मंगलबार, कात्तिक २६, २०७६

विचार

किन कहिल्यै टुङ्गिदैन कश्मीर किचलो ?

कुनै बेलाको अखण्ड जम्मू-कश्मीर आज तीन टुक्रामा विभाजित भएको एवं उसमाथि तीन अलगअलग देशले शासन गरिरहेका छन् । भारत र पाकिस्तानका कब्जामा रहेका भूभागमा बस्ने मानिस रातोदिन युद्धको त्रासमा जीवनयापन गरिरहेका छन् ।

किन कहिल्यै टुङ्गिदैन कश्मीर किचलो ?
फागुन २ अर्थात् फेब्रुअरी १४ मा भारत-अधिकृत कश्मीरको पुलवामामा अर्धसैनिक बलको लस्करमाथि भएको आत्मघाती आक्रमणमा ४० भन्दा बढी भारतीय सुरक्षाकर्मीको ज्यान गयो । आक्रमण गर्ने युवक आदिल अहमद दर कश्मीरी पृथकतावादी संगठन जैश-ए-मोहम्मद (जेइएम) सँग आबद्ध थिए ।

भारतीय शासनले जैश सरहद पार पाकिस्तानबाट सञ्चालित छ भन्ने कुरा बताइआएको छ । पाकिस्तानले लगातार यस आरोपको खण्डन गरिआए पनि हालै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले भने जैशका प्रमुख पाकिस्तानमै रहेको र उनको स्वास्थ्य अत्यन्तै खराब रहेको बताएर जैशका गतिविधि आफ्नै मुलुकबाट सञ्चालित रहेको स्वीकारेका छन् । यो जैशका प्रमुख तिनै मसुद अजहर हुन्, जो भारतमा पक्राउ परेका थिए र तिनीसहित अरू केहीलाई छुटाउन पृथकतावादीहरुले सन् १९९९ मा काठमाडौंबाट एन्डियन एअर लाइन्सको विमान अपहरण गरेर अफगानिस्तानको कन्दहार पुर्‍याएका थिए ।  

४० भन्दा बढी सुरक्षाकर्मीको ज्यान लिने पुलवामा आक्रमणको ९ दिनपछि भारतले पाकिस्तानको खैबार पख्तुनवा प्रदेशको बालकोटमा अवस्थित (भनिएको) जैशको प्रशिक्षण केन्द्रमा आफ्ना लडाकु विमानबाट बमबारी गर्‍यो र करिब ३५० पृथकतावादी मारिएको दाबी गरियो (संख्या अझै यकिन भएको छैन) । पाकिस्तानले भने भारतीय लडाकु विमान आफ्नो सीमा क्षेत्रभित्र प्रवेश गरेको त स्वीकार्यो तर कुनै मानवीय क्षति नभएको दाबी गरिरहँदा जैशकै एक प्रशिक्षकले भारतले आफ्नो शिविरमाथि हमला गरेको स्वीकारेका छन् । त्यसपछि भारत-पाकिस्तान नियन्त्रण रेखा आरपार आक्रमण-प्रत्याक्रमणका क्रममा भारतीय वायुसेनाका एक पाइलट अभिनन्दन वर्तमान पाकिस्तानमा पक्राउ परे । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पारस्परिक सदभाव निर्माण गर्ने भन्दै उनलाई मुक्त गर्ने घोषणा गरेको भोलिपल्टै अभिनन्दन भारत फर्काइए । 

अहिले यद्यपि भारत र पाकिस्तानबीच सीमामा तनाव काबुमा छ तर कश्मीरमा पृथकतावादी र सुरक्षाकर्मीबीच गोली हानाहान भने जारी छ । पुलवामा आक्रमणपछि भारतीय फौज अरू आक्रामक भएको र पृथकतावादीहरुको मनोबल पनि बढेको छ । भारतका विभिन्न प्रान्तमा अध्ययन र काम गरिरहेका विशेष गरेर कश्मीरी मुसलमानहरु भयभीत छन् । कश्मीरभित्र जनजीवनको के कस्तो अवस्था छ भन्ने विषयमा चाहिँ भारत र पाकिस्तान दुवैतर्फका सञ्चार माध्यमहरु खासै मतलब राखिरहेका छैनन् । उनीहरु भारत-पाकिस्तान द्वन्द्वमै पूरै केन्द्रित र आफ्नो समय खर्च गरिरहेका छन् । जब कि भारत-पाकिस्तानबीचको शत्रुताको मूल कारण नै कश्मीर रहिआएको छ । 

