शुक्रबार, वैशाख ७, २०८१

नयाँ 'बादशाह' पनि नांगै !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
राजनीतिलाई आलोचनात्मक, गतिशील र जीवन्त बनाउन ‘पोलिटिकल एक्टिभिस्ट’हरू चाहिन्छ। आज यसै विषयमा केही छलफल गरौं। के हो ‘एक्टिभिजम’? नेपालमा ‘पोलिटिकल एक्टिभिस्ट’ छन् कि छैनन्? यस्ता प्रश्नहरू हाम्रो राजनीतिक वृत्तमा खासै सुनिँदैनन्। राजनीतिक एक्टिभिजममाथि न त ‘विमर्श’ छ, न त ‘प्रयोग’ नै। नेता, कार्यकर्ता, शुभेच्छुक र पूरै संगठनहरू जब सत्ता र शक्तिको तीव्रतर लालसाले भरिन्छन्, त्यस्तो बेला एक्टिभिजम हुँदैन।

तथ्यहरूले नै पुष्टि गरेका छन्, सत्तामोहमा फसेको मान्छे लोभी हुन्छ। लोभी मान्छे सम्झौतामुखी हुन्छ। आफ्नो आस्था र मूल्य–मान्यतामाथि सौदावाजी गर्ने प्राणी एक्टिभिस्ट हुँदैन। यही नै मुख्य कारण हुनसक्छ, हाम्रो राजनीतिमा ‘एक्टिभिस्ट’ छैनन्। मेरा एक मित्र भन्छन्, ‘हामीकहाँ अहंकारी नेता र लोभी कार्यकर्ता छन्। शायद हामीसँग अरिंगालहरू छन्, जो नेताको आदेशमा सम्भवतः चिल्न निस्किन्छन्। यसको अर्थ हामीसँग आदेश दिने मालिक र आदेश मान्ने सेवकहरू छन्। एस म्यानहरू छन्।’  आलोचनात्मक राजनीतिक अभियन्ताहरूको अभाव नेपाली राजनीतिको समकालीन ‘क्राइसिस’ हो।

केही नयाँ पुराना सन्दर्भहरू हेरौं। जगजाहेर छ कि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अहिले दिशाहीन र गतिहीन छ। पार्टीभित्रका आफ्नै खिचलोहरू मिलेका छैनन्। गुटहरू छन्। निहित स्वार्थहरू छन्। निर्णय प्रकृयाहरू संस्थागत छैनन्। कांग्रेससँग न त समाजवाद छ, न त प्रजातन्त्र। प्रतिपक्षी भूमिकामा पनि कांग्रेस निम्छरो देखिँदैछ। न सडकमा तर्कसाथ कांग्रेस उपस्थित छ, न सदनमा। नेताहरू को कता छन्, को कता छन्? किन यस्तो छ कांग्रेस? नेता कांग्रेसलाई प्रश्न गर्ने कार्यकर्ता कांग्रेसहरू कता छन्?

सचेत राजनीतिक कार्यकर्ताहरू भएको पार्टी नदीजस्तै चलायमान हुन्छ। निश्चय नै पार्टीमा संगठन हुन्छन्, संगठन प्रणाली हुन्छ। निर्णयहरू हुन्छन् र त्यसको कार्यान्वयन गरिन्छ। स्वाभाविक छ, एजेन्डामाथि अनेक पक्ष र विपक्षमा छलफल हुन्छन्। तर, जब नीति, सिद्धान्त र समग्र कार्यदिशा भुत्ते हुन्छ, कार्यकर्ताहरूले प्रश्न गर्नुपर्छ। कार्यकर्ताका प्रश्नहरूले नै पार्टीलाई जीवन दिन्छन्। तर, आज कांग्रेसमाथि प्रश्न गर्ने उम्दा कांग्रेसीहरू कता छन्? आज आफ्नै समाजवादमाथि प्रश्न गर्ने समाजवादी कांग्रेसहरू कता छन्? आज आफ्नै लोकतन्त्रमाथि प्रश्न गर्ने लोकतान्त्रिक कांग्रेसीहरू कता छन्? शायद उनीहरू कतै पनि छैनन्। अथवा विभिन्न गुटमा छन्।

