भैरहवा- प्रदेश नम्बर ५ का १२ जिल्लाका जनप्रतिनिधी यतिबेला रुपन्देहीको मणिग्रामको ड्रिमल्यान्ड गोल्ड रिर्सोटमा छन्। मंगलबार र बुधबार दिनभर उनीहरु यही हुनेछन्। प्रदेशका ४ उपमहानगर, ३२ नगर र ७३ गाउँपालिकाका प्रमुख, उपप्रमुख सबै यहाँ आएका हुन्। उनीहरुसँगै प्रदेश सरकारका मुख्यमन्त्री , मन्त्री, सचिव र कानुन तथा योजनाविदहरु यतिबेला रुपन्देहीमा भेला भएका हुन्।
७ वटा प्रदेश भएको मुलुकमा यतिबेला पहिलोपटक ५ नम्बर प्रदेशमा प्रदेश समन्वय परिषदको बैठक चलिरहेको छ। सोही बैठकमा भाग लिन उनीहरु रुपन्देही आएका हुन्। बैठकमा सहभागी प्रदेश सरकारका प्रमुख तथा मन्त्रीहरु, उपमहानगरका प्रमुख उपप्रमुख, नगरपालिकाका प्रमुख उपप्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षलाई योजना आयोगका पुर्व अध्यक्ष डा पिताम्बर शर्मा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधव पौडेल र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष डा बैकुण्ड अर्यालले दुई दिनसम्म सहजीकरण गर्नेछन्।
पहिलो दिन मंगलबार शर्माले प्रदेश र स्थानीय तहका योजनाबीचको अन्तरसम्बन्धमा, पौडेलले प्रदेश र स्थानीय तहका कानुनबीचको अन्तरसम्बन्ध र अर्यालले प्रदेश र स्थानीय कर प्रणालीबीचको अन्तरसम्बन्धको बारेमा प्रकाश पारेका छन्।
बुधबार विज्ञहरुले राखेको विषयमा जनप्रतिनिधीहरुको समूह बनाई अभ्यास गराईने तालिका छ। कानुनी ज्ञानको अभाव र अस्पष्टताको कारण समस्या भएपछि ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यलयले सबै सरकार प्रमुखलाई भेला गराई विज्ञहरु मार्फत अभ्यास शिक्षण गराएको हो।
मुख्यमन्त्री शंकर पोखरेलको सभापतित्वमा भइरहेको प्रदेश समन्वय परिषदले प्रदेशको समग्र विकासको प्रारुप सहित रुपन्देही घोषणापत्र पनि जारी गर्ने तयारी गरेको प्रदेश समन्वय परिषदका सचिव दिपेन्द्र प्रसाद काफ्लेले जनाए।
सबैको सहकार्यबाट बाझीएका कानुनहरुलाई हटाउदैं स्थानीय तहका कानुनमा एकरुपता लिई सिंगो प्रदेशलाई समृद्धितर्फ उन्मुख गराउने ध्ययले आयोजना गरिएको प्रदेश समन्वय परिषद फलदायी हुनेमा मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे। आयोजकस्थल रहेको तिलोत्तमा नगरका प्रमुख वासुदेव घिमिरेले स्वागत मन्तव्य राख्दै सबै तहको सहकार्यबाट विकास दीर्घकालिन हुने विश्वास व्यक्त गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४