निश्चय नै कश्मीर समस्यासँग नेपालको कुनै प्रत्यक्ष सम्बन्ध नदेखिए पनि सरोकार छ । किनभने कश्मीरमा जति तनाव चर्किन्छ त्यति नै भारत र पाकिस्तानको सुरक्षा खर्च उक्लिन्छ मात्र होइन क्षेत्रीय तनाव अरू बढ्छ । त्यतिमात्र होइन, भारतीय सेनामा कार्यरत गोरखा सैनिकहरुको जिउज्यानमाथि खतरा बढेर जान्छ । किनभने भारतले गर्ने कुनै पनि आन्तरिक होस् अथवा बाह्य लडाइँका अग्रिम मोर्चामा गोरखा सैनिकलाई खटाउने गरिएको छ । त्यसमाथि कश्मीर पर्वतीय क्षेत्र भएकाले त्यसमा गोरखालीकै युद्धकला बढी भरपर्दो मानिन्छ ।

कश्मीर तनाव सुल्झाउन निश्चय नै नेपालको कुनै मध्यस्थकारी र विशिष्ट भूमिका नहुन सक्छ तापनि यथार्थसंगत जानकारी राख्दा सार्कजस्ता क्षेत्रीय प्रयासले किन गति लिइरहेका छैनन् भन्ने बुझ्न सजिलो हुन्छ एवं तदनुसार नै आफ्नो छिमेक नीति, रणनीति निर्धारण गर्न सहयोग पुग्नेछ । यसका साथै भारतीय सेनामा कार्यरत नेपालीहरुको जिउज्यानप्रति सरोकार राख्नु त नेपालको कर्तव्य नै हुन आउँछ ।
 
कुनै बेलाको अखण्ड जम्मू-कश्मीर आज तीन टुक्रामा विभाजित भएको एवं उसमाथि तीन अलगअलग देशले शासन गरिरहेका छन् । भारत र पाकिस्तानका कब्जामा रहेका भूभागमा बस्ने मानिस रातोदिन युद्धको त्रासमा जीवनयापन गरिरहेका छन् ।

विभाजनका चोटहरू 

विक्रमको २००४ अर्थात् सन् १९४७ मा भारतीय स्वतन्त्रतासँगसँगै भएको रक्तपात इतिहासमै सबैभन्दा बढी नरसंहार भएको एक दुर्दान्त घटनाका रुपमा परिचित छ । बेलायती शासनले भारत छोडेर जाँदा एउटा विशाल भारत निर्माण गरेर गएको थियो भन्ने धेरैलाई भ्रम छ । तर सत्य अत्यन्त फरक छ । बेलायतले एक त हिन्दू र मुसलमान भारतलाई भारत र पाकिस्तानका रुपमा विभाजन गरेकै थिए, पाकिस्तान पनि फेरि पूर्व र पश्चिम गरी दुई ठाउँमा ।

पूर्व पाकिस्तानबाट पश्चिम पाकिस्तान पुग्न बीचमा भारतको २ हजार २०८ किलोमिटर भूभाग भएर गुज्रिनुपर्ने (त्यही पूर्व पाकिस्तान सन् १९७१ मा भारतको प्रत्यक्ष संलग्नतामा बंगलादेशका रुपमा पाकिस्तानबाट स्वतन्त्र भयो) थियो । बेलायतले भारत छोड्दा टुक्राटाक्री राजाहरुलाई पनि उनीहरुकै इच्छाबमोजिम गर्नु भनेर छोडेका थिए । तिनै इच्छाअनुसार गर्नु भनेर छोडिएकाहरुमध्ये जम्मू कश्मीरका तत्कालीन राजा हरि सिंह थिए । हरि सिंह भारत अथवा पाकिस्तान कतै पनि सामेल नभई स्वतन्त्र राज्य कायम राख्न चाहन्थे । 

