बिहीबार, वैशाख १३, २०८१

कहाँ हराउँदैछ कांग्रेस?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कांग्रेस यसपटकको चुनावदेखि बाहेक विगतका वर्षहरूमा नेपाली जनताको आड भरोसाको दलका रूपमा रहँदै आएको हो। प्रत्यक्ष निर्वाचनलाई छाडेर समानुपातिक निर्वाचनको मत परिणाम मात्रै हेर्ने हो भने अहिले पनि नेपालमा प्रजातन्त्रवादीहरूको संख्या अरू कुनै वादी वा विचारधारा बोकेकाहरूको भन्दा बिल्कुलै कम छैन। संसदमा संख्या कम भएर हो कि विचारमा स्खलन भएर हो, आजभोलि कतिपय नेताहरूको नूर गिरेको देखिन्छ।

कांग्रेस समर्थक वा मतदाताहरूमा कुनै असर भेटिन्न किनकि उनीहरूको लक्ष्य नेपालमा लोकतन्त्रलाई संस्थागत गर्नु मात्र हो। नेतृत्वमा चरम निराशा छाउनुमा भने कुर्सी गुम्नु नै मुख्य हो भन्न कठिन नपर्ने देखिएको छ। होइन भने वर्तमान सरकारको अधिनायकवादी, गैरजिम्मेवार र निकम्मापनविरुद्ध चुइँक्कसमेत नबोल्नुमा के कारण छ? सबैले उत्तर खोजिरहेका छन्। कांग्रेसको पराजयप्रति कार्यकर्ताको मात्र होइन, आम लोकतन्त्रवादीको चिन्ता छ। पराजयको भन्दा पनि बढी कांग्रेसको मौनताले सम्पूर्ण जनतालाई नै पीडामा पार्न थालेको छ।

अहिले केही समयका लागि विदेशमा रहेका तर सबै चुनावमा नेपालमै बसेर मतदान गर्दै आएका एक मित्रले फेसबुकमा मलाई सम्बोधन गर्दै लामो पत्र लेखे। उनी कांग्रेसी होइनन्, न अरू कुनै दलको नै सदस्यता लिएका छन्। उनलाई लोकतन्त्र मन पर्छ, त्यसैले विगतका चुनावहरूमा सधैं कांग्रेसलाई भोट हाल्दै आएका थिए। यसपटक भने उनको चित्त दुखेछ, कांग्रेस र यसका नेताहरूसँग।

मैले लेखेका लेखहरू पढ्ने गरेका रहेछन्, त्यसैले उनको गुनासो पनि सुनाइदिन्छन् कि भनेर मलाई पत्र लेखे। यी प्रजातन्त्रवादीका केही कुरा नेपाली कांग्रेसलाई सान्दर्भिक हुने देखेर यहाँ प्रस्तुत गरिएको छ। उनको पत्रको सार यसप्रकार छ :

मैले राम्रोसँग चिनेका कांग्रेसका चर्चित युवा नेतालाई विदेशी भूमिबाट पत्र लेखें। मधेश आन्दोलनपछिको परिवर्तित समयलाई कांग्रेसले राम्रोसँग परिभाषित गर्न सकेन। नयाँ मतदाताहरूका बारेमा कुनै ध्यान पुगेको नै पाइएन। कांग्रेसको पुरानो धरातल र चारतारे झण्डाभन्दा बाहिर गएर कुनै कुरा सोच्न सकेको देखिएन। नेपालभित्रकै राजनीतिमा आएको परिवर्तनलाई राम्रोसँग आत्मसात् गर्न सकेको पनि देखिनँ, नेपालको भूधरातलीय अवस्था र अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषण त परै रह्यो। 

