काठमाण्डौं- चौधरी समूहले पर्यटन व्यवसायमा विश्वमै ख्याती कमाएको ताज हस्पिटालिटीसँगको साझेदारीमा नेपालमा दोश्रो होटल संचालनमा ल्याउने भएको छ। काठमाण्डौं घुम्न आउने विदेशी पर्यटकलाई लक्षित गर्दै चौधरी ग्रुपले १११ कोठाको सुविधा सम्पन्न पाँच तारे भिभान्ता होटल संचालनमा ल्याउने भएको हो।
होटल व्यवस्थापनको लागी इण्डियन होटल्स लिमिटेड र चौधरी समूहको प्रवद्र्धन रहेको आर एण्ड आर होटल्स एण्ड रिसोर्टबीच साझेदारी भएको ताज गु्रप अफ हस्पिाटिलीद्वारा बिहीबार जारी विज्ञप्तीमा उल्लेख छ। टाटा समूहले इण्डियन होटल्स लिमिटेड नामक कम्पनीमार्फत् ताज ब्राण्डको होटलमा विभिन्न मुलुकमा लगानी गर्दै आएको छ।
विज्ञप्तीमा होटलमा गरिने लगानी रकमबारे खुलाइएको छैन । केही समयअघि पुल्चोकस्थित होटल समिटको ६० प्रतिशत शेयर खरिद गरेको चौधरी समूहले २ अर्ब रुपैयाँको थप लगानीमा १२० कोठा थप्दैछ। अहिले यो होटलमा जम्मा ७३ वटा कोठा छन्। त्रिपुरेश्वरमा १२५ कोठे बिजनेश होटल, पुल्चोकस्थित यूएन कार्यालय नजिकै २ सय कोठाको होटल होलिडे इन, बुढानिलकण्ठमा ५० वटा कटेजसहितको वेलनेश रिट्रिट र पोखराको सराङ्गकोटमा ८० कोठे सुविधा सम्पन्न पाँच तारे होटल चौधरी समूहको प्रस्तावित योजना हुन्।
चौधरी समूहका अध्यक्ष विनोद चौधरीले १३ चैत २०७४ मा नेपाली संचारकर्मीहरुसँग कुराकानी गर्दै नेपालमा चारवटा नयाँ होटल संचालनमा ल्याउने जानकारी दिएका थिए । चौधरी समूहले डेढ अर्ब रुपैयाँ लगानीमा झम्सिखेलमा जिंक सिटी होटल, ५० करोड रुपैयाँ लगानीमा नवलपरासीको हर्कपुरमा जिंक ब्राण्डमा पञ्चकर्म वेलनेश सेन्टर निर्माण गरिरहेको छ । यीमध्ये जिंक सिटी चार तारे होटल यसैवर्षदेखि संचालनमा आउँदैछ।
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्षित गर्दै दुई वर्ष अघि चौधरी समूह र इण्डियन होटल्स लिमिटेडको संयुक्त लगानीमा मेघौली सराय ताज सफारी लज संचालनमा आएको थियो । चितवनको मेघौली ७० करोड रुपैयाँभन्दा बढीको लगानीमा पाँच तारे लज खोलिएको हो।
मेघौली सराय होटलमा चौधरी समूहसँग साझेदारी पछि टाटा समूहको यो दोश्रो परियोजना हुनेछ, इण्डियन होटल कम्पनी लिमिटेडका प्रबन्धक निर्देशक पुनित छतवालले भने,आर एण्ड आर होटल एण्ड रिसोर्टसँग नयाँ होटलका लागी साझेदारी गर्न पाउँदा हामीलाई खुशी लागेको छ।
नयाँ होटलमा १११ वटा सुविधा सम्पन्न ठूला कोठा, सुइट्स रुमबाटै काठमाण्डौं उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिने, दिनभर खाना अर्डर गर्न मिल्ने, विशेषतायुक्त रेष्टुरेन्ट, बार, बेक्वेट र स्पा समेतको सुविधा हुने ताज गु्रपद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
आर एण्ड आर होटल एण्ड रिसोर्टका निर्देशक राहुल चौधरीले टाटा समूहसँग विभिन्न गन्तव्यमा लामो समयदेखि पर्यटन व्यवसायमा साझेदारी गर्दै आएकोमा इण्डियन होटल कम्पनी लिमिटेडसँग नेपालमा दोश्रो परियोजनामा साझेदारी गर्न पाउँदा खुशी लागेको प्रतिकृया दिए।
सिजी हस्पिटालिटी अन्तर्गत १२ वटा मुलुकको ७० वटा गन्तव्यमा ९५ वटा होटल, रिसोर्ट,लज,स्पा संचालनमा रहेको छ। सन् २०२० सम्ममा सिजी हस्पिटालिटिले २० वटा मुलुकको १०० वटा गन्तव्यमा २ सय होटल सहित १० हजार कोठा पुर्याउने योजना विज्ञप्तीमा उल्लेख छ।
उद्योगी रविभक्त श्रेष्ठ अध्यक्ष रहेको शिवक्रिम ल्याण्ड एण्ड इण्डष्ट्रियल कम्पनीले समेत आर एण्ड आर हेरिटेज प्रालिमार्फत् चौधरी समूहसँग मिलेर पर्यटन व्यवसायमा लगानी गरिरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४