काठमाडौं- असोज ६ गते। अर्थात न्यायको भिख माग्दामाग्दै एक निर्दोषले प्राण त्याग गरेको दिन। छोराको हत्यारालार्इ कारबाहीको माग गर्दागर्दै नन्दप्रसाद अधिकारीले २०७१ साल असोज ६ गते साँझ वीरको सघन उपचार कक्ष (आइसियु) मा अन्तिम पटक सास फेरेका थिए।
गोरखाको भूजेल गाउँ–७ मा नन्दप्रसाद अधिकारीको एउटा सुन्दर सुखी परिवार थियो। मुलुकमा जारी माओवादी हिंशात्मक विद्रोहसँग अधिकारी परिवारको कुनै नाता सम्बन्ध थिएन। उनीहरु आफ्नै कर्म बन्धनमा बाँधिएका थिए र जसोतसो जीवन गुजारिरहेका थिए।
२०६१ साल १८ असारमा एसएलसीको नतिजा प्रकाशित भयो। नन्दप्रसाद र गंगामायालाई पनि छोराको नतिजा के भयो होला भन्ने कौतुहलता थियो। उनीहरु खुसी खोजिरहेका थिए। तर, एकाएक उनीहरुको जीवनमा बज्रपात भयो। हजुरबुबा भेट्न पूर्वी चितवनको जयमङ्गला गएका बेला नन्दप्रसादका छोरा कृष्णप्रसादलाई तत्कालीन माओवादीले अकारण अपहरण गरी सुराँकी गरेको आरोपमा निर्मम हत्या गर्यो।
बुझ्दै जाँदा ‘भूजेल गाउँकै कुनै कृष्णप्रसाद अधिकारी नामको व्यक्तिले माओवादीको सुराकी गरेको भन्ने रिपोर्ट आएकाले जनकारबाही गर्ने क्रममा भूलबस नन्दप्रसादका छोरा कृष्णप्रसाद अधिकारी परेको’ स्पष्टीकरण माओवादीले दियो। यसरी अनाहकमा एउटा युवा मारियो । त्यो एउटा जघन्य अपराध थियो । हत्याराहरुले सजाय पाउनैपर्थ्यो।
त्यसपछि नन्दप्रसाद र आमा गंगामाया अधिकारीले आफ्नो निर्दोष छोराको हत्यारालार्इ कारबाहीको माग गर्दै कहाँ पुगेनन्, इलाका प्रहरी कार्यालयदेखि सर्वोच्च अदालतसम्म, मानवअधिकारकर्मीदेखि नेताका दैलोसम्म। यसरी न्याय माग्न जाँदा उनले अनेक आरोप, अपमान र धम्की पनि सहनुपर्यो। हरेक दलका हरेक नेताले हत्यारालार्इ जसरी पनि कारबाही गर्ने आश्वासन पनि दिए। २०६१ सालयता १४ पटक सरकार प्रमुख फेरिए। बृहत शान्ति सम्झौता भयो। मुलुकमा संविधान जारी भयो। संघियता लागू भयो। तर, कृष्णप्रसादका हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्।
विडम्बना छोराको हत्यारालार्इ कारबाहीको माग गर्दागर्दै ३ सय ३० दिन लामो आमरण अनशनका क्रममा ५४ वर्षीय नन्दप्रसादले चार वर्षअघि संसार छोडे। नन्दप्रसादको निधन एक जीवनको अन्त्य र मुलुकको जनगणनाको तथ्याकंबाट एक नागरिकको संख्या घट्नु मात्र थिएन, उनको जीवन लिलाको समाप्तिसँगै कानुनी राज्य , विधिको शासन र न्यायमूलक समाजका नग्न उपहास थियो।
यही कारण न्याय नपाउन्जेल गंगामायाले पतिको अन्तिम संस्कार नगर्ने अडानमा छिन्। आजका मितिसम्म पनि नन्दप्रसादको शव शिक्षण अस्पतालको डिप फ्रिजमा पोको पारेर राखिएको छ। डिप फ्रिजमा नन्दप्रसादको शव सडिरहेको मात्र होइन, कानुनी राज्यको मूल्य मान्यता सडिरहेको छ, विधिको शासन र न्याय पनि सडिरहेको छ। शिक्षण अस्पतालको फ्रिजमा बरफको ढिक्का बनेका नन्दप्रसाद मात्र छैन, त्यो सँगै लोकतान्त्रिक मुलुकको मसिहा भन्नेहरुको विवेक जमेको हो, न्यायामूर्तीका कलम पनि जमेका छन्।
