बिहीबार, वैशाख १३, २०८१

राजधानीका लागि मात्रै दशैंमा एक अर्बका खसीबोका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नजिकिँदै गरेको दशैंमा एक अर्ब रुपैयाँबराबरका ६२ हजार खसीबोका र च्यांग्रा राजधानीमा भित्र्याइने भएको छ । त्यसमध्ये व्यवसायीहरूले ६० हजार वटा भित्र्याउँदैछन् भने खाद्य संस्थानले करिब दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । 

चौपाया खरिद-बिक्री सेवा संघका संरक्षक दीपक थापाका अनुसार करिब ५० हजार खसीबोका भित्र्याइँदैछ । र, करिब १० हजार भेडाच्यांग्रा भित्र्याइनेछ ।

उनका अनुसार गत वर्ष दशैंमा पनि सोही हाराहारीमा खसीबोका र भेडाच्यांग्रा भित्र्याइएको थियो । त्यसमध्ये भारतबाट ३८ हजार, स्थानीय जातका १५ हजार र सात हजार भेडाच्यांग्रा थिए ।

भारतबाट ३५ हजारभन्दा बढी खसीबोका दशैंका लागि राजधानीमा भित्र्याइने भएको छ । पशुजन्य क्षेत्रमा आत्मनिर्भरताको नारा लगाइरहेको सरकारले खसीबोकामा भारतसँग आश्रित हुनुपर्ने अवस्था हटाउन सकेको छैन ।

यो दशैंमा पनि ७० प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने व्यवसायीहरूको भनाइ छ । दशैंमा करिब ५० हजार खसीबोका राजधानीमा भित्रिनेमा ३५ हजार भारतबाट आयात हुने संघका संरक्षक थापाले जानकारी दिए । 'करिब १५ हजार मात्रै स्वदेशी हुन्छन्,' उनले भने ।

यस्तै, करिब १० हजार भेडाच्यांग्रामध्ये मुस्ताङबाट ६ हजार र केरुङ नाका हुँदै तिब्बतबाट चार हजार आयात गरिनेछ ।

खाद्य संस्थानले एक हजार खसीबोका र एक हजार भेडाच्यांग्रा भित्र्याउने तयारी गरिरहेको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार दाङको तुलसीपुर र मकवानपुरको हेटौंडास्थित अञ्चल र शाखा कार्यालयमार्फत् खसीबोका भित्र्याइन लागेको हो । भेडाच्यांग्रा भने मुस्ताङबाट ल्याइने भएको छ ।

'दशैंमा खसीबोका र भेडाच्यांग्राको कारोबारमा हुने मूल्यको उतारचढाव नियन्त्रण गर्न संस्थानले पनि बिक्री वितरण गर्दै आएको छ,' सापकोटाले भने, 'गत वर्ष पनि खसीबोका र भेडाच्यांग्रा गरी दुई हजार भित्र्याएका  थियौं ।'

दशैंमा एक अर्बको खपत

दशैंमा मात्रै करिब एक अर्ब रुपैयाँका खसीबोका र भेडाच्यांग्रा खपत हुने गर्छन् । संघका अनुसार यो दशैंमा एक अर्ब रुपैयाँबराबरका ६२ हजार खसीबोका र भेडाच्यांग्रा खपत हुने अनुमान छ ।

संघका संरक्षक थापाका अनुसार एउटा खसीबोकाको औसत मूल्य १५ हजार र भेडाच्यांग्राको २० हजार रुपैयाँ पर्छ । त्यस आधारमा राजधानीका चौपाया व्यवसायीहरूले यो दशैंमा ७५ करोड रुपैयाँ बराबरका ५० हजार खसीबोका ल्याउँदैछन् । र, १० हजार भेडाच्यांग्राको मूल्य करिब २० करोड रुपैयाँ पर्छ ।

यस्तै, खाद्य संस्थानले भित्र्याउने दुई हजार खसीबोका र भेडाच्यांग्राको मूल्य तीन करोड ४९ लाख रुपैयाँ पर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।

ती सबैलाई जोड्दा व्यवसायी र संस्थानले कुल ९८ करोड ४९ लाख रुपैयाँका खसीबोका र भेडाच्यांग्रा दशैंमा काटिने छन् । 'उक्त खपत कुल वार्षिक खपतको करिब १० प्रतिशत हो,' संघका संरक्षक थापाले भने, 'राजधानीमा वार्षिक १० अर्ब रुपैयाँको करिब सात लाख खसीबोकाको कारोबार हुने गर्छ ।'

