अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली यता काठमाडौंमा आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठमध्येका एक नेता तथा पार्टीको पूर्वावतार एमालेका महासचिव माधवकुमार नेपालले सरकारको, त्यो पनि संसदमा, सक्दो आलोचना गरेको सुनेपछि अचम्ममा परे।
छेउ पर्दा चुइँक्क नबोल्ने माधव नेपाल आफू २/४ दिन बाहिर हुँदा कसरी बोले, यसैले सम्भवतः ओलीलाई सबैभन्दा बढी चकित पारेको हो। किनभने, प्रचण्डको चञ्चल चहलपहल र झलनाथ खनालको असन्तुष्टि तथा आफ्नै कार्यकर्ताहरूको निष्क्रियताबाट आजित ओलीलाई माधव नेपालको साथ पाउने ठूलो आश थियो। आफूलाई तत्कालीन एमालेको अध्यक्ष बनाउन लागिपर्ने वामदेव गौतम पनि बटारिएपछि त झन् उनका एक मात्र आशाका केन्द्र ‘आफैंसँग हारेका’ माधव नै थिए।
तिनै माधवले सदनमा नेपाली कांग्रेसका गगन थापाले भन्दा चर्को र सरकारको चौतर्फी असफलताको फेहरिस्त दिँदै आलोचना गरेपछि ओलीको न्युयोर्कको ‘शानदार बसाइ’ पक्कै सुखद भएन। भौतिक सुखमा कमी नहुँदैमा मनलाई सुख हुने होइन र ओली यसमा अपवाद होइनन्। माधवको असन्तुष्टिले उनलाई पिरोल्नु पिरोल्यो, त्यो उनका अभिव्यक्तिमा छर्लंगिएको छ।
हुन त, उनले न्युयोर्क प्रस्थानपूर्व केही दिनअघि नेता/कार्यकर्तालाई अरिंगालझैं आक्रामक भइदिन आग्रह नगरेका होइनन् तर त्यसले लक्षित ठाउँमा कुनै असर गरेन। फलस्वरूप, जाँदाजाँदै ए बाबा अरिंगाल त हुन सकेनौ, मौरी त भइदेऊ भनेर हिंडेका थिए। मस्तिष्कमा अरिंगाल र मनमा मौरी लिएर अमेरिका प्रस्थान गरेका ओलीलाई त्यहाँ पनि सुविस्ता भएन। कालो झण्डाले स्वागत गर्ने समूह देखा परे। उता, राष्ट्रसंघीय सभामा भाषण गर्ने तयारी गरिरहँदा यता माधव नेपालले गरेका आलोचनाको चौतर्फी चर्चा हुन थाल्यो। फलस्वरूप देशभित्र विद्यमान र प्रवासिएका पार्टीका कार्यकर्तामाझ व्यापक चर्चा परिचर्चा चर्किएको छ।
यसको पहिलो कारण त प्रधानमन्त्री ओली स्वयं हुन्। फेरि, उनीसँग न उनको बचाउ गर्न सक्ने टिम छ, न त कार्यकुशल मन्त्रिपरिषद्। शुरुमा गृहमन्त्री रामबहादुर थापा प्रशंसित भए । सार्वजनिक सवारी साधनमा रहेको सिन्डिकेट हटाउने, ठग ठेकेदारहरूलाई काम गर्न बाध्य बनाउने, कडाभन्दा कडा कारवाही गर्नेजस्ता उदघोष गरे, काम गर्न खोजेको पनि देखियो। तर, उनी यतै थच्चिए, उतै थच्चिए।
कतिपय ‘बकबके’ मन्त्रीहरू जे जता बोल्यो, त्यहीं विवादमा तानिन पुगे, तानिने नै भए। जो धेरै कम बोल्छन्, ती आफ्नो काम गरेर बसेका छन्, बचाउ गर्नु आफ्नो टीओआरमा पर्ने ठान्दैनन् र गर्न नै चाहँदा पनि गर्नु कसरी? एकपछि अर्को जघन्य कृत्य भइरहेका छन्, राज्य संयन्त्र ती कृत्य रोक्न त परै अपराधमा संलग्नहरूलाई जोगाउन लागिपरेको आरोप लागिरहेको छ।
ओलीजस्ता चंखलाई आफू वरिपरी फन्को मार्ने चाटुकार, चाकडीदारको क्षमता र नियत राम्ररी थाहा हुनुपर्ने हो। भेट्दा हो, हो भनेर सही थाप्ने हूलले वाह वाह गर्दिंदा मजा आउँदो हो तर कोठाभित्र हो हो गरेको के काम ! प्रधानमन्त्री जोक सुनाउने, चाटुकार चाकडीदार गलल हाँस्ने र प्रधानमन्त्री त्यसैमा रमाउने भएपछि के हुन्छ, त्यसको बेलिविस्तार माधव नेपालले लगाइसकेका छन्। दाहोर्याइरहनु आवश्यक भएन।