विपक्षी दलहरूको एकीकरणका फाइदा र बेफाइदालाई उचित विश्लेषण गर्न पनि चुक्यो। गएका वर्षहरूमा कांग्रेसले गरेका राम्रा कामहरू र तिनका उपलब्धिलाई जनतासामु राख्न पनि सकेन। नेताजी, म तपाईं र तपाईंको दलको शुभचिन्तक हुँ, त्यसैले यो पत्र लेख्दैछु। म र मजस्ता कहाँ भोट हालौं भनेर असमञ्जसमा परेकाहरू धेरै छन्। यस्तालाई आकर्षण गर्ने धेरै सकारात्मक सुझावहरू मसँग छन्। हुन त, चुनाव आउनै लागिसक्यो तर, त्यति ढिलो पनि भएको छैन। आशा छ, तपाईंबाट छलफलका लागि केही समय पाउनेछु।

यसरी पठाएको पत्रको जवाफ नपाएपछि फेरि पत्र लेखेछन्, विदेशबाटै तिनै नेतालाई। पत्रमा उनले लेखेका थिए- कांग्रेसप्रति मेरो विश्वास थियो तर यसपटक मलाई मन परेन। वर्तमान निर्वाचन परिणामबाट म दुःखी छु तर तपाईंको विजयका लागि बधाई ज्ञापन गर्दछु। कांग्रेसले जनताका आवश्यकता र चाहना समयमै बुझ्न सकेन यद्यपि अझै केही बिग्रेको छैन। शीर्ष नेताहरूलाई मात्रै दोष थोपरेको देखिन्छ र अरू भने आफू दूधले नुहाएको झैं गरी बसेका छन्। नेताहरूले मात्र होइन, कार्यकर्ताहरूले पनि जनताको विशेषगरी युवाको आवाजलाई सुन्न सकेनन्, सुन्ने प्रयासै गरेनन्। मलाई लागेका र कांग्रेसले अवलम्बन गर्नुपर्ने केही सुझाव प्रस्तुत गर्न मसँग निकट सम्बन्ध भएका तपाईंलाई चुनाव अघिदेखि नै निकै प्रयास गरें, दुर्भाग्यवस मैले समय पाइनँ, तपाईंको कुनै रेस्पोन्स मिलेन।

हारको एउटा महत्वपूर्ण कारणको यो एउटा उदाहरण हो। कांग्रेसले मजस्ता तटस्थहरूको विचार र जनताको तहमा रहेका सूचनाहरू संकलन गर्ने प्रयासै गरेन। मैले तपाईंलाई पठाएका एसएमएस र मेलहरू हेर्नुहोस् यद्यपि म विदेशमा छु।

यसरी बारम्बार प्रयास गर्दा पनि उनीबाट समय पाइनँ, प्रत्युत्तरको त कुरै भएन। मलाई लाग्यो, यही प्रयास कुनै वाम नेतासँग गरेको भए पक्कै सम्पर्क गर्थे, मेरा सुझावहरू सुन्थे। त्यसपछि मैले उनलाई सुझाव दिने कुनै कोशिस गरिनँ।

अब म छिट्टै नेपाल आउँदैछु, त्यसपछि बसेर कुरा गरौंला। कांग्रेसीहरू पढ्दै नपढ्ने, सतही कुरा मात्रै गर्ने। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको कुनै हेक्कै छैन। यसरी चल्दैन। गोविन्द केसीका आन्दोलनका पछि लाग्नुभन्दा स्वास्थ्य विधेयकको विश्लेषणमा लाग्नुपर्थ्यो, कांग्रेस। वाम सरकार भए पनि राम्रा कुराहरूको समर्थन र नराम्रा कुराहरूमा रचनात्मक विरोध गर्दा सकारात्मक सन्देश जान्छ।

मेरा कुरा सुन्दा तपाईंलाई यो पनि कम्युनिस्ट भएछ भन्ने लाग्यो होला, म कहिल्यै हुन सक्दिनँ। म कांग्रेसी पनि होइनँ तर लोकतन्त्रवादी दल मलाई चाहिन्छ। त्यसैले यो चिन्ता जाहेर गरेको हुँ।

