शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतले फर्काएन पत्रको जवाफ, वडाध्यक्षलाई नै छैन सरकारी टोलीप्रति विश्वास

भारतले फर्काएन पत्रको जवाफ, वडाध्यक्षलाई नै छैन सरकारी टोलीप्रति विश्वास

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था दुई साता बितिसक्दा पनि अज्ञात नै छ।
 |  मंगलबार, साउन २६, २०७८

अंगद सिंह

अंगद सिंह

मंगलबार, साउन २६, २०७८

काठमाडौं– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था दुई साता बितिसक्दा पनि अज्ञात नै छ। 

triton college

घटनाको स्थलगत अध्ययन तथा छानबिन गर्न गएको टोली फिर्ता भएको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली दार्चुलामा ८ दिन बसेको थियो। बेपत्ता धामीको परिवार, स्थानीय तथा सरोकारवाला निकायसँग भेटघाट र छलफल गरेर अनुगमन टोली काठमाडौं फर्किएको जिल्ला प्रशासन कार्यालय दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता ज्योत्सना भट्टले जानकारी दिइन्।

‘बेपत्ता धामीको घरपरिवार आफन्त, सरोेकारवाला निकाय र भारत तथा नेपालतर्फको महाकाली तटीय क्षेत्रमा खोजलतास गरेर टोली फर्किएको छ,’ उनले भनिन्, ‘जिल्ला प्रशासन कार्यालय बेपत्ता धामी खोज्न लागिपरेकोे छ।’

गृह मन्त्रालयको छानबिन टोलीले बेपत्ता धामी खोज्नका लागि बैतडी, डडेल्धुरा तथा कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा निरीक्षण पनि गरेको छानबिन समितिकी सदस्य समेत रहेकी भट्टले बताइन्।

बेपत्ता धामीको १२ दिनसम्म पनि पत्ता नलाग्दा जिल्ला प्रशासन कार्यालय दार्चुलाले धामीकोे खोजीका लागि भारतीय पक्षलाई समन्वय गरिदिन पत्राचार गरेको छ। भारतीय सीमा सुरक्षा बल तथा भारतीय पक्षले आफूले तुइन नफुत्काएको दाबी गरिरहेको भए पनि छानबिनका लागि भने सहयोेग नै गरेको छैन।

corrent noodles
Metro Mart

‘१२ दिनसम्म्म पनि धामीको पत्ता नलागेका कारण भारतीय सीमातर्फ खोजीका लागि सहयोेग गर्न पत्र पठाएका थियौं, तर त्यसकोे जवाफ नै आएकोे छैन,’ उनले भनिन्।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षीलाई धामीको खोजी गर्न सहयोग गरिदिन पत्र काटेको मंगलबार तीन दिन भइसकेको छ। तर भारतीय पक्षले यसको कुनै जवाफ नैै दिएकोे छैन।

नेपाल–भारत दुवैतर्फ महाकाली नदी किनारमा बेपत्ता धामीलाई खोज्न ड्रोेनकोे प्रयोग गर्दा सहज हुने र पत्ता लाग्न सक्ने भन्दै प्रशासनले भारतलाई पत्र पठाएको थियो।

भारतले घटनामाथि कुनै चासो नदेखाउँदा र पत्रको पनि जवाफ नफर्काउँदा नेपालतर्फको नदी किनारमै भए पनि ड्रोनको माध्यमबाट बेपत्ता धामीको खोजी गरिने भएको छ। धामीको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी अहिले पनि लागिरहेको छ। खोजीका लागि प्रहरी प्रधान कार्यालयले विशेष प्राविधिक टोली दार्चुला पठाएको छ।

प्रत्यक्षदर्शी कल्याणसिंह धामीलगायत अन्य दुई जनाले एसएसबीले तुइन फुत्काएकै कारण जयसिंह महाकालीमा खसेकोे बयान दिएका छन्। प्रत्यक्षदर्शीले गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई तुइन फुत्काएको आफ्नै आँखाले प्रत्यक्ष देखेको बताएका छन्। 

तुइन फुत्काइएको क्षेत्र मालघाट–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीलाई भने न्याय पाउनेमा शंका छ। ’भारतीय पक्षले घटना दबाउन खोजिरहेकोे छ। एसएसबीले गम्भीर अपराध गरेकोे छ। गल्ती गरेकै कारण सहयोग गर्न लेखिएको पत्रको जवाफसमेत फर्काएको छैन,’ उनले भने।

जयसिंह धामीको घटनापछि व्यासबासीलाई सदरमुकाम जान निकै कठिन भएको उनले बताएका छन्। ‘स्थानीय त्रसित बनेका छन्। तुइन नतरी गुजारा हुँदैन, भारतले तुइनलाई अवैध मानिरहेकोे छ,’ उनले सुनाए।

भारतीय पक्षबाट प्रत्यक्षदर्शीलाई फोन गरेर ज्यान मार्ने धम्की आइरहेको वडाध्यक्ष बुढाथोकीले बताए। ‘उनीहरुलाई ज्यानको माया छ कि छैन, फेरि भारतकोे बाटो हिँड्नु छ कि छैन भनेर बयान फेर्न तारन्तार फोन आइरहेका छन्,’ उनले भने। स्थानीयले वडाध्यक्षकै रोहवरमा मुचुल्का उठाई जयसिंह धामीलाई न्याय दिलाउनुपर्ने माग राखेका छन्।

गृह मन्त्रालयको टोली धामीको घरमा पुगेको र घटनाकोे छानबिन गरी न्याय दिलाउने प्रतिवद्धता गरेको भए पनि वडाध्यक्ष बुढाथोकी र धामीकोे परिवारलाई भने विश्वास लागेको छैन।

‘नेपाल सरकार न सीमा सुरक्षाको मामिलाका संवेदनशील बनेको छ, न त व्यासबासीका पीडामा। न्याय पाइएला कि भन्ने आश के छ र खै?’ बुढाथोकीले भने।

एसएसबीले तुइन फुत्काएको आफूले प्रत्यक्ष नदेखेको भए पनि उनीहरुबाट बारम्बार यस्ता कार्यहरु भइरहेका कारण आफू एसएसबीले नै तुइन फुत्काएकोमा विश्वस्त रहेकोे उनकोे भनाइ छ।

महाकालीमा बेपत्ता भएका धामीसँगै रहेका अन्य दुई जना प्रत्यक्षदर्शीले आफ्नै आँखाले तुइन फुत्काएको बयान दिएकोे र बयान फेर्न बारम्बार धम्की आइरहेकाले पनि भारतीय पक्षले अपराध गरेकोे उनी बताउँछन्।

साउन १५ गते एसएसबीले दार्चुला व्यास गाउँपालिका–२ स्थित मालघाटमा जयसिंह धामी तुइन तर्ने क्रममा एसएसबीले तुइन फुत्काउँदा महाकालीमा खसेर बेपत्ता भएका थिए।

सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिएको छ। साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ। तर समितिले अझै काम सकेको छैन।

धामीको परिवारले उनको अवस्था अज्ञात रहँदा नदीमा खसेकै स्थान मालघाटमा कुशको शव बनाई अन्तिम संस्कार गरिसकेको छ।


प्रकाशित: Aug 10, 2021| 13:49 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।