भारत-बंगलादेश सीमाको फूलबारी नाका।
इटहरी- गत शनिबार इटहरीका केही युवा भारत र बंगलादेशको सिमाना पुगे। ‘बोर्डर’मा पुगेर पासपोर्ट हुनेहरू ‘अन अराइभल’ भिसा लिएर केही घण्टा बंगलादेशमा बिताउने सोचमा थिए। तर, उनीहरूले भिसा पाएनन्। भारतीय सुरक्षाकर्मीहरूले नै उनीहरूलाई फर्काइदिए।
‘बंगलादेशीहरू काँकडभिट्टाबाट नेपाल आउन पाएजस्तै नेपाली पनि बंगालादेशमा पासपोर्ट हुँदा जान पाउँछन्जस्तो लागेको थियो,’ इटहरीका युवा सेमन्त कोइरालाले भने, ‘बंगलादेशमा त्यस्तो रहेनछ। भिसा प्राप्त गर्न काठमाडौं नै जानुपर्ने रहेछ।’
कोइरालासँगै फूलबारी पुगेका अर्का युवा प्रमोद भट्टराईले नेपालको पूर्वी नाकाबाट गाडीमा डेढ घण्टामा पुगिने भए पनि भिसा प्राप्त गर्न संघीय राजधानी नै पुग्नुपर्ने बाध्यता हटाइनु उपयुक्त हुने सुझाए। ‘प्रदेश-१ को पूर्वी नाकाबाट सिलिगुडी हुँदै बंगलादेश पुग्न डेढ घण्टा लाग्छ। तर, भिसा पाउन १२ घण्टाको सवारी यात्रामा काठमाडौं जानुपर्छ।’
भूगोल नजिक भिसा टाढा
पूर्वी नाकाबाट काठमाडौं र बंगलादेशको राजधानी ढाकासम्म बस यात्राको समय लगभग एकै छ। पूर्वी क्षेत्रमा देशाटनमा निस्किनेहरू बढ्दो क्रममा छन्।
त्यस्ता पर्यटकलाई लक्षित गरी सहज भिसाको व्यवस्था गरिनुपर्ने प्रदेश-१ का व्यवसायीहरूको माग छ। काँकडभिट्टाबाट बंगलाबन्ध नाका हुँदै ३१ अगस्ट १९९७ देखि नेपाल-बंगलादेश व्यापार चलिरहेको छ। त्यसमा संलग्न व्यापारीहरूले बंगलादेश जानु पर्दा काठमाडौं पुगेर बंगलादेशी दूतावासबाट भिसा लिनुपर्छ।
डेढ घण्टा टाढाको बंगलादेश पुग्न १२ घण्टा टाढाको काठमाडौं पुगेर भिसा प्राप्त गर्नुपर्ने व्यवस्था।
बंगलादेशको गार्मेन्ट ल्याएर बिक्री गर्ने योजना बुनिरहेका मोरङका व्यवशायी श्याम पौडेलले भने, ‘नजिकको भूगोल र टाढाको भिसाले समस्यामा पार्यो।’
बंगलादेशले नेपालीलाई ‘अन अराइभल’ भिसा नदिए पनि नेपाल आउन बंगादेशीलाई भने धेरै सहज छ। काँकडभिट्टामा पासपोर्ट बोकेर आउनासाथ बंगालादेशीहरूले ‘अन अराइभल’ भिसा पाउँछन्। प्रदेश-१ का विराटनगर र इलामको पशुपतिनगर नाकामा पनि दशैं-तिहारपछि अध्यागमन कार्यालयहरू सञ्चालनमा आउँदैछन्। त्यसबाट भारतका विहार, सिक्किम र दार्जिलिङ घुम्न आउने बंगालादेशीहरूलाई सहज हुनेछ।
नेपाल आउन सहज तर बंगालादेश जान असहज भएको विषयलाई केन्द्र सरकारसँग कुरा उठाउने प्रदेश-१ का पर्यटनमन्त्री जगदिशप्रसाद कुसियतले बताए। उनले भने, ‘सार्क राष्ट्र बंगलादेश प्रदेश-१ को धेरै नजिकको तेस्रो मुलुक हो। त्यहाँ जान सहज नहुनु राम्रो कुरा होइन। अब प्रदेश सरकारले केन्द्रसँग यस विषयमा छलफल अगाडि बढाउनेछ।’
दक्षिण एसियाली मुलुकहरूमा कनेक्टिभिटीको मुद्दा जोडतोडसाथ उठिरहेको छ। बिमस्टेकमा जोडिएका दक्षिण-पूर्वी एसियाका म्यानमार र थाइल्यान्डसम्मको कनेक्टिभिटीको मुद्दा पनि सतहमा आएको छ, अहिले। त्यसकारण पनि बंगलादेशसँगको आवागमन सहज बनाउनुपर्ने मन्त्री कुसियतको भनाइ छ।
भारत र बंगलादेशबीचको फूलबारी नाका नेपाल र भूटानका लागि सबैभन्दा नजिकको सार्क व्यापार मार्ग हो। यस क्षेत्रमा ‘अन अराइभल’ भिसा सहजीकरण हुनु चारै मुलुकका लागि हितकर हुने मन्त्री कुसियतको भनाइ छ। उनले भने, ‘व्यापार, पारवहन र पर्यटन सबै क्षेत्रमा यस्तो व्यवस्थाले सहयोग गर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४