शनिबार, वैशाख ८, २०८१

पर्यटन मजदूर र समितिबीच चार बुँदे सहमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कास्की-  अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बुँदे सहमति भएको छ । 

पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा तिरेर कुपन लिनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि त्यसलाई फिर्ता लिन मजदूरले माग गरेका थिए । 

मजदूरले असोज १५ सम्मको समयसीमा दिएर आफ्ना माग पूरा नभए त्यसलगत्तै पदयात्रामा कोही पनि मजदूर नजाने र टानलगायत पर्यटनसँग सम्बन्धित सङ्घसंस्थामा तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका थिए । 

नेपालको पर्यटनको मुख्य सिजन शुरु हुनै लाग्दा पदयात्रा पर्यटन मजदूर आन्दोलनमा उत्रिएपछि समग्र पर्यटन क्षेत्रमा नकारात्मक सन्देश फैलने आशङ्का सर्वपक्षीय सहमतिले अन्त्य गरेको छ । 

मजदूरको अल्टिमेटमको अघिल्लो दिन गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, टाडापानी पर्यटन व्यवस्थापन समिति, टान पश्चिमाञ्चल क्षेत्रीय समिति, पर्यटन मजदूर सङ्गठन, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, पर्यटन प्रहरी र टाडापानी होटल व्यवस्थापन समितिका बीचमा सर्वपक्षीय छलफल भई चार बुँदे सहमति भएपछि मजदूरको घोषित आन्दोलनका कार्यक्रम माघसम्मको लागि स्थगित गरेको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले जानकारी दिए ।  

सम्झौतामा हाल टाडापानी पर्यटन व्यवस्थापन समितिले मजदूरको खानाबापतको रकम अग्रिम उठाउँदै आएकोमा असोज २३ गतेबाट खानाको रकम सम्बन्धित होटल तथा लजको काउन्टरमा सोही छाकको खानाको मात्र रकम बुझाउने उल्लेख छ । 

त्यस्तै अन्नपूर्ण सर्किट पदयात्रा क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको मध्यस्ततामा यथाशीघ्र प्रयास गरी माघ मसान्तभित्र समाधान गर्ने, अन्नपूर्ण र मनास्लु क्षेत्रमा देखिएका समस्या पर्यटन मन्त्रालयको पहलमा समाधान गर्ने, युनिट्राभ गण्डकी प्रदेश र अखिल नेपाल पर्यटन मजदूर सङ्घले घोषणा गरेका सबै खालको आन्दोलनका कार्यक्रम फिर्ता लिने र सुरक्षित, मर्यादित र दिगो पर्यटनमा संयुक्तरुपमा काम गर्दै बढीभन्दा बढी पर्यटकलाई यो क्षेत्रमा भ्रमणको लागि स्वागत गर्ने सम्झौता भएको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए । 

पोखरामा करीब ३०० पथप्रर्दशक तथा ५०० देखि ७०० सम्म सहयोगी यो क्षेत्रमा काम गर्दे आइरहेका छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्