इटहरी- एउटै नगरपालीकाको एक वडाबाट अर्को वडामा सामान ओसारपसार गर्दा निकासी कर लाग्छ भन्दा धेरैलाइ अचम्म लाग्न सक्छ ।
सुनसरीको बराहक्षेत्रमा यहि अचम्मको नियम छ । जहाँ एक वडाबाट अर्को वडामा निकासी कर तिर्नुपर्छ । र, स्थानियले त्यसै अनुसार कर तिर्दै आएका छन ।
हालसालै बराहक्षेत्रका स्थानिय सत्यनारायण मन्डलले एक हल गोरु किने । आफूले किनेका गोरुको पनि उनले निकासी कर तिर्नपर्याे । उनले एक हल गोरुको ३० रुपैयाँ निकासी कर तिरे । उनले तीन नम्बर वडामा किनेको गोरु वडा नम्बर एघारमा लाँदा यति रकमको निकासी कर तिरेका हुन ।
मन्डल मात्रै हैन अन्य स्थानियहरुले समेत एक अर्काे वडामा निकासी गरेको कर तिर्दै आएका छन । नियमित एकै नगरपालीका भित्र पनि वडागत कर तिर्नेमा नगरपालीकाको वडा नम्बर २ का रहेको चतराबाट वडा नम्बर ११ मा रहेको मधुवनमा हटियामा सामान बेच्ने व्यापारीहरु धेरै छन ।
यसरी एक वडाबाट अर्को वडामा निकासी कर लिने बारेमा नगरपालीकाले यहि बर्षको श्रावण १५ गते सार्वजनिक सूचना जारि गरेको थियो । नगरपालीकाले धरानको ब्लास्ट टाइम्स दैनिकमा उक्त दिन गरेको ठेक्का नम्बर ६ मा यस्तो सूचना गरिएको छ । जस अनुसार बराहक्षेत्र नगरपालीकाको एक वडा बाट अर्को वडमा निकासी गरेको कर लिने ठेक्का समेत दिइएको छ ।
वडा नम्बर ९ र १० बाहेक अरु सबै वडामा एक वडाबाट अर्को वडामा लाने सामानमा निकासि कर लिँदै आइएको छ । ९ र १० वडामा मात्रै किन नलिनुमा त्यि दुवै वडा साबिको प्रकाशपुर गाबिस भएकोले नलिएको नगरपालीका श्रोतको तर्क छ ।
निकासी कर ५ रुपैयाँदेखी ५ सयसम्म
इनरुवाको बिन्दाबासिनि कन्स्ट्रक्सन प्रालिलाइ निकासि शुल्क उठाउन ४५ हजारमा ठेक्का दिइएको छ । र ठेकेदार सोनु चन्द्रबंशिले निकासी कर असुल्दै आएका छन । वडागत कर लिन नहुने कुरा आएपनि ठेक्का खुलेकाले आफूले ठेक्का भरेको चन्द्रबंशीले बताए । उनले भने, 'मान्छेले कर लिएकोमा सराप्छन । तर, मैले ठेक्का नलिएको भएपनि अरुले त लिन्थ्यो ।'
औपचारिक ठेक्का सम्झौता अनुसार बिन्दबासीनि प्रालिले ५ रुपैयाँ देखी ५ सय सम्म लिँदै आएको छ । जस अनुसार सबैभन्दा सस्तो भेडाबाख्रामा प्रतिगोटा ५ रुपैयाँ लाग्छ भने भूजा चिउरा प्रति बोरा १० रुपैयाँ लाग्छ ।
सबैभन्दा महँगो सिसौ रुखको प्रति रुख निकासी कर ५ सय रुपैयाँ लिइन्छ । स्थानिय सरकारले निर्णय गरेको यस्तो दररेट तोकोको छ । अझ रोचक कुरा त के छ भने कृषिलाइ प्रथामिकता दिने भन्ने नगरपालीकाले कृषि उपजकै निकासी कर धेरै लिँदै आएको छ ।
वडाध्यक्ष नै निकासी करमा जानकार छैनन
एक वडा बाट अर्को वडामा समेत निकासी कर लिइएको बारेमा वडाध्यक्षहरु नै जानकारी नभएको बताउँछन । वडा नम्बर २ का अध्यक्ष हरिकृष्ण भट्टराई आफ्नै वडा भित्र नगरपालीकाले कर लिने कुरा अचम्मको भएको बताउँछन । उनी भन्छन, 'एकै नगरपालीका भित्र वडागत निकासी कर लिइएको थाहा थिएन । बल्ल जानकारी भयो । यो गलत छ ।'
वडा नम्बर ९ का अध्यक्ष दीपक लिम्बुपनि एक वडाबाट अर्को वडामा निकासी कर भएको बारेमा बेखबर भएको बताउँछन । भन्छन, 'एकै स्थानिय तहमा एक वडाबाट अर्को वडामा निकासी गरिएको कर लिइन्छ भने त्यो गलत हो । यसमा नगरपालीकाले पुनरावलोकन गर्नुपर्छ ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४