अंग्रेज गए तर भारतलाई आफ्नो पुनर्गठन गर्न हम्मेहम्मे परेको थियो । अंग्रेजले प्रत्यक्ष शासन गरेको क्षेत्रबाहेकका कतिपय राजा रजौटाहरु आआफ्ना रियासतहरुमा आफ्नो शासन निर्बाध राख्न चाहन्थे । जम्मू कश्मीरका तत्कालीन महाराजा हरि सिंहको मनसुवा पनि त्यस्तै थियो तर स्वतन्त्र भएको दुई महिना बित्दानबित्दै पाकिस्तान भाडाका कबाइली प्रयोग गर्दै श्रीनगर आक्रमण गर्न आइपुग्यो । हरि सिंहले भारतसँग मद्दत मागे तर भारतले भने जम्मू-कश्मीरलाई भारतीय संघमा सामेल गरिएमात्र आफूले पाकिस्तानविरुद्ध कारबाही गर्न सक्ने सर्त राख्यो । राजा आफ्ना केही सर्तसहित कश्मीरलाई भारतीय संघमा सामेल गर्न राजी भए । राज्यको छुट्टै संविधान हुने एवं उपयुक्त समयमा जनमत संग्रह गरिने, त्यतिन्जेल रक्षा, परराष्ट्र र अर्थ भारतले हेर्ने, तर अरु सबै मामिला राज्य मातहत नै राखिने प्रावधानसहितको 'इन्सट्रुमेन्ट अफ एक्सेसन' अन्तर्गत अक्टोबर १९४७ मा जम्मू कश्मीर भारतमा सामेल भएको थियो ।


लाइन अफ कन्ट्रोल


संयुक्त राष्ट्रसंघको मध्यस्थतामा कश्मीर उपत्यका अर्थात् श्रीनगरबाट पाकिस्तान फिर्ता त भयो तर जम्मू-कश्मीरको एक तिहाइ भागमा युद्धविराम रेखाका रूपमा आफ्नो झन्डा गाड्न सफल पनि भयो । त्यही युद्धविराम रेखालाई पछि गएर लाइन अफ कन्ट्रोल अर्थात् नियन्त्रण रेखा भनिएको हो ।   आधिकारिक जम्मू कश्मीरको दुई तिहाइ भारतसित रह्यो, एक तिहाइ पाक अधिकृत कश्मीर भयो ।  भारतसित रहेको भूभागमा जम्मू तथा कश्मीर उपत्यका, लद्दाख र अक्साई चीन थिए । पछि सन् १९६२ को भारत चीन युद्धमा अक्साई चीनमाथि चीनले कब्जा गर्‍यो ।

तात्पर्य के भने कुनै बेलाको अखण्ड जम्मू-कश्मीर आज तीन टुक्रामा विभाजित भएको एवं उसमाथि तीन अलगअलग देशले शासन गरिरहेका छन् । भारत र पाकिस्तानका कब्जामा रहेका भूभागमा बस्ने मानिस रातोदिन युद्धको त्रासमा जीवनयापन गरिरहेका छन् । भारतीय शासनको भनाइअनुसार कश्मीर द्वन्द्वमा ४७ हजार मानिस मारिए तर अनधिकृत स्रोतअनुसार वास्तवमा पछिल्ला ३० वर्षमा मात्रै एक लाखभन्दा बढीको ज्यान गइसकेको बताइन्छ । 