प्रधानमन्त्रीका जोक सुनेर दंग पर्ने चाटुकार, चाकडीदारहरूसित न रणनीति निर्माण गर्ने कला हुन्छ, न त पछ्याउने सीप। भनिन्छ नि, धनुष दिएर के गर्नु लक्ष्यभेदनको प्रशिक्षण र एकाग्रता छैन भने। सामाजिक सञ्जालमा खटाइएका अरिंगालहरूले निश्चय नै भूँ भूँ गर्न र गाली गलौजमा महारत हासिल गरेका छन् तर तिनीहरू मौरीले लखेट्दा पनि टिक्न सक्दैनन्। तर्क र विश्लेषण गर्न नसक्ने भीडलाई कार्यकर्ताको बिल्ला भिराइदिएपछि बाँकी रहने के, परन्तुमा कुनै बेलाको माओवादीको योङ कम्युनिस्ट लिग (वाईसीएल) शैलीको लठैत प्रवृत्ति नै हो।
चाटुकार, चाकडीदारको सेना नै खडा गरे पनि कुनै युद्ध जितिँदैन भन्ने ज्ञान पाउन अंग्रेजी सिकिरहनैपर्दैन, अनुभवबाटै थाहा पाइने विषय हो। कृष्णप्रसाद भट्टराईदेखि खड्प्रसादसम्मका चाटुकार, चाकडीदारहरूको एउटै ध्याउन्न रह्यो र छ, ख्वामितको प्रशंसा गर्यो, फाइदा उठायो र परेका बेला मैदान रित्तै। अहिले ओलीको जस्तै नियति उनका पूर्ववर्तीहरूले पनि बेहोरेकै हुन्। चाटुकार, चाकडीदारले यता राजनीतिक सन्तुलन बिग्रियो कि उता भित्रभित्रै कित्ता फेरिसकेको हुन्छ। हुन पनि, बिचरा आउँछ नै त्यति नै, गरून् पनि के? असल समर्थक जसले प्रधानमन्त्रीको हित, अहितको ख्याल गर्न सक्छ, त्यस्तालाई चाटुकार, चाकडीदारले दरबारभित्र छिर्न दिँदैनन् एकातिर भने अर्कातिर समस्या छ, चाटुकार, चाकडीदारले आक्रमणबाट प्रतिरक्षा गर्ने त कुरै नसोचे हुन्छ।
आफ्ना सही सहयोगीहरूको पहिचान गर्ने मन्त्र हो, जसको आफ्नो व्यक्तित्व छ, आत्मसम्मान, स्वाभिमान छ र जो तार्किक छ, त्यो अवश्य कुशल हुन्छ र त्यही सही सहयोगी हुनसक्छ। त्यस्ता मानिस परर ताली बजाउने भीडमा हुँदैनन्, बाहिर हुन्छन्। तिनीहरू गुण र दोष छुट्याउन समर्थ हुन्छन्। विडम्बना के छ भने यस्ता मानिस ‘औसत शासक’लाई मन पर्दैनन् र उनीहरूलाई दशा लाग्न यहींबाट शुरु हुन्छ। ओलीको यथार्थ पनि यही हो।
हुन त, उनलाई लाग्दो हो पहिलो कार्यकालमा पनि मान्छे आफू यही नै हो, त्यतिबेला अतिशय लोकप्रिय भइएको तर यसपालि किन भइएन। गरेको त्यसबेलासमेत केही उल्लेख्य खासै होइन, अडान लिएको र जनताको पीडित मनलाई वाणी दिएको मात्र हो। निश्चय नै जातजातिका नाममा देशलाई कित्ता-कित्तामा टुक्र्याउने प्रचण्ड र बाबुराम भट्टराईको ध्वंसात्मक योजना विफल बनाउन भने उनी लागिपरेकै हुन् र यसको श्रेय उनलाई दिनु पनि पर्छ। त्यसैले उतिखेर रेलका कुरा गर्दा मान्छे दंग पर्थे, अचेल गिज्याउँछन्।
उतिखेर मानिस ओलीसँग दंग पर्नुका र यतिखेर गिज्याउनुका केही अन्तर्निहित कारण छन्। यो परिस्थिति सृजित मनस्थितिसित सम्बन्धित छ। भूकम्पका कारण क्षतिग्रस्त र तंग्रिन नपाउँदै भारतले लगाएको नाकाबन्दीका कारण देश क्षुब्ध थियो। त्यतिबेला आशा भरोसा चाहिएको थियो। देशभक्ति ओतप्रोत भाका चाहिएका थिए। कोही उभ्भिदेओस् भन्ने थियो। ओली उभ्भिए। मर्मज्ञहरूले वाणी दिए। भारतका सामु नझुक्ने एउटा मूर्ति चाहिएको थियो, ओली त्यसमा मूर्तिकृत भए। त्यसैले उनले त्यतिखेर जे बोले ती सुनले लेखेका अक्षर बनेका थिए।
