जनकपुरधाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपामा समाहित हुने दाबी गरेका छन्। उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका यादवको पछिल्लो लक्षण र गतिविधिले उनी वामदलमा प्रवेश गर्ने देखिएको सिटौलाले बताए।
‘उपेन्द्रजीहरु सहभागी भएपछि सरकारले दुई तिहाइभन्दा बढी सदस्य पाएको छ,’ पार्टीको केन्द्रीय विधान संशोधन समितिले मंगलबार विधान संशोधनका लागि आयोजना गरेको प्रदेश स्तरीय भेलामा बोल्दै सिटौलाले भने,‘मधेशसँग सौता व्यवाहार गर्ने सँग उहाँ सरकारमा हुनुहुन्छ। वाम दलमै समाहित हुने लक्षण देखिएको छ।’
वर्तमान सरकारप्रति इंगित गर्दै सिटौलाले सत्तामा पुगेकाहरु समाजवादको कुरा गरेपनि लोकतन्त्र बिर्सिएको भन्दै संघीयता, गणतन्त्र, लोकतन्त्रजस्ता संविधानको मौलिकता जोगाउन सबै एकजुट हुनुको विकल्प नरहेको बताए।
‘कम्युनिष्ट सरकारबाट जनतामा निराशा उत्पन्न भएको छ,’ उनले भने,‘जनताले धान्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ, केन्द्रीय सरकारको गलत नीतिले जनतालाई महँगी उपहार दिएको छ।’
ओली सरकारले दु तिहाईको डण्डा देखाएर सबैलाई तर्साउने खेलमा लागेको उनको आरोप थियो। सिटौलाले भने,‘कहिले सुनुवाइ समितिको नाउँमा, कहिले महाअभियोगको नाउँमा सरकारले न्यायालयलाई तर्साएको छ। हातमा हथकडी लगाएर पत्रकारलाई डराउने काम गरेको छ। सरकार तानशाहको बाटोमा अगाडी बढदै छ।’बलियो प्रतिपक्षको रुपमा प्रस्तुत हुन कांग्रेसजनमा एकताको विकल्प नरहेको उनले बताए।
कांग्रेसका केन्द्रीय सदस्य तथा विधान मस्यौदा समितिका सदस्य डा.मिनेन्द्र रिजालले परम्परागत ढाँचाबाट माथि उठदै कांग्रेसलाई बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए । व्यक्तिलाई भन्दा पनि संस्थालाई बलियो बनाउन विधान संशोधन प्रक्रिया अगाडी बढाइएको उनको भनाइ थियो।
दुई दिनसम्म चल्ने भेलका सहभागीहरुले विधान संशोधन मस्यौदामा आफ्ना सुझाव दिने छन्। भेलामा प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी चार जिल्लाका पार्टी सभापतिसहित कांग्रेसका नेताहरु सहभागी छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४