बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो। एक्कासि ज्वरो आयो। निकै कडा ज्वरो। भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुःखिनी अहिले ओछ्यानमा छे। कसैको केही नबिगार्ने, सोझी र मिहिनेती दुःखिनीलाई यो असार फापेन। बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो। तर, उपचार गर्न पैसा छैन। मालिकसँग मागौं पानी नपरेर खेतमा गोरु नार्न नपाइएको महिना भयो, के देलान् र। बिल्टु गम्छ– आईमाई तगडा छे, उमेर छ, त्यसैले ज्वरोसँगको लडाईं दुःखिनीले पक्का जित्नेछे। बिल्टु आफैंलाई आश्वस्त पार्छ।
आज उसलाई खाना पकाउन पनि मन छैन, खान पनि। बरु चिन्ता दुःखिनीको छ। उसले अलिकति तातोपानी पिइदिए हुन्थ्यो। बिल्टु साँझको आकाशतिर हेर्छ। आकाश मैलो छ। ऊ सोनालाल मालिकलाई सम्झिन्छ, आफूलाई सम्झिन्छ, ज्वरोले बेहोस बनाएकी आफ्नी दुःखिनीलाई सम्झिन्छ, बाँझो खेतलाई सम्झिन्छ र लामो सास तान्छ। मनमनै विचार गर्छ, पक्का आज राति पानी पर्छ।
पूर्वी तराईमा सोनालाल अग्रहरीको आफ्नै नाम र शान छ। त्यसो त, उसको एक सय ५० बिघाजति जमिन छ। गाउँमा नाम हुन जमिन हुनैपर्छ। ऊसँग दुई वटा मिल, गाउँमै एउटा सिनेमा हल र दुई वटा काठमाडौं जाने रात्रि बस छन्। विराटनगरमा पनि घर छ। तर, सोनालाल गाउँमा बस्छ। भन्छ( गाउँलेको मायाले समातेको छ।
हुन त, गाउँलेको माया उसलाई कति लाग्छ थाहा छैन तर जब पानी पर्छ र खेतमा रोपाईं शुरु हुन्छ, तब ऊ गरिब मुसहरहरूको खुब माया गर्छ। मंसिरमा मायाको भकारी रितिन्छ। त्यसपछि उसको मुखबाट गाली मात्र झर्न थाल्छ। उसका हरेक गालीलाई सलाम गर्नुबाहेक बिल्टुहरूसँग कुनै उपाय हुँदैन।
बिल्टु सोनालाल मालिकको खेत जोत्छ। यो बिल्टुको पुस्त्यौनी जागिर हो।
बिल्टुको फुसको झुप्रोमाथि आकाशमा आज हलचल छ। तर, झुप्रोभित्रको अँध्यारोमा ज्वरोले थलिएकी दुःखिनी भर्खर निदाएकी छे। बिल्टुलाई भने निन्द्रा पटक्कै छैन। ऊ बाहिर निस्किन्छ। आकाशमा बादलको गति विचार गर्छ। जूनको उज्यालोमा पश्चिम(उत्तरको पर्वतमालामा बादलका काला पत्रहरू वेगले पूर्वतिर हान्निँदैछन्।
बिल्टु एकछिन बादल र त्यसको रंग नियालिरहन्छ। आजको बादल केही ताजा, चिसो, भारी र सजीव देखिन्छ। बिल्टु छड्के आँखाले बादलभित्रको जीवन ठम्याउँछ। आकाशको हलचलले बिल्टुको लुलो ज्यानमा जीवनको ऊर्जा सञ्चार गर्छ।
भित्र ज्वरोले अर्धचेत भएकी दुःखिनी विस्तारै घुर्दैछे। बिल्टुलाई आफ्नी जहानको अनुहार हेर्न मन लाग्छ। ऊ नजिकै जान्छ र अँध्यारोमा दुःखिनीको अनुहार छाम्छ। शायद निन्द्रामै आफ्नो श्रीमानको अनुभव उसलाई भयो, ऊ घुर्न छोड्छे।
कतै देउरालीमा सिरसिर हावा चलेजस्तो स्वासको धिमा गति मात्र सुनिन्छ। त्यहीबेला आकाश गर्जिन्छ। हावाको झोंका फुसको छानोमा ठोकिन्छ र पानी छिट्टयाएको सुनिन्छ। पानीसँगै बिल्टुका पीडाहरू गायब हुन्छन् र सयौं दमित इच्छा ब्युँझिएर आउँछन्। उसका सपनाहरू ब्युँझिन्छन्। बिल्टु खुशीले श्रीमतीलाई अँगालो हाल्छ। तर, ज्वरोले तातेको दुःखिनीको अनुहारमा स्पर्श हुनासाथ बिल्टुका सबै आवेग सेलाउँछन्। बिल्टुको मन सीधा आकाशतिर उड्छ। आकाशमा ऊ र दुःखिनी सँगै उड्छन्।
भख्खर वैशाख लाग्दै थियो र तराईमा सिरुवाको रमझम थियो। आजभन्दा १३ वर्ष अगाडि उसले दुःखिनीलाई देखेथ्यो। कालो अनुहारमा टल्किएका सेता दाँतका लहर, ठूला आँखा, सस्तो लिपिस्टिकले रंगिएका पोटिला ओठ र निलोमा रातो बुट्टा भएको कुर्ता सुरुवाल। त्यो रात ऊ कसैगरी निदाउन सकेन। उसलाई पहिलो नजरमै प्रेम भयो।
त्यसको तीन दिनपछि उनीहरूले दोस्रो भेट गरे। तेस्रो भेटमा उनीहरूले सिनेमा हेरे। ती सबै क्षण सपनाजस्तै थिए। सिनेमा हेरेर बाहिर निस्किँदा रात छिप्पिँदै थियो। उसले पहिलोचोटी दुःखिनीको हात समायो। त्यसको सातादिनपछि उनीहरूले भागेर विवाह गरे। कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै एक्लो बिल्टुले आफ्नी दुःखिनीलाई भगायो।