अर्थ स्पष्ट छ, कांग्रेसमा जे हुन्छ, दुई वा तीन नेताहरू बीचमा हुन्छ। बाँकी पदाधिकारी र कार्यकर्ताहरू घटनाको साक्षी बस्ने हैसियत पनि राख्दैनन्। आफ्नै दुःखहरूको गहिरो र व्यवस्थित समालोचना गर्ने तागत कांगे्रस कार्यकर्तामा छैन। जगजाहेर छ, कांग्रेसमा अहिले पनि जुहारी चलिरहेको छ। जुहारी कहिले गुटहरूमा सीमित हुन्छ।

 

 ‘हामीकहाँ अहंकारी नेता र लोभी कार्यकर्ता छन्। शायद हामीसँग अरिंगालहरू छन्, जो नेताको आदेशमा सम्भवतः चिल्न निस्किन्छन्। यसको अर्थ हामीसँग आदेश दिने मालिक र आदेश मान्ने सेवकहरू छन्। एस म्यानहरू छन्।’


कहिले त्यो अलिक विस्तृत बन्छ र उपगुटहरूसम्म पुग्छ। जब जुहारी शुरु हुन्छ, जवाफदेहिता सकिन्छ। परिणाम, पार्टी भीडमा रूपान्तरित हुन्छ। तर, सबैभन्दा दुःखद अवस्था त्यतिखेर सृजना हुन्छ, जब यो सबै देखेर पनि प्रश्न गर्ने जिउँदो कांग्रेसी कतै देखापर्दैन। किन यस्तो हुन्छ? परिस्थितिले संकेत गर्छ, कांग्रेसमा एक्टिभिस्टहरू छैनन्। त्यहाँ अहंकारी ठूला नेता र लोभी (थोरै असल पनि छन्) कार्यकर्ताहरू छन्। उनीहरू लाभ र हानीको लेखाजोखा त गर्छन् तर ‘एक्टिभिजम’ गर्दैनन्।

कम्युनिस्टहरूको दुःख कांग्रेसको भन्दा कम छैन। जस्तो– पुरानै कुराको सम्झना गरौं। कुनै जमानाकी एमाले सभासद् राज्यलक्ष्मी गोल्छाले भनिन्, केही एमाले नेताले उनीबाट करोडौं पैसा खाए। उनले पैसा खानेहरूको नामै सार्वजनिक गरिन्, जसमा ठूला–साना धेरै नेता मुछिए। तर, पार्टीले गोल्छा प्रकरणमा कुनै गम्भीरता देखाएन। न त यो प्रकरणमा के भएको हो भन्ने आन्तरिक छानविन चल्यो, न त पैसा खाएको आरोप खेप्नेहरूले लज्जावोध नै गरे।

यो सानो उदाहरण मात्र हो। एक जमानामा एमाओवादीहरूले अमिक शेरचनको संयोजकत्वमा पार्टीभित्रको भ्रष्टाचारमाथि छानविन गर्न आयोग बनाए। यता भ्रष्टाचारको गन्ध आइरह्यो तर शेरचनको प्रतिवेदन कतै आएन। कम्युनिस्ट पार्टीमा यस्ता अनेक घटनाहरू बग्रेल्ती छन्। त्यहाँ पनि गुट छन्। असन्तुष्टि छन्। स्वार्थहरू छन्। सिद्धान्त छैन। समाजवादी आचरण छैन। त्यसभन्दा खतरनाक कुरा कम्युनिस्टहरूभित्र प्रश्नहरू पनि छैनन्।

त्यसो त, डा. गोविन्द केसीको आन्दोलनमा कम्युनिस्ट पार्टी र सरकारले कसको पक्ष लियो? जगजाहेर छ। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारी कम्युनिस्टहरू किन मौन? जगजाहेर छ। साढे ३३ किलो सुन प्रकरणमा कमरेडहरू मौन छन्, किन? सिन्डिकेट खारेजी हासहुस भयो, कसैले केही सोध्दैन, किन?