कांग्रेसको पराजयप्रति कार्यकर्ताको मात्र होइन, आम लोकतन्त्रवादीको चिन्ता छ। पराजयको भन्दा पनि बढी कांग्रेसको मौनताले सम्पूर्ण जनतालाई नै पीडामा पार्न थालेको छ।


कांग्रेसमाथि विश्वास गर्ने यस्ता तटस्थ मानिस लाखौं छन् तर तिनलाई आकर्षित गर्ने कार्यक्रम र विचारको खाँचो छ। बीपी कोइरालाले दूधको उदाहरण दिँदै गर्नुभएको समाजवादको विश्लेषणले मात्रै अब पुग्दैन। कम्प्युटर, मोबाइल र अत्याधुनिक प्रविधिमा प्रवेश गरिसकेका युवालाई समयानुकुल समाजवादको व्याख्या अत्यावश्यक भइसकेको छ। प्रत्येकका घरमा एक हल गोरुको सट्टा प्रत्येक वडामा खेत जोत्न चार वटा ट्रयाक्टर भन्ने वा योजना आयोगमा हलो जोत्दै गरेका किसानको फोटोका साथै सबै बालबालिका विद्यालय जाँदै गरेको चित्र पनि झुण्ड्याउने छलफलको विषय हुन सक्छ।

समयसापेक्ष पार्टीलाई अग्रगामी बनाउने जिम्मा वर्तमानमा जिम्मेवारी लिएका नेतृत्वगणकै हो। विचार, विधान र कार्यकर्ताको व्यवस्थापनमा व्यापक सुधार ल्याई एक्काइसौं शताब्दिका जनताको मन जित्न अब पुरातन सोचहरूमा परिवर्तन ल्याउनैपर्छ।

प्रधानमन्त्री केपी ओलीले केही समयअघि आफ्ना कार्यकर्ताहरूलाई अरिंगालको गोलो भएर विपक्षीमाथि खनिन आदेश दिए। कांग्रेसका नेताहरूले पनि विपक्षीमाथि जाइलाग्न आदेश दिएको दियै छन्। फरक यत्ति छ कि ओलीले भनेको विपक्षी कांग्रेस हो भने कांग्रेसी नेताहरूले भनेको विपक्षी पनि कांग्रेसी नै हुन्। पौडेलका विपक्षी देउवा समर्थक, देउवाका विपक्षी पौडेल, सिटौलाका दुवै।

शशांक, शेखर, प्रकाशमानहरूका पनि विपक्षी कांग्रेसी नै हुन्, अरू दलका होइनन्। यही पाराले अघि बढ्ने हो भने कांग्रेस कता जाला? नेताहरूलाई त चिन्ताको विषय बनेको छैन, मलाई पत्र लेख्ने तटस्थ प्रजातन्त्रवादी र लोकतन्त्रबाहेक कुनै स्वार्थ नराखेका कांग्रेसीहरूलाई भने दिनको भोक न रातको निन्द्रा बन्न पुगेको छ।

निकट भविष्यमै कांग्रेसको महासमिति बैठक बस्दैछ। महाधिवेशनपछिको सर्वशक्तिमान निकाय यही नै हो। अर्को महाधिवेशन आउनुपूर्वका लागि यो बैठकले महत्वपूर्ण निर्णयहरू लिनुका साथै कांग्रेसको नीति तथा कार्यक्रममा फेरबदल गर्न सक्छ। त्यसैले पनि यो बैठकमा गहन छलफल भएर कांग्रेसले नयाँ रणनीतिका साथ अगाडि बढ्ने मार्ग पहिल्याओस्, विधान परिवर्तनमा मात्र सीमित नहोस् भन्ने कामना आम प्रजातन्त्रवादीहरूले गरेको पाइएको छ। विधानमै भएको विवादले त्यतातर्फ छलफल नै हुँदैन कि भन्ने आशंका पनि धेरैमा छ।

