताहरुको व्यवस्थापन भयो, उनीहरुको राजनीति सुरक्षित भयो भनेर के द्वन्द्वका कारक र प्रयोक्ताहरुलाई साखुल्ले हुने अधिकार छ ? जब त्यही असन्तुष्टिबाट एउटा समूह छुट्टिएर निस्केको एवं फेरि पुरानै उत्पात दोहोर्‍याउन खोज्दैछ, यसको जिम्मेवारी प्रचण्ड र बाबुरामले नलिए कसले लिने ? के उनी अथवा उनीहरुले आफ्ना वरिपरि सुरक्षा दस्ता बढाउँदा देश सुरक्षित भएको मानिन्छ ? विप्लवका गतिविधि र उनका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्धसँगै यी र यस्ता अनेकन् प्रश्नहरु उठेका छन्।

साँच्चै भन्ने हो विद्रोहलाई अवतरण गराउँदै आफ्नातर्फ संलग्न सबैलाई समग्र रुपमा शान्तिपूर्ण अवस्थामा फर्काउने जिम्मेवारी विद्रोहका तत्कालीन नेताकै हुन्छ। किनभने कुनै समूह फुटेर जान्छ भने त्यसमा कमजोरी नेताकै रहेको मानिन्छ। अझ किनभने शान्तिप्रक्रिया भनेको नेतालाई ल्याएर कुर्सी दिएको मात्रै मानिँदैन, संलग्न सबैको मूलप्रवाहीकरण गरिएको मानिन्छ।

माओवादी वार्ताद्वारा शान्ति प्रक्रियामा आयो भन्नाको अर्थ हो चन्दसहित त्यसमा संलग्न सबै आए। तर चन्द त आएर फर्के। किन फर्के ? अब फेरि चन्द समूहसँग वार्ता गरेर उनलाई ल्याइएछ, तर त्यहींभित्रको असन्तुष्ट समूह फुटेर फेरि बन्दुक उठाउला, त्यसको जिम्मेवारी कसको हुने, फुटेर जानेको कि त्यो समूहका हकमा वार्ताको नेतृत्व गर्नेको? विगतका जिम्मेवारलाई छोड्दै जाने, राजकीय शानशौकत प्रदान गर्ने, पदले प्रतिष्ठित गर्ने अनि नयाँँ विद्रोहको प्रतीक्षा गर्ने कि पहिला चन्द समूह किन उछिट्टिएर गयो, त्यसको कारण खोज्ने ? यस प्रश्नको उत्तर सहज छ, कुनै पनि निर्णय गर्नुअघि कारण खोज्नुपर्छ। जरा पहिल्याउनुपर्छ।

निश्चय नै संवादद्वारा नै समस्याको समाधान खोजिनुपर्छ तर संवादको विधि सधैं एउटै हुँदैन। साथै, हिंसा किन दोहोरिन्छ ? कारण हो, विगतको द्वन्द्व व्यवस्थापनमा भएको त्रुटि। विद्रोहका नायकहरुको राजनीतिक र आर्थिक हैसियत चामत्कारिक हिसाबले उक्लिनु तर त्यहीं अरुहरुले ठगिएको महसुस गर्नु र ठगिनु मूल र प्रेरक कारण हो। यसका साथै हिंसात्मक विद्रोहको पुनःजागृत हुनामा द्वन्द्व व्यवस्थापनमा दण्डहीनताको पनि अहम् भूमिका हुन्छ। युद्धका कारकहरु र युद्धका क्रममा भएका मानवताविरोधी काण्डहरुमाथि कुनै पनि किसिमको कारबाही नहुँदा त्यसले पुनः त्यस्तै र त्यो भन्दा पनि भयानक हिंस्रक कार्यकृत्यलाई प्रेरित गर्छ।
प्रतिक्रिया दिनुहोस्