पीडैपीडाको शृंखला

भारत कश्मीरलाई आफ्नो अभिन्न हिस्सा मान्छ तर भारतको विभाजन नै धार्मिक विषयमा भएकोले पाकिस्तान मुसलमान बहुल कश्मीर आफ्नो हुनुपर्ने जिकिर गर्छ । त्यो कश्मीर कुनै बेला शैव भूमि थियो । दर्शनहरुमध्येको एउटा कश्मीर शैवको उद्भव त्यहीं भएको हो । कालक्रममा बौद्धहरुको केन्द्रका रूपमा पनि चर्चित थियो । कश्मीरमा मुसलमान शासनका प्रारम्भ सन् १३३९ मा भएको थियो, सन् १८१३ मा पञ्जाबका राजा रणजीत सिंहले छोटो समयका लागि आधिपत्य स्थापित गरेका थिए तर अफगानी दुरानी शासकले उनलाई त्यहाँबाट हटाए । अफगानसँगको युद्धमा अंग्रेजहरुले कश्मीर आफ्नो हात पारे तापनि एउटा लेनदेनमा उनीहरुले जम्मूका डोगरी राजालाई त्यो भूभाग दिए । त्यसपछि नै राज्य जम्मू-कश्मीरका रुपमा परिचित हुन आएको हो । 

धर्तीको एक सुन्दरतम भूभाग यसरी सयौं वर्षदेखि युद्धभूमि बनिरहेको छ । भूक्षेत्रको अखण्डता कायम छैन । सन् १९८९ मा कश्मीरमा पृथकतावादी आतंक प्रारम्भ भएपछि करिब तीन लाख कश्मीरी पण्डितहरु भारतका विभिन्न प्रदेशमा शरण लिएर बसेका छन् । त्यस्तै सुरक्षा फौज र पृथकतावादीको तारो बनेका कश्मीरी मुसलमानहरु भागेर पाकिस्तानमा शरण लिइरहेका छन् । लद्दाख र जम्मू अपेक्षाकृत शान्त देखिए पनि उपत्यकाका बाछिटाहरु त्यहाँसमेत पुगिरहेका छन् । 

भारत कश्मीरमा पृथकवादलाई पाल्ने पाकिस्तान हो भन्ने मान्छ भने पाकिस्तान भारतले कश्मीरीमाथि ज्यादती गरिरहेको आरोप लगाउँछ । पछिल्ला ७२ वर्ष त्यसमा विशेष गरेर यताका ३० वर्ष कश्मीर युद्धभूमिमा परिणत भएको छ । पुलवामामा सुरक्षाकर्मीमाथि आत्मघाती आक्रमण त्यसै शृंखलाको एउटा दुर्दान्त घटना हो र त्यसैका प्रतिक्रियास्वरूप भारतले पाकिस्तानस्थित जैशका प्रशिक्षण केन्द्रमा हवाई आक्रमण गरेको, प्रतिकारमा पाकिस्तानी लडाकु विमानहरुको उडान र प्रहार भइरहँदा दुवैतर्फका कश्मीरीहरुको दिनचर्या कति भयावह वातावरणमा चलिरहेको होला, कल्पना गर्न पनि मुस्किल छ ।  

साँच्चै भन्ने हो भने भारतीयहरुले सन् १९४७ को भारत विभाजनको पीडा अझसम्म बिर्सन सकेका छैनन् एकातिर भने अर्कातिर पाकिस्तान सन् १९७१ मा भारतीय सैन्य समर्थनमा पूर्वी पाकिस्तान भारतको प्रत्यक्ष संलग्नतामा आफूबाट अलग भएको एवं बंगलादेश बनाइएको घटनाबाट क्षुब्ध छ । भारत र पाकिस्तानको एकअर्कामाथि निरन्तर आरोप र प्रत्यारोप, तनाव, युद्ध र युद्धजन्य अवस्थाका कारण दक्षिण एसिया क्षेत्रमा पारस्परिक सहकार्यको वातावरण बन्न नसकेको हो । सार्कले गति लिन नसक्नाको प्रमुख कारण पनि यही हो । कश्मीर समस्या दुनियाँकै एउटा जटिलतम समस्या हो र विगत ७२ वर्षदेखि यसको सैन्य समाधान खोजिँदै आएको छ । तर अवस्था भने झन्झन् जटिल हुँदै गएको छ ।                     
            
प्रतिक्रिया दिनुहोस्