२७ सदस्यीय केन्द्रीय समिति हुँदा पनि यो दल अहिलेको भन्दा जनतामा निकै लोकप्रिय थियो। सभापतिमा पूरै अधिकार रहँदा पनि कांग्रेसको आन्तरिक लोकतन्त्र वर्तमानमा भन्दा ज्यादै बलियो थियो। उपसभापति, महामन्त्रीहरू १/१ जना मात्रै हुँदा पनि नेता र जनताबीचको सम्बन्ध आत्मीय थियो। त्यसैले नेताहरूको व्यवस्थापनका लागि भन्दै छेक न छन्दका व्यक्तिहरूलाई बढुवा गर्ने उद्देश्य राखेर कांग्रेसभित्रका गुट/उपगुटहरूले लडाईं गर्नुभन्दा नीति निर्माणमा जुट्नु अहिलेको आवश्यकता हो।

क्रियाशील सदस्यको योग्यतादेखि लिएर केन्द्रीय सदस्यसम्मको क्षमताका बारेमा छलफल हुन जरुरी छ। व्यापारी, ठेकेदार वा पैसावालले मात्र टिकट पाउने, पुराना कार्यकर्ताहरू इमानदार भएर पनि पाखा पर्नुका कारणहरू बारेमा छलफल हुनैपर्छ। तर, यसका साथसाथै आगामी निर्वाचनमा नेपाली जनताको उज्वल भविष्य निर्माणार्थ कस्ता कदमहरू चाल्ने भन्नेमा व्यापक बहस हुनैपर्छ। एक सय ५० जना क्रियाशील सदस्य भएको ठाउँमा एक सय भोट मात्रै परेका उदाहरण अनगिन्ती छन् भने अब के गर्ने भन्नेमा निश्चय नै महासमितिले निर्णय लिनेछ।

कांग्रेसले मात्र देशको विकास गर्न सक्छ भन्ने विश्वास हुँदा हुँदै पनि विविध कारणले कांग्रेस पछाडि परेको छ। ४/४ जना वामपन्थी प्रधानमन्त्री हुँदा पनि संविधान बनेन, कांग्रेसका सभापति सुशील कोइराला नै चाहियो भनेर अब पुग्दैन। स्थानीय निर्वाचनको परिदृश्यले मधेशी दललाई चुनावमा ल्याउन नसकिने विश्लेषण गरेपछि प्रचण्डले प्रधानमन्त्री पद देउवालाई सुम्पे, देउवाले मधेशी दलहरूलाई चुनावमा पनि ल्याए, कांग्रेस हारे पनि देशलाई जिताए भनेर अबको चुनाव जितिँदैन।

चुनाव जित्नका लागि कार्यकर्तामा उत्साह भर्नैपर्छ। कार्यकर्ताको सुरक्षा र इमानदारको सही मूल्यांकनको प्रत्याभूति दिन सक्नुपर्छ। पैसावालाहरूले होइन, कांग्रेसमा जीवन सुम्पेकाहरूले नै शिखरमा पुर्याउँछन् भन्ने अनुभूति नेतामा भएको विश्वास दिलाउन सक्नुपर्छ।

कांग्रेसमा प्रवेश गरेको भोलिपल्ट सांसदको टिकट पाउने, ठूला नेताका श्रीमती, छोरा वा छोरी छ भने केन्द्रीय सदस्य बन्नका लागि क्रियाशील सदस्यता लिएको १० वर्ष पनि पुग्नु नपर्ने जुन व्यवहार चलाइएको छ, त्यसको पूर्णतः अन्त्य गर्न कांग्रेसले सक्छ कि सक्दैन? एकाइ समितिमा नबसी क्षेत्रमा, क्षेत्रीय समितिमा नबसी जिल्लामा, जिल्ला समितिको सदस्य नभई प्रदेशमा र प्रदेशको नेतृत्व नलिई केन्द्रमा पुग्न नपाउने व्यवस्था गरेमा केही हदसम्म नातावाद, कृपावादको अन्त्य हुन सक्छ। कोही त्यस्तो अपरिहार्य व्यक्ति हुन्छ भने वा प्राध्यापक, वकिल, डाक्टर, इन्जिनियरजस्ता पेशागतहरूबाट ल्याउने आवश्यकता देखिन्छ भने एक वा दुई सिट निर्वाचनका लागि छुट्याउन सकिन्छ।

