सोमबार, मंसिर २३, २०७६

समाचार

सुखानीवासीको दुःख : सहिदका साथी प्रधानमन्त्री बने तर गाउँ बनेन

झापा आन्दोलनका पाँचजनाका साथी केपी शर्मा ओली प्रधानमन्त्री छन् अहिले मुलुकको । तर गाउँलाई केही नहेरेको भन्दै स्थानीय गुनासो गर्दै आएका छन् । सुखानीका सहिदका साथी प्रधानमन्त्री बने, पाँचकोटीले भने, 'तर गाउँ बनेन, जस्ताको तस्तै छ ।'

सुखानीवासीको दुःख : सहिदका साथी प्रधानमन्त्री बने तर गाउँ बनेन
इटहरी- हिजो मंगरबार इलामको माई नगरपालिका ४ सुखानी क्षेत्रमा पूर्वप्रधानमन्त्री प्रचण्ड देखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्म भेला भएका थिए । २०२९ साल फागुन २१ गतेकै दिन पञ्चायतविरुद्ध आन्दोलनमा उत्रेका झापा विद्रोहका पाँच नेताहरूको हत्या भएको स्थानमा भेला हुन हजारौं आएका थिए ।

रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको हत्या भएको ४६ वर्षपछि सहिद स्मृति दिवस मनाउन आउनेमा प्रधानमन्त्री मात्रै थिएनन्, परिवारका सदस्यहरू थिए । साथमा हत्याको दिन सोही स्थानमा भएका स्थानीय लक्ष्मण पाँचकोटी पनि थिए ।

२०२९ साल फागुन २१ गते झापाको सदरमुकाम चनद्रगढी जेलबाट इलाम जेलमा लाने भन्दै सुखानीमा ल्याएर पाँच कैदीको हत्या हुनुअगाडिको सबै विषयमा जानकार छन् पाँचकोटी । २०१४ सालमा जन्मेका पाँचकोटी आफूहरूले गाईबस्तु चराउँदै गरेका बेला प्रहरीको गाडीमा कैदीहरू ल्याएको र खाना खुवाइसकेर मारेको बताउँछन् ।

 'झापाबाट मान्छे ल्याएर पुलिसले आनाभुँडी बाजेकहाँ खाना खुवायो', पाँचकोटी भन्छन्, 'हामीलाई ४ बजे नै खेदाए र ५ बजेपछि गोली हानेर मारे ।' उनका अनुसार त्यतिबेला एक आना तिरेर भुँडीभरि खाना दिने पसलेलाई आनाभुँडी भनिन्थ्यो । गोलीको आवाज आफूले नसुनेको तर भोलिपल्ट अरू गोठाला साथीहरूको सुनाएको पाँचकोटीले बताए । हत्याको दिन आइतबार भएको बताउँदै उनले भने, 'पाँचै जनालाई सुखानीमै मारे तर लास भने आफैँ लगेर गए ।'



झापाको खुदुनावारी र इलामको दानाबारीको सिमानामा रहेको सुखानीमा पाँचजनालाइ मार्ने समयमा झापाको डाँडागाँउबासी थिए पाँचकोटी । अहिले उनी दानाबारीस्थित शुक्रबारे बजारबासी भएका छन् । सुखानी हत्यापछिको ४६ वर्ष भए पनि केही परिवर्तन नभएको पाँचकोटी बताउँछन् । उनी भन्छन्, 'देशको परिवर्तनमा सुखानीमा ज्यान दिनेहरूको योगदान छ भन्छन् तर यो गाउँमा भने केही परिवर्तन आएको छैन ।'

झापा आन्दोलनका पाँचजनाका साथी केपी शर्मा ओली प्रधानमन्त्री बनेको तर गाउँलाई केही नहेरेको पाँचकोटीले बताए । 'सुखानीका सहिदका साथी प्रधानमन्त्री बने', पाँचकोटीले भने, 'तर गाउँ बनेन, जस्ताको तस्तै छ ।'

पाँचकोटीको कुरामा सहमत छिन् इलामकै दानाबारीकी लक्ष्मीमाया फेदाप । फेदापका अनुसार सुखानीको सबैभन्दा ठुलो समस्या पानीको हो । 'हामी खोलाको पानी खान्छौं', पेदापले भनिन्, 'धाराको पानी यहाँ बसेको  २५ वर्ष पुग्दा पनि खान पाएको छैन ।' झापाको सिमानामा रहेको सुखानीमा अर्को समस्या बाटोको भएको फेदापको दुःखेसो छ । उनी भन्छिन्, 'हामीले थाहा पाएदेखि यस्तै धुलौटे बाटो छ । सुखानी खोलामा पुल बनेको छैन ।'

पूर्वपश्चिम राजमार्गको बिर्तामोड बजारबाट शनिश्चरे हुँदै सुखानी आउने २५ किलोमिटरको सडक इलाम पुग्छ । तर सडक सुधारका कामहरू नभएको बताउँछन् स्थानीय पत्रकार नमिन ढकाल । 'सुखानीमा सहिद पार्क बनाउने र पर्यटनको बजेट ल्याउने मात्रै उद्देश्य यहाँ देखिएको छ', ढकाल भन्छन्, 'प्रधानमन्त्री ओलीका झापा विद्रोहका साथीहरू मारिएको स्थान र पूर्वप्रधानमन्त्री झलनाथ खनालको चुनाव क्षेत्र भएर पनि सुखानीबासीको दैनिकीमा केही परिवर्तन आएको छैन ।'

सुखानीमा २०७१ सालमा पाँच सहिदको सालिका बनाइएको थियो । पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले २०७२ साल फागुन १९ गते सुखानीमा हत्या गरिएका पाँच योद्धालाई सहिद घोषणा गरेका थिए । 'सालिक बन्न ४२ वर्ष लाग्यो, सहिद घोषणा हुन ४३ वर्ष लाग्यो', मंगलबार सुखानी क्षेत्रमा भेटिएका पत्रकार ढकाल प्रश्न गर्छन्, 'हेरौं, अब गाउँ कति दशकपछि बन्ला ?'
प्रतिक्रिया दिनुहोस्