लोकतन्त्रलाई कुण्ठित गर्ने अनेक परिघटनाहरू सामुन्ने छन्। सूचनाको हक र आमसञ्चारको संकुचन, माइतीघर मण्डलाको नियोजन, मूल्यवृद्धि, सरकारको गतिहीनता, प्रदेशको गतिहीनता, मन्त्रीहरूबीच कमजोर समन्वय। तर, कसैले प्रश्न सोध्दैन। पछिल्ला अनेक विधेयकहरूमा सरकार बिब्ल्याँटो बाटोमा हिँड्दैछ। नेताहरूले सार्वजनिक रूपमै आफ्ना तर्कहरूको उपादेयता पुष्टि गर्न सकेका छैनन्। सुनिन्छ, पार्टीमा लाभका पदहरू गुटहरूबीच भागशान्ति लाग्छ। योग्यहरू भन्दा आफ्नाहरू बलवान छन्। तर, हाम्रा कम्युनिस्ट नेता, कार्यकर्ताहरूमा (केहीलाई छोडेर) शरमलाग्दो मौनता दृष्टिगोचर हुन्छ। किन यस्तो हुन्छ?
 

 राजनीतिले समाजलाई बदल्ने सिद्धान्त, संरचना र कार्यक्रमहरूको निर्माण गर्छ। यस्तो अभिभारा लाचार कार्यकर्ताहरू भएको पार्टीबाट पूरा हुँदैन।


अलिक ठूला राजनीतिक विषयहरू हेरौं। दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता आफैंमा अलोकतान्त्रिक परिघटना थियो। अहिले पनि पार्टीमा कमिटी प्रणाली छैन। जे हुन्छ, दुई नेताहरूबाट हुन्छ। तर, बाँकी लाखौं मान्छे ताली बजाउँछन्। न त विचारको बहस छ, न त संगठन प्रणाली, पारदर्शिता र जवाफदेहिताको बहस छ। यो निकै लाजमर्दो तथ्य हो।

थोरै पुरानो कुरा सम्झना गरौं। उस जमानामा एमाओवादीमा ल्हारक्याल लामा प्रकरण भयो। त्यसभन्दा अगाडि ‘क्यान्टोनमेन्ट भ्रष्टाचार’ चर्चामा थियो। एमाओवादीको ओरालो यात्राका ती प्रारम्भिक संकेत थिए। त्यसो त, कुनै बेला कमरेड प्रचण्ड भन्थे, ‘केपी ओलीको दिमाग सड्किएको छ।’ केपी कमरेडले प्रचण्डमाथि गरेका व्यंग्य र गालीहरूको सम्झना गर्दा उकुसमुकुस हुन्छ।

तर, अन्ततः एमाले र माओवादी मिले। कसरी मिले? के एमालेले जनयुद्धको स्वामित्व लियो? के प्रचण्डले जनयुद्धका वाचाहरू बिर्सिए? माओवाद कता गयो? बहुदलीय जनवाद कता गयो? यावत विषयमा कसैले कुनै चर्चा गर्दैन। पहिलेका बोली र व्यवहारको कुनै जवाफदेहिता छैन? हिजो युद्धमा गरिएका वाचाहरू कसैले सम्झँदैन? चुनावमा गरिएका वाचाहरू कसैले बोल्दैन? समाजवादी हुँदा पनि ठीक, नहुँदा पनि ठीक? यो के भएको?