पञ्चायतकालमा मेचीको कांग्रेसीलाई पीडा हुँदा महाकालीको नेताको मन रुन्थ्यो। कांग्रेसी-कांग्रेसीका बीचमा कमरेड, मित्र वा साथीजस्ता सम्बन्ध थिएनन्। बुवा, दाजु, भाइ, बहिनी वा दिदीजस्ता नाताले देशभरिका प्रजातन्त्रवादीलाई जोडेका थिए। नेताहरू मन्त्री, प्रधानमन्त्री बनेपछि, नेताहरूको आर्थिक स्तर व्हात्तै बढेपछि तथा नेता र कार्यकर्ताबीचमा सुरक्षाको नाममा प्रहरीको पर्खाल लाग्न थालेदेखि विगतको सम्बन्धमा स्खलन हुन पुगेको छ। पुनः त्यसलाई ब्युँताउन सकिन्छ कि सकिन्न? प्रयास गरे अवश्य सक्छ, कांग्रेसले।

कांग्रेसको प्रत्येक सदस्यले प्रत्येक वर्ष पाँच सय रुपैयाँ पार्टीलाई बुझाउनैपर्ने, कुनै एक वर्ष बुझाउन छुटे पनि एक अधिवेशनमा उम्मेदवार हुन नपाउने, एक सय एकाइलाई, क्षेत्र, जिल्ला र प्रदेशलाई ५०/५० रुपैयाँ, केन्द्रलाई एक सय र एउटा अक्षय कोष स्थापना गरी एक सय ५० रुपैयाँ राख्ने व्यवस्था गर्नु उपयुक्त देखिन्छ। अक्षय कोषको व्याजले नेपाली कांग्रेसको सदस्यता लिएको व्यक्तिलाई क्यान्सर, मुटु, मृगौला, कलेजो आदिका असाध्य रोग लागेमा अप्रेसनको पूरा खर्च बेहोर्ने व्यवस्था गरी सहकारिता र सामूहिकताको अभ्यास आरम्भ गर्न सकिन्छ। जसले पारिवारिक नातासरह सम्बन्ध जोडी सशक्त कांग्रेस निर्माण गर्न सहयोग पुग्न सक्छ।

कोही विद्यालय जान सकेका छैनन् भने आर्थिक सहयोग गर्नका लागि पनि उपयोग हुन सक्छ। कांग्रेस भएमा पैसा नभएर अशिक्षित हुनुपर्दैन भन्ने सन्देश दिन सकिन्छ। त्यस्तो कोषबाट बेरोजगार युवालाई समूह बनाई आएमा साना उद्योग सञ्चालनका लागि १/२ प्रतिशत व्याजमा ऋणको व्यवस्था गरेमा युवा आकर्षित हुन सक्छन्। ऋण नतिरे के गर्ने भन्ने डर होला, नियन्त्रणका लागि कुनैले उद्योग नगरी रकम पचाए, ऋण तिरेनन् भने तिनीहरूका एकाघरका परिवारलाई भविष्यमा कांग्रेसको कुनै पनि तहमा सहभागी हुन नपाउने व्यवस्था वा अन्य त्यस्तै केही उपाय मिलाउन सकिन्छ।

महासमितिमा उठाउनुपर्ने यस्ता धेरै कुरा छन्। आशा छ, कांग्रेसले सही निर्णय लिई मुलुकका आम प्रजातन्त्रवादीहरूलाई सन्तोषको श्वास फेर्ने अवसर दिनेछ। कुम्भकर्ण सुते जसरी सुतेर सभामुख-उपसभामुख वा अध्यक्ष उपाध्यक्ष एउटै दलको हुँदा पनि मौन रहिरहन्छ भने संविधान तहसनहस बनाउन नेकपा भस्मासुर जसरी उद्यत भइरहन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।