काठमाडौं–राजधानीको भृकुटीमण्डमा सस्तो मेला शुरु भएको छ । दशैंलाई लक्षित गर्दै स्टक क्लियरेन्सको लागि इभेण्ट सोलुसन प्रालिले मेला सञ्चालनमा ल्याएको हो ।
आयोजककाअनुसार बजारको तुलनामा मेलामा विभिन्न दशैंका सामाग्री तथा सामानहरु सस्तोमा उपलब्ध गराइने छ । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध छन् ।
मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाड पर्वका समयमा आयोजना हुने मेलाले आमउपभोक्तालाई धेरै सहज प्रदान गर्ने बताए ।
वर्षेनी आयोजना हुदै आएको उक्त मेला यस पटक पनि निरन्तरता दिएको बताइएको छ । ‘दशैंको बेला सस्तो मेला’नारा रहेको मेलामा दशैंका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु सस्तो मूल्यमा किन–मेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।
मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु राखिएको छ । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागी रहेका छन् ।
राजधानीका साथै राजधानी आसपासका उपभोक्ताहरूले मेलाबाट फाइदा लिने आयोजकले विश्वास गरेको छ ।
आयोजकले मेलामा ५० हजार ग्राहक तथा अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरेको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४