एउटा साधारण प्रश्न गरौं। किन आफ्ना नेताहरूका अक्षम्य गल्तीहरूलाई छोपछाप गर्न हनुमानगिरि गरिन्छ? जस्तो– किन आफ्ना कार्यकर्तालाई प्रधानमन्त्री स्वयं अरिंगालजस्तो हुन उक्साउँछन्? के कम्युनिस्ट पार्टीमा हुर्कंर्दो बेइमानीविरुद्ध बोल्ने कार्यकर्ताहरू सकिए? कुरा स्पष्ट छ, कम्युनिस्टहरूमा एक्टिभिजम सकियो। त्यहाँ गुट, गुटका ठेकेदार र ‘एस म्यान’हरू धेरै छन्।

सबै परिदृष्यको सार निस्किन्छ, नेतागिरि हुर्कंदो छ। लोकतन्त्र मर्दो छ। राजनीतिक मूल्य, मान्यता र सिद्धान्तमा डरलाग्दो स्खलन हुँदैछ। तर, यति चर्को राजनीतिक पतनमा पनि कहींकतै कार्यकर्ताको असन्तुष्टि सुनिँदैन। कुनै पार्टीका बुद्धिजीवी बोल्दैनन्। यस्तो लाग्छ सबै ठीकठाक चल्दै छ। यसभन्दा खतरनाक कुरा के हुन्छ?

नांगो बादशाहको मिथ राजनीतिमा निकै चर्चित छ। त्यो एन्डरसनको कथा हो। यता हाम्रा बादशाहहरू पनि नांगै छन्। केपी, प्रचण्ड र शेरबहादुरलगायत साना–ठूला मठाधीशहरूको निर्लज्जताले भन्छ, उनीहरूसँग ‘लुकाउने लाज’ बाँकी छैन। यस्तो बेला नेताहरूलाई निर्लज्जताको ज्ञान दिने कार्यकर्ताहरूले हो। तर, सत्य बोल्ने कार्यकर्ता कतै देखिँदैनन्। उल्टो हाम्रा कार्यकर्ताहरू नेताहरूको शरम छोपछाप गर्छन्। त्यसैले होला, ओली प्रधानमन्त्री बनेको ६ महिना बितिसक्यो, उनका अनुचरहरू अझै माला–खादा बोकेर बधाइ साटिरहेका छन्। सोध्नुपर्ने प्रश्न एउटा छ, कार्यकर्ताहरू बोल्छन् अर्कै। गर्नुपर्ने कुरा एउटा छ, कार्यकर्ताहरू गर्छन् अर्कै।

मान्छेहरू विश्वास गर्थे, राजनीतिलाई युवाले सपार्लान्। तर, पार्टीका युवा नेताहरू किन चुपचाप? किन शान्त? यत्रतत्र राजनीतिको रंग उड्दैछ, यसलाई सुन्दर रंगले सजाउँछ कसले? यदि हाम्रा पार्टीहरूमा एक्टिभिस्ट हुन्थे त उनीहरू बोल्ने थिए। नेताहरू अगाडि औंला उठाएर विसंगतिको जवाफ माग्ने थिए। तथ्यहरू देखाउने थिए। बहकिने थिएनन्। किनभने, एक्टिभिस्ट चुप बस्दैन। एक्टिभिस्ट ‘एस् म्यान’ होइन। एक्टिभिस्टले स्वचिन्तन र विश्लेषण गर्छ। एक्टिभिस्ट आलोचनात्मक हुन्छ। उसले आफ्नो मूल्य र मान्यतामा कहिल्यै सम्झौता गर्दैन।

एक्टिभिस्ट को हो? एक्टिभिस्ट त्यस्तो ऊर्जा हो, जो आफ्नो कामको विषयमा जानकार हुन्छ। ऊ आफ्नो मिसनमा अडिग रहन्छ। ऊ न त नेताहरूसँग लहसिन्छ, न त झगडा मात्र गरिरहन्छ। एक्टिभिस्ट ‘क्रिटिकल’ हुन्छ। असल एक्टिभिस्टले राजनीतिलाई जीवन र जगतको समृद्धिका लागि प्रयोग गर्छ। ऊ सत्य बोल्छ। आफूलाई गलत घटनाहरूसँग समपर्ण गर्दैन। बरु खराबीहरूलाई अस्वीकार गर्छ।