मृतक नन्द्रप्रसादकी पत्नी गंगामाया अधिकारी अझै पनि छोराको हत्याराको कारबाहीको माग गर्दै न्यायको भिख मागिरहेकी छिन्। सरकारले गंगामायाको अवस्था निकै कमजोर भएपछि कृष्णप्रसादको हत्याको अभियोग लागेका छविलाल पौडेललार्इ २५ असारमा अदालत उपस्थित गराउने चाँजोपाँजो मिलायो। अदालतले पनि सोही दिन उनलार्इ कारागार चलानको आदेश दियो।
त्यसको चार दिनपछि सरकारले हत्यारालार्इ कारबाही गर्ने र उनीसँग भएका सम्झौता कार्यान्वयन गर्ने लिखित प्रतिवद्धता जनाएपछि गंगामायाले २९ ,असार शुक्रबार बेलुका ६ बजे पछिल्लो पटकको ४६ दिन लामो अनसन तोडिन्। विगतमा भएको सम्झौता कार्यान्वयन भन्दै सरकारले ७ साउनमा गंगामायाको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदियो।
मुलुकको दुर्इतिहाइ बलियो सरकार, सम्झौता कार्यान्वयन गर्ने लिखित प्रतिबद्धता , आफ्नो नामको अक्षय कोषमा एक करोड जम्मा, अभियुक्त छविलाल पौडेल जेल चलान। सरकारले यति गरेपछि गंगामायालार्इ लाग्यो, अब त न्याय पाइन्छ।
तर, २४ भदौमा जिल्ला अदालत, चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गर्यो। फेरि गंगामायाको मायाको मनमा पहिरो गयो र आशाको त्यान्द्रो टुट्यो। गंगामायाको यसपल्टको आक्रोश अदालत, राज्य र केही मानवअधिकारकर्मीविरुद्ध पनि लक्षित छ। गंगामायाले भनिन्,‘अपराधीले मलाई न्याय दिएनन्, म न्यायका लागि मर्न तयार छु र सके भने यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालत पुर्याउने पनि प्रयास गरिरहन्छु।’
उनले थपिन्, 'यस देशमा न्याय दिने मानिस जन्मेको छैन। ' योसँगै उनको यसपल्टको आक्रोश अदालत, राज्य र केही मानवअधिकारवादी नेताविरुद्ध पनि लक्षित छ।
विभिन्न मानवअधिकारी संस्थाहरु एम्नेस्टी इन्टरनेशनल, नेपाल मानव अधिकार संगठन, मानव अधिकार तथा शान्ति समाज, इन्सेक, सिविनलगायतका मानव अधिकारवादी संस्थाहरुले मानवअधिकारका पक्षमा पाँचतारे होटलमा गोष्ठी, सेमिनार र कार्यशालाको आयोजना गरिरहेकै छन्। तर ती कुनै पनि समारोहमा आजभोलि गंगामाया अधिकारीको मानवअधिकार हननको मुद्दा उठ्दैन्। कुनैबेला अधिकारी दम्पतीको विषयलाई लिएर प्रधानमन्त्री निवासमा ब्यानर र प्ले कार्ड बोकेर उर्लने मानवअधिकारकर्मी पनि अचेल देखिदैनन्।
तर, गंगामायाले भने राज्यले आफूलार्इ छलेको आरोप लगाउँदै चाँडै फेरि अनसन बस्ने चेतावनी दिएकी छिन्। अब त न्यायप्रतिको विश्वास नै उडिसक्यो। जसरी न्याय माग्दै पति नन्दप्रसादले ज्यान गुमाए जसरी नै प्राण त्याग गर्न तयार रहेको दोहोर्याइन्। के गंगामायाले पनि नन्दप्रसादकै बाटो पछ्याउनु पर्ने हो ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४