काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले एसिड आक्रमणमा परि घाइते भएकी सम्झना दासको मृत्यु भएको विषय मुख्य प्राथमिकतामा पारेका छन् ।
एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी रौतहटकी १८ वर्षीया सम्झना दासको आतबार राती निधन भएको छ । एसिड प्रहार भएको १२ औँ दिनमा उनको मृत्यु भएको हो । उनको शरिरको ३५ प्रतिशत भाग एसिडले जलेको थियो ।
यौन प्रस्ताव अस्विकार गर्दा ५० वर्षीय रामबाबु पासवाले सम्झनामाथि एसिड आक्रमण गरेको प्रहरीले जनाएको छ । पासवानले पटक पटक गरेको यौन प्रस्ताव अस्विकार गरेकाले एसिड प्रहार गरेको स्विकारेका छन् । सम्झनाले होसमा हुँदा यो विषयमा आफ्ना बुवालाई पनि बताएकी थिइन् ।
यसै विषयलाई मुख्य समाचार बनाउदै आजको कान्तिपुर दैनिकले सम्झना रहिनन् शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले सम्झना अब सम्झनामा शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले एसिड आक्रमणमा घाइते सम्झना दासको मृत्यु शीर्षकमा खबर छापेको छ । एसिडकै विषय उठान गर्दै कान्तिपुरले सजिलै पाइनु घातक शीर्षकमा अर्को खबर पनि छापेको छ ।
आजको नयाँ पत्रिका दैनिकले पाँच हजार मेगावाटको पञ्चेश्वर २३ वर्षसम्म डिपीआर समेत बनेन शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री भएको तेस्रो महिनामै नेपाल आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर ब्युँताएका थिए । तर, चार वर्षमा प्रगति शून्य भएको छ । जसको डिपीआर मै सहमति जुट्न नसकेको समाचारमा जनाइएको छ ।
आजको नागरिक दैनिकले भने स्थानीय तहमा अवैध निकासी कर शीर्षकमा मुख्य समाचार छापेको छ भने अस्पताल तथा रिसर्च सेन्टरः सुविधा लिनमात्रै दर्ता शीर्षकमा विशेष खबर लेखेको छ । आजको अन्नपूर्णले सरकार गर्जिन्छ, झुक्छ शीर्षकमा कार्टुन सहितको विशेष खबर छापेको छ ।
सजिलै पाइनु घातक
आजको कान्तिपुर दैनिकमा प्रकाशित खबरअनुसार बदला लिन एसिडले आक्रमण गर्ने क्रम बढेकाले यसको बिक्रीवितरणमा कडिकडाउका लागि कडा कानुनको आवश्यकता भएको विशेषज्ञहरूले औंल्याएका छन् ।
यस्तो आक्रमण विश्वमै सबभन्दा बढी आफ्नो देशमा हुन थालेपछि बंगलादेश सरकारले आक्रमणकारीलाई आजीवन कारावासको सजाय हुने कानुन ल्याएको छ साथै एसिड सजिलैसँग किन्न नपाउने व्यवस्था गर्दै बंगलादेशले यसबारे व्यापक जनचेतनाको कार्यक्रम पनि चलाउँदै आएको छ ।नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।
एसिड सर्भाइभर फाउन्डेसन, बंगलादेशको तथ्यांकअनुसार त्यहाँ सन् १९९९ देखि २०१७ सम्ममा एसिड आक्रमणका ३ हजार ३ सय ८६ घटना भइसकेका छन् । सन् २०१८ को अगस्टसम्ममा एसिड आक्रमणका १५ घटना बंगलादेशमा भए, जो अघिल्ला वर्षहरूको आँकडामा निकै कम हो । एसिड उपलब्धतामा कडा व्यवस्था र कारबाहीका कारण नै घटनामा कमी आएको हो ।
नेपालमा भने यस्ता घटना बढिरहेका छन् । चिकित्सकहरूका अनुसार कानुन कमजोर हुनु, जनचेतना नहुनु र एसिड सजिलै पाइनु नै यस्ता अपराधका मूल कारण हुन् । नियमन, नियन्त्रण तथा कारबाहीमा कडाइ गर्न विलम्ब गरे नेपालमा अवस्था विगतको बंगलादेशमा जस्तै भयावह हुने संकेत देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४