उतिखेर हिन्द र प्रशान्त महासागरमा पानीजहाज चलाउने ओलीको सपनालाई कतिपयले गिल्ला गरे नै पनि, उनको सपनाका प्रशंसकहरू कम थिएनन्। यसको कारण थियो, फेरि दोहोर्याउँछु, संविधान जारी गर्दाताका भारतले लगाएको पाँच महिना लामो नाकाबन्दीका बेला उनले लिएको अडान र उत्तरको छिमेकी चीनसँग गरिएको यातायात पारवहन सम्झौता। यी कारणले गर्दा ओलीले त्यतिखेर उनको राजनीतिक विचारधारासँग असहमत र उनीप्रति आलोचनात्मक रहेकाहरूको समेत समर्थन प्राप्त गर्न सकेका थिए। यसैको फलस्वरूप, उनको उचाइ साँच्चिकै आकारभन्दा धेरै नै अग्लो बन्न पुग्यो र यसैको प्रतिफल थियो तीनै तहका निर्वाचनमा आशातीत सफलता।
तर, सफलता प्राप्त गरेपछि ओलीले यसका पछाडिका कारण बिर्से र ठाने यो उनकै पराक्रमका कारण मिलेको हो। त्यस्तो होइन, उनको सफलता धेरै पक्षको सदभावका कारण सम्भव भएको थियो। शुभचिन्तकहरूले उनका पक्षमा बनाइदिएको माहोल र कांग्रेसको राष्ट्रिय मुद्दाहरूमा ज्यादै फितलो प्रस्तुतिका कारण उनलाई जता पनि फाइदै फाइदा भएको थियो। यता मनन गरेर तदनुरूप कार्यकौशल प्रदर्शन गर्नुपर्नेमा उनी मूलभूत विषयमा अर्थात् कार्यकौशलमा नराम्ररी चुक्दै गए।
चुक्दै गए किनभने देशमा के भइरहेको छ भन्ने विषयमा ओलीसँग सही सूचना लिने कला नरहेको प्रस्टिएको छ। जस्तै, चिकित्सा शिक्षा अध्ययनमा मौलाएको विकृतिविरुद्ध डाक्टर गोविन्द केसीको आमरण अनशनलाई उनले होच्याउन खोजे। फलस्वरूप, केसी झण्डै एक महिना लामो अनशन बसे र अन्त्यमा सरकारले उनका मागहरू सम्बोधन गर्नैपर्यो ।
जनताको भावना जोडिएको विषयलाई सम्बोधन गर्न विलम्ब हुनुहुँदैन, यतातर्फ उनको ध्यान गएन। गएन किनभने उनका सूचनाका स्रोत आफू वरिपरिका चाटुकार, चाकडीदार मात्र हुन् भन्ने मज्जाले देखिएको छ। कञ्चनपुरको निर्मला पन्त बलात्कार र हत्यामा संलग्नहरूलाई नपक्रेर राज्य संयन्त्रले नै संरक्षण दिइरहेको आरोप लागिरहँदा पनि प्रधानमन्त्रीले आफूलाई प्रशासनले सही सूचना नदिएको निरीहतापूर्वक स्वीकारेका छन्। तैपनि हेर्नुहोस्, प्रधानमन्त्री गुनासो गर्छन्, ‘मेरो विरोध किन गरेको?’
यो विरोध होइन, जानकारी दिएको, गुनासो गरेको हो। सम्भवतः प्रधानमन्त्री ओलीलाई विरोध भनेको के हो अझै थाहा छैन। माधव नेपालको पनि गुनासो नै हो। गुनासो धैर्यतापूर्वक सुन्नु र सुन्नासाथै उखान टुक्का आविष्कार गर्नतिर नलागेर सम्बोधन गर्नतिर लागे गुनासो नै रहँदैन। विरोधको कुरै छैन। यसलाई यसरी भनौं, अहिले उठेको स्वर त वास्तवमा ‘कतै इँझार नकसिएको सुरुवाल पो लगाएका छन् कि प्रधानमन्त्रीले, चाटुकार चाकडीदारको भर नपर्नु, उनी आफैंले हेरेर आश्वस्त हुनु’ भनेको मात्र हो। अझै सच्चिने ठाउँ छ सच्चिनु। नसच्चिए पनि हुन्छ तर नसच्चिँदा के हुन्छ, लामो व्याख्यानको आवश्यकता छैन, पूर्ववर्तीहरूले भोगेकै परिणाम हेरे पुग्छ।