बिहीबार, वैशाख ६, २०८१

'हामीसँग क्रिम टिम अनि स्पष्ट भिजन छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
नेपाल निर्माण व्यवसायी महासंघको २० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी हुन्, हुमनाथ (एचएन) कोइराला । निर्माण व्यवसाय क्षेत्रमा उनको आफ्नै पहिचान छ । बिकोई बिल्डर्स प्रालि र इलामको सिद्धदेवी टी स्टेटका प्रबन्ध निर्देशक हुन्, उनी। उनले पुल्चोक क्याम्पसबाट डिप्लोमा इन्जिनियरिङ गरेका हुन् । र, एमबीएसम्मको अध्ययन पनि गरेका छन् । सडक विभागमा १३/१४ वर्ष टेक्निकल इन्जिनियर भएर काम गरे । निर्माण क्षेत्रमा ०५१ सालदेखि लागेका हुन् । निर्माण क्षेत्रमा उनको झन्डै चार दसक लामो अविछिन्न अनुभव छ । प्रस्तुत छ उनीसँग नेपाल समयका लागि पृथराज थेगिमले गरेको संवाद :

तपाईंका चुनावी एजेन्डा के छन् ?

हिमाल पहाड तराई, कोही छैन पराई मेरो एजेन्डा छ । जय जय निर्माण व्यवसायी भनेको छु । महासंघमा विकृति आएको छ । त्यसैले सबै मिलेर अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

१२ हजार पाँच सय निर्माण व्यवसायीहरूको हकहितमा काम गर्छु । यही नारा अघि सारेको छु । देशलाई समृद्ध बनाउनमा निर्माण व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ । करिब तीन करोड नेपालीको हकहितका लागि काम गर्ने र समयमै सम्पन्न गर्ने योजना छ । सोही इच्छा राखेर निर्माण व्यवसायीको नेतृत्व लिन खोजेको हुँ ।

तपाईंलाई नै जिताउनुपर्ने कारण के हो ?

महासंघको अध्यक्षमा ६ जना प्रतिस्पर्धी छौं । त्यसमा दुई जना पूर्वअध्यक्ष, एक जना वर्तमान अध्यक्ष, बाँकी हामी तीन जना छौं । दुई जनाले महासंघमा झण्डै २८ वर्ष काम गरिसक्नुभएको छ । उहाँहरूले १/१, २/२ कार्यकाल बिताइसक्नुभएको छ । अरू बाहिरका प्रतिस्पर्धीले पनि २०/२२ वर्ष काम गरिसकेका छौं भनेका छन् । मेरो उहाँहरूलाई प्रश्न छ, त्यत्रो वर्ष महासंघमा बसेर के गर्नुभयो ?

कुनै राम्रो काम गर्नु भएको भए त्यत्रो वर्ष नै लाग्दैनथ्यो । त्यसकारण मैले उहाँहरूलाई सफल मान्न सकिनँ । अहिले देश समस्यामा छ । संविधान संशोधन गर्नुपर्ने माग उठिरहेको छ । ठूला दल नै समस्यामा छन् । भनेपछि महासंघ पनि समस्यामा पर्ने नै भयो ।

अरू प्रतिस्पर्धीभन्दा तपाईलाई आफू बलियो/सान्दर्भिक कसरी ठान्नुहुन्छ?

मसँग भिजन, मिसन र एक्सन छ । त्यसलाई कार्यान्वयन गर्ने योजना छ । यो नै अहिलेको सबैभन्दा ठूलो मुद्दा हो । नियम, कानून राम्रो ल्याएर मात्रै हुँदैन । हाम्रो संविधान सबैभन्दा राम्रो भनेर मात्रै हुँदैन । त्यसलाई व्यवहारमा कार्यान्वयन गरेपछि मात्रै उत्कृष्ट हुने हो । नियम, कानून ल्याएर कार्यान्वयन गर्ने पहिलो कुरा हो ।

महासंघमा २८/२८ वर्ष काम गरेका साथीहरूले अवकाश लिने बेला आएको छ । अब हामी नयाँसित धेरै योजना छन् । त्यो मात्रै होइन, त्यसलाई कसरी कार्यान्वयन गर्ने पनि योजना छ हाम्रो टिमसँग । यो टिमलाई २/४ वर्षअघि नै महासंघमा किन ल्याइएन भन्ने हिसाबले काम गर्ने योजना हामीले बनाएका छौं ।

हाम्रो टिममा लोभी-पापी कोही छैन । त्यो भनेको काम गर्न प्रतिबद्ध भएर आउने हो । हामी 'कमिटेड' छौं । त्यसैले काम गर्छौं । यो चुनाव जितेर फाइलमा थन्काएर राख्ने एजेन्डा होइन, कार्यान्वयन गर्ने एजेन्डा हो ।
 
मेरा चुनावी एजेन्डा हुन्- 'हिमाल पहाड तराई, कोही छैन पराई । जय जय निर्माण व्यवसायी । सबैलाई काम, सबैलाई माम ।'

चुनाव जित्नुभयो भने के-के गर्नुहुन्छ ?

हाम्रो टिमको एजेन्डा छ । त्यसबाहेक राम्रा प्रतिस्पर्धीका राम्रा एजेन्डा र हाम्रा अग्रजहरूका राम्रा एजेन्डालाई पनि समेट्नेछौं । अग्रजहरूको गाइडलाइन मानेर अगाडि बढ्छौं ।

हाम्रोमा एक जना अध्यक्ष भयो उसले अन्य पदाधिकारीलाई समेटेर नलाने अभ्यास भइरहेको देखेको छु । अहिले भएको कार्यसमितिको टिममा अध्यक्षको अधिकार छ, अरू कसैको अधिकार छैन भनिरