काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले महिलालाई भोगविलासको साधनका रूपमा व्याख्या गरिएकाले पनि पछिल्लो समय बलात्कारका घटना बढेको बताएका छन्।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री थापाले भने, ‘सांस्कृतिक चेतना, आर्थिक, सामाजिक, पुँजीवादी र सामन्तवादी आधारहरूले महिलालाई भोगविलासको साधन बनाएकाले बलात्कारका घटना बढेका छन्।’
मन्त्री थापाले सबैभन्दा बढी बलात्कारका घटना अमेरिकामा र त्यसपछि भारतमा हुने बताउँदै नेपालमा भएका घटनालाई न्यूनीकरण गर्ने गरी सरकारले काम गरिरहेको बताए।
‘प्रविधिको विकाससँगै साइबर क्राइममा भएको वृद्धि, घरेलु मदिराको अनियमित र अनियन्त्रित बिक्री वितरण र लागूऔषधको प्रयोग बलात्कारका मुख्य तीन कारण हुन्,’ उनले भने, ‘सामन्तवादका आधार पुँजीवादी चिन्तन र दलाल पुँजीवादले गर्दा नै यस्ता घटनामा वृद्धि भएका छन्। यसको नियन्त्रण गर्नुपर्छ।’
आफ्नो सुरक्षाका लागि सम्बन्धित नागरिक नै सचेत हुनुपर्ने बताउँदै उनले भने, ‘सरकारले मात्र सुरक्षा गरेर पुग्दैन, नागरिक तहबाटै छोरीचेलीको रक्षा गर्नुपर्छ।’
मदिराको बढी प्रयोगले आपराधिक घटना बढेको बताउँदै मन्त्री थापाले मदिरा बिक्री वितरणका लागि दिइने अनुमतिबाट राष्ट्रलाई करिब ४५ अर्ब रुपैयाँ राजश्व उठे पनि त्यसबाट राज्यले खर्बौंको क्षति बेहोर्नुपरेको पनि औंल्याए।
‘प्रहरीका एकाइ प्रमुखको गैरव्यवसायिक आचरणले अपराध बढ्यो’
बैठकमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीका एकाइ प्रमुखको गैरव्यवसायिक आचरणले अपराधका घटना बढेको बताए।
समिति सदस्यहरूले उठाएको अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषयक सवालको जवाफ दिँदै महानिरीक्षक खनालले पछिल्लो समय अपराधका घटना बढेको गुनासो सम्बोधन गर्दै देशमा भएका आपराधिक क्रियाकलापमा संलग्नलाई मिलापत्र गरेर नछाडेको दाबी गरे। बलात्कारका घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन प्रहरी लागिपरेको उनको भनाइ थियो। १० महिनायताको तथ्यांक केलाउँदा यस्ता घटनामा १० प्रतिशतले नै वृद्धि भएको खनालले जानकारी दिए।
खुला सीमाका कारण पनि अपराधीलाई पक्राउ गर्न समस्या परेको उनले बताए। ‘भारतसँगको बोर्डरमा अपराध गरेर दुई मिनटमै अपराधीले सीमा पार गर्छ। शंकास्पद व्यक्तिलाई पक्राउ गर्न प्रहरीले अनुमति लिनुपर्छ,’ महानिरीक्षक खनालले भने, ‘अनि, प्रहरीसँग नयाँ प्रविधि नभएका कारणले पनि पक्राउ गर्न कठिन भएको छ।’
तर, कञ्चनपुरमा भएको निर्मला पन्तको बलात्कारपछि हत्या घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको बताउँदै हत्याराको खोजीका लागि प्रहरीले भित्रभित्रै काम गरिरहेको बताए।
नेपालमा हुने बलात्कारका घटनामध्ये ३८ प्रतिशत अपरिचतले व्यक्ति, १४ प्रतिशत परिचित व्यक्ति, १७ प्रतिशत साथीबाट र अरू विभिन्न कारणले हुने गरेको पाइएको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४