शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • रघुवीर र मातृकाको सम्पत्ति छानबिन गर्न रामचन्द्रले किन माग गरे?

रघुवीर र मातृकाको सम्पत्ति छानबिन गर्न रामचन्द्रले किन माग गरे?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- मधेशमा रामचन्द्र झा कम्युनिस्ट राजनीतिमा राम्रै पकड भएका नेता मानिन्छन्। केन्द्रीय राजनीतिमा पनि उनको पहुँच बलियो छ। तत्कालीन नेकपा एमालेका पोलिटब्युरो सदस्य रहेको बेला झा पार्टी परित्याग गरेर माओवादीमा प्रवेश गरेका थिए। एमालेले मधेशप्रति राम्रो भावना नराखेको आरोप लगाउँदै माओवादीमा प्रवेश गरेका थिए, झा।

माओवादीकै टिकटबाट झा धनुषामा दोस्रो संविधानसभा निर्वाचनमा चुनाव लडे। तर, टिकट नपाएपछि आफ्नै आफ्नै पार्टीबाट बागी उम्मेदवारी दिएका श्रवण बरबरियाले उनलाई चुनौती दिए। झा र बरबरियाको प्रतिस्पर्धामा नेपाली कांग्रेसका दिनेश प्रसैला विजयी भएका थिए। 

समयक्रमसँगै माओवादीप्रति पनि झाको असन्तुष्टी बढ्दै गयो। र, माओवादी परित्याग गरेर झा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिपार्टीमा प्रवेश गरे। भट्टराईले उनलाई पार्टीको सहसंयोजक बनाए। तर, झा नयाँ शक्ति पार्टीमा पनि धेरै दिन टिक्न सकेनन्। उनी पुनः माओवादी केन्द्रमा प्रवेश गरे। माओवादी केन्द्र र एमाले एकीकरण भइसकेपछि झा अहिले नेकपाका केन्द्रीय सदस्य छन्।

त्यसैगरी तत्कालीन माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन, मातृका यादव। विगतमा जनयुद्धको भावना बिसाएर सत्ता केन्द्रित भएको पार्टी अध्यक्ष प्रचण्डमाथि आरोप लगाउँदै मातृकाले पार्टी परित्याग गरे। र, आफ्नो छुट्टै पार्टी निर्माण गरे। प्रचण्डले एकीकृत नेकपा माओवादी पार्टी बनाएको भन्दै मातृकाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई पुनर्गठित गरेको दाबा गरेका थिए। तर, उनी पुनः प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रमा प्रवेश गरे। मातृका अहिले नेकपाका स्थायी समिति सदस्य र सरकारमा आपूर्ति मन्त्री छन्।

शुरुदेखि एमालेको राजनीति गर्दै आएका छन्, रघुवीर महासेठ। नेपाली कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै धनुषा निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी प्रतिनिधिसभामा निर्वाचित भएका छन्। रघुवीर अहिले नेकपाका स्थायी समिति सदस्य र सरकारमा भौतिक पूर्वाधार मन्त्री हुन्।

रामचन्द्र, मातृका र रघुवीर तीनैजना एकै पार्टीका नेता रहेपनि आपसी तालमेलको सवालमा फरक देखिन्छन्। मातृका र रघुवीरको तालमेल मिलेपनि रामचन्द्र भने उनीहरुको विपरित धुव्रमा हिँड्ने गरेको नेकपाका नेताहरु नै बताउँछन् । नेकपाका एक नेताले भने,‘मातृकाजी र रघुवीरजीको राम्रै तालमेल हुन्छ। तर, उहाँहरुसँग झाजीको तालमेल कहिल्यै मिलेन।’

र, यसलाई पुष्टी गरेको छ शहीद सूर्यनाथ रानको स्मृतिसभामा रामचन्द्रको सम्बोधनले। धनुषाको शहीदनगर नगरपालिकामा बिहीबार शहीद सूर्यनाथको स्मृतिसभा आयोजना गरिएको थियो । सभामा सम्बोधन गर्दै नेकपा नेता रामचन्द्रले आफ्नै पार्टीबाट मन्त्री बनेका मातृका र रघुवीरको सम्पत्ति छानविन गर्न माग गरे।

मातृका र रघुवीरले अवैध ढंगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सरकारले उनीहरुको सम्पत्ति छानविन गर्नुपर्ने रामचन्द्रले बताए । शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथि रहेको कार्यक्रममा नेकपा नेता रामचन्द्रले मातृका र रघुवीरका कारण पार्टीको छवि नै बिग्रिन थालेको आरोप लगाए। दुवै जनाप्रति आक्रोशित देखिएका रामचन्द्रले मातृकाको पैतृक सम्पत्ति २ कठ्ठा जग्गा र रघुवीरको पैतृक सम्पत्ति ४ कठ्ठा जग्गामात्र रहेको दाबी गरे ।

‘दुबैजनाले अकुत सम्पत्ति आर्जन गरेका छन्,’ उनले भने,‘त्यति कम पैतृक सम्पत्ति भएको व्यक्तिले काठमाण्डौंलगायत विभिन्न स्थानमा अर्बौको सम्पत्ति कसरी आर्जन गरे ? सरकारले छानविन गर्नु पर्‍यो।’

‘मातृका तीन र रघुवीर दुई पटक मन्त्री बनेका छन्,’ रामचन्द्रले भने,‘सम्पत्ति शुद्धिकरण आयोगले दुबैजनाको सम्पत्ति निष्पक्ष रुपमा छानविन गर्नु पर्दछ र अवैध सम्पत्ति थुपार्नेमाथि पार्टीले पनि कारवाहीको प्रक्रिया सहज बनाइदिनु पर्दछ।’

प्रदेश २ का नेकपाक सांसद रामचन्द्र मण्डलले कम्युनिस्टको सिद्धान्ततः व्यक्तिगत सम्पत्तिलाई महत्व नदिई व्यक्तिगत स्वार्थ त्याग गर्नुपर्ने भएपनि परिस्थिति विपरित हुँदै गएको बताउँछन् । कम्युनिस्टको सिद्धान्त र व्यवहारमा तार्तम्य नभई विगतको बुर्जवा आचरण देखिन थालिएको उनको प्रतिक्रिया थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।