सुर्खेत- १४ चैत ०७४ मा सुर्खेतको पञ्चपुरीमा किशोरी गौरीकला रोकायाको बलात्कारपछि हत्या भयो । उनी माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन डेरामा बसेकी थिइन् । हत्यामा संलग्न रहेको अभियोगमा ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी-८ बाँझीगाउँका लक्ष्मी बाँस्तोला र खुमप्रसाद बाँस्तोला पूर्पक्षका लागि थुनामा छन् ।
२८ असार ०७५ मा सुर्खेतकै गुर्भाकोटमा ११ वर्षीया बालिका बलात्कृत भइन् । सोही ठाउँका काका नाता पर्ने लोकबहादुर कामीले उनको बलात्कार गरे । बलात्कारका आरोपी अहिले प्रहरीको छानविनको दायरामै छन् ।
यस्तै, १९ साउन ०७५ मा गुर्भाकोटसँग सिमाना जोडिएको भेरीगंगा नगरपालिकाका एक युवाले आफ्नै छोरीलाई कोठा सफा गर्ने बहानामा बोलाएर जबरजस्ती करणी गरे । आमा उपचार गर्न कोहलपुर गएको समयमा आमाको रिसले छोरीमाथि बलात्कार गरेको उनले बयान दिएका छन् ।
नेपाली समाज बलात्कारजस्तो जघन्य अपराधमा आफ्नै बाबु, प्रहरी र आफन्त नै संलग्न भएका यी केही प्रतिनिधि घटना मात्र हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बलात्कारका अभियुक्तहरू अभिभावक र बढी विश्वास गरेकै व्यक्तिहरू हुने गरेका हुन् ।
बलात्कारमा आफन्तहरू नै संलग्न हुँदा अधिकांश घटना प्रहरीसम्म आइनपुग्ने गरेको प्रदेश प्रहरीका निरीक्षक रामकाजी थापा बताउँछन् । त्यस्ता धेरै घटना मिलापत्रमा टुंगिने प्रहरीको भनाइ छ ।
'बलात्कारका अधिकांश घटनामा किशोरीहरू नै बढी पीडित देखिएका छन् ।'
शहरमै बढी बलात्कारप्रदेश प्रहरीको तथ्यांक विश्लेषण गर्दा जबर्जस्ती करणीका घटना शहरी क्षेत्रमै बढी देखिन्छन् । जसअनुसार प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो दुई महिना पाँच महिला बलात्कृत भइसकेका छन् ।
शहरीया खानपान र आफन्तबाट टाढा हुँदा शहरमा बढी बलात्कारका घटना हुने गरेको प्रहरीको भनाइ छ । 'आफन्तबाट टाढा हुँदा यौन स्वतन्त्रता भएको महशुल गर्छन्,' प्रहरी निरीक्षक थापा भन्छन्, 'यही स्वतन्त्रताले गर्दा शहरमै बलात्कारका घटना बढी हुने गरेका छन् ।'
थापाका अनुसार पछिल्लो दुई महिनामा जाजरकोट र डोल्पामा १/१ महिला बलातकृत भएका छन् । यो आर्थिक वर्षमा सुर्खेतमा पाँच बलात्कारका घटना भएका छन् ।
एक वर्षमा ६१ जना बलात्कारमाकर्णाली प्रदेशमा गत आर्थिक वर्ष ०७४/७५ मा ६१ जना महिला बलात्कृत भएका थिए । त्यसमा पनि कर्णाली प्रदेशको सबैभन्दा सुगम जिल्ला सुर्खेतमा बढी घटना भएका छन् ।
६१ मध्ये २३ महिला सुर्खेतका थिए । सल्यानमा ११, दैलेख ८ र रुकुम पश्चिममा नौ महिला बलात्कारमा परेका थिए । यस्तै, जाजरकोट ४, कालिकोट २, जुम्ला २ र मुगुमा २ महिला बलात्कृत भएका थिए । बलात्कारमा संलग्न ६१ जनालाई नै पक्राउ गरी कानूनी दायरामा ल्याइएको प्रहरीले बताएको छ ।
किशोरी नै बढी पीडितजिल्ला प्रहरी सुर्खेतका अनुसार बलात्कार घटनामा अधिकांश किशोरी नै पीडित हुने गरेका छन् । 'बलात्कारका अधिकांश घटनामा किशोरीहरू नै बढी पीडित देखिएका छन्,' एसपी वसन्त रजौरेले भन्छन्, 'आर्थिक अभाव र प्रलोभनमा फस्दा किशोरीहरू बलात्कृत भए ।'
पछिल्लो पुस्तामा देखासिकी र उच्च मनोकांक्षा बढेको तथा आधुनिक पहिरन र सामाजिक सञ्जालको दुरुपयोगले पनि बलात्कारका घटनामा किशोरी नै बढी पीडित भएको उनको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४