किनभने उसलाई थाहा हुन्छ, राजनीति साधन हो। पार्टी साधन हो। साधन नै थोत्रो र खिया परेको छ भने त्यो काम लाग्दैन। त्यसले मुलुकको नेतृत्व गर्दैन। एक्टिभिस्टले न त केन्द्रवादलाई स्वीकार गर्छ, न त व्यक्तिको अति वर्चश्वलाई नै। एक्टिभिस्टले नेताहरूको बोली र व्यवहारको निगरानी गर्छ। राजनीतिक एक्टिभिजम केन्द्रवादको विपक्षमा हुन्छ। ऊ प्राधिकारको बायाँतिर बस्छ। व्यक्तिको गतिशीलतालाई नियन्त्रण गर्ने प्राधिकार एक्टिभिस्टले कसैगरी स्वीकार गर्दैन। नेताहरूको देवत्वकरणको विपक्षमा उभिनु र राजनीतिलाई मानवीयकरण गर्नु एक्टिभिस्टको मुख्य काम हो।

हामी सबैलाई थाहा छ, परिवर्तनका लागि गतिशील राजनीति आजको आवश्यकता हो। राजनीति यस्तो होस्, जसले नयाँ समाजको पूर्वसंकेत गरोस्। राजनीतिको काम सरकार चलाउनु मात्र होइन। सरकार त हिजो राजाहरूले पनि बनाएकै हुन्। राजनीति जीवनपद्दतिलाई समृद्ध गर्ने सर्वोत्तम कार्य हो। यसर्थ नै राजनीतिमा मूल्य–मान्यताको महत्व हुन्छ।

सामाजिक र व्यक्तिगत मूल्यहरूको पुनःस्थापना र समृद्धिभन्दा राजनीति टाढा हुँदैन। राजनीतिक पार्टीहरू स्थापना गर्नु यस्तो साधनको निर्माण गर्नु हो, जसबाट उच्च नैतिकता, सहअस्तित्व र प्रेमको संसार निर्माण गर्नु राजनीतिको अभिष्ट हो। जनता चाहन्छन्, राजनीतिले मानवीय मूल्य र यसको सर्वोच्चतालाई स्थापित गरोस्।

प्रश्न आउँछ, हाम्रा घनश्याम, योगेश, गगन, विश्वप्रकाश, प्रदीप, धनराजहरू के सोचिरहेका छन्? यी प्रतिनिधि नामहरू मात्र हुन्। पुराना दलहरूमा कृयाशील युवासँग मेरो प्रश्न छ, उनीहरू मौजुदा पार्टी प्रवृत्तिका असल (?) कार्यकर्ता हुन् कि नेपाली राजनीतिलाई दिशा, संस्कार र गरिमा दिने एक्टिभिस्ट? उनीहरू के गरिरहेका छन्, एक्टिभिजम कि समर्पण? यदि उनीहरू नेताका असल कार्यकर्ता मात्र हुन् भने भन्नु केही छैन। बुढा नेताहरू यसरी नै कोल्टे बाटो हिँड्दै जाऊन् र युवा नेताहरूले उनीहरूको शरम छोप्दै गरून्। होइन, उनीहरू राजनीतिमा सार्थक परिवर्तन चाहन्छन् भने बोलून्। बादशाह नांगै भएको कुरा निर्धक्क भनून्।

राजनीति गर्नु पार्टी चलाउनु वा दल ठूलो बनाउनु मात्र होइन। राजनीति मन्त्री बन्नु र बनाउनु मात्र पनि होइन। राजनीतिले समाजलाई बदल्ने सिद्धान्त, संरचना र कार्यक्रमहरूको निर्माण गर्छ। यस्तो अभिभारा लाचार कार्यकर्ताहरू भएको पार्टीबाट पूरा हुँदैन। हामीलाई परम्परागत परिभाषाका ज्ञानी, इमानदार, असल र भलादमी कार्यकर्ता आवश्यक छैन। हामीलाई आधुनिक, तर्कशील र आलोचनात्मक एक्टिभिस्ट चाहिन्छ। सधैं शिर झुकाएर असल बन्नुभन्दा निम्छरो कुरा के हुन्छ? त्यसैले युवा नेताहरूसँग मेरो प्रस्ताव छ, ‘एक्टिभिजम’ गरौं।
dahal.keshab@gmail.com
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।