व्यवसायीहरूका अनुसार हरेक वर्ष खसीबोकाको व्यापार र मूल्य बढ्दो क्रममा छ । राजधानीमा भित्रिने खसीबोका अधिकांश भारतबाट आयातीत हुन्छन् । मासिक करिब ५५ हजार खसीबोका खपत हुने गर्छन् ।
 
'उक्त खपत कुल वार्षिक खपतको करिब १० प्रतिशत हो । राजधानीमा वार्षिक १० अर्ब रुपैयाँको करिब सात लाख खसीबोकाको कारोबार हुने गर्छ ।'

स्थानीय जात भित्र्याउनै गाह्रो

जति सजिलो भारतबाट राजधानीमा खसीबोका भित्रिन्छन्, त्यति नै गाह्रो छ, स्थानीय जातका खसीबोका भित्र्याउन ।

'भारतबाट भन्सार तिरेको रसिदका आधारमा सयौं खसीबोका सहजै  भित्रिने गरेका छन्,' संघका संरक्षक थापाले भने, 'तर, आफ्नै देशका विभिन्न जिल्लामा पालिएका खसीबोका राजधानी भित्र्याउनु पर्दा क्वारेन्टाइन जाँचलगायत झण्झटिलो प्रक्रिया सामना गर्नुपर्छ ।'

सिन्धुली, धनुषा, महोत्तरी, बाँके, बर्दियालगायत जिल्लाबाट खसीबोका पालक कृषकहरूले आफ्ना उत्पादन राजधानी पठाउनु पर्दा अनेक झण्झट बेहोर्नुपर्छ । 'यसले स्वदेशी पशुपालक कृषकहरूलाई प्रोत्साहनको सट्टा निराश बनाएको छ,' थापाले भने ।

व्यवसायीहरूका अनुसार भारतबाट आयातीतको तुलनामा स्वदेशी खसीबोका स्वच्छ र गुणस्तरीय हुन्छन् । तर, सरकारले नै स्वदेशी आयातलाई निरुत्साहित गरिरहेको छ ।

प्रतिकिलो सय रुपैयाँसम्म महँगिने

यो दशैंमा जिउँदो खसीबोका र भेडाच्यांग्रा प्रतिकिलो सय रुपैयाँसम्म  महँगिने  देखिएको छ । व्यवसायीहरूका अनुसार सामान्यतया प्रतिकिलो जिउँदो खसीबोकाको मूल्य पाँच सय २५ रुपैयाँ रहेकामा अहिले बढेर प्रतिकिलो पाँच सय ७० देखि पाँच सय ८० रुपैयाँ पुगेको छ ।

संघका संरक्षक थापाले दशैंमा प्रतिकिलो १०/२० रुपैयाँ बढ्ने बताए । दशैंमा प्रतिकिलो जिउँदो खसीबोकाको मूल्य ६ सय र भेडाच्यांग्राको सात सय ५० देखि आठ सय रुपैयाँसम्म हुने उनको भनाइ छ । गत वर्ष प्रतिकिलो खसीबोका पाँच सय २५ देखि पाँच सय ३० रुपैयाँ थियो । यस्तै, भेडाच्यांग्राको प्रतिकिलो ६ सय ८० देखि सात सय रुपैयाँसम्म थियो ।

व्यवसायीहरूका अनुसार पछिल्लो समय भन्सार महशुलसमेत प्रतिगोटा खसीको आयातमा ८० रुपैयाँबाट बढेर चार सय ११ रुपैयाँ पुगेको छ । राजधानीमा भारतका कल्पीबजार, जस्मिननगर, बहराइचलगायत ठाउँका खसीबोका भित्रिन्छन् ।

सिन्धुली, जनकपुर, बाँके, बर्दिया, सुर्खेत, सल्यान, जाजरकोट, दाङलगायत स्थानबाट स्थानीय खसीबोका ल्याइने गरेको छ । कलंकी, वागबजार, बिजुलीबजार, बनेपा, भक्तपुर, काँडाघारी, नयाँ बसपार्कलगायत स्थानमा खसीबोका बिक्री गर्ने गरिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।