इटहरी- ३८औं विश्व पर्यटन दिवसमा बिहीबार बिहानै इटहरीमा पर्यटनकर्मीहरूले र्याली निकाले। त्यसमा सहभागी थिए इटहरी, धरान र आसपासका विद्यार्थी, शिक्षक, होटेल व्यवसायी, पर्यटन अभियन्ता र व्यवसायीहरू। त्यही भीडमा थिए, स्विजरल्यान्डबाट आएका पर्यटनकर्मी क्रुज किवझ।
होटेल व्यवसायी संघ इटहरीले आयोजना गरेको र्यालीपछिको कोणसभामा बोल्दै क्रुजले भने, ‘नेपालको कसैसँग तुलना गर्नु हुँदैन।’ बेला-बेलामा स्विजरल्यान्डसँग नेपालको तुलना गरेकामा उनले विमति जनाए। र, भने, ‘नेपाल भनेको नेपाल नै हो। यसको तुलना अरूसँग गरेर राम्रो हुँदैन।’
नेपालमा धेरै खर्चालु युरोपेली पर्यटकहरू ल्याउन स्तरीय तारे होटेल र विश्वस्तरीय सत्कार हुनुपर्ने क्रुजले नेपाल समयसँग बताए।
७१ वर्षे क्रुज पर्यटन र होटेल व्यवसायमा लामो काम गरेर अहिले स्विस सरकारले गरिब देशमा विज्ञलाई पढ्न पठाउने कार्यक्रमअन्तर्गत् इटहरीमा छन्। उनी इटहरीको होटेल प्रिमियर स्कुलमा पर्यटन कोर्स पढाउँछन्।
भारत र चीनका पर्यटकलाई पहिलो तथा युरोप र अमेरिकी पर्यटकलाई दोस्रो प्राथमिकतामा राखेर नेपालले पर्यटकीय कार्यक्रमहरू ल्याउनुपर्ने क्रुजले बताए। उनले भने, ‘नेपालले युरोपेली पर्यटकहरू पहिलेबाटै ल्याइरहेको छ। तर, भारत र चीनजस्ता करोडौं जनसंख्या भएका मुलुकका पर्यटकहरू नेपालजस्तो सुन्दर देशमा आउनुपर्ने जति नआएको सुनेको छु।’
भारत र चीनका खर्चालु पर्यटक ल्याएमा नेपालमा धेरै अवसर सिर्जना हुने क्रुजले बताए। र्यालीको एक प्लेकार्डतर्फ देखाउँदै उनले भने, ‘एक अर्ब पर्यटक, एक अर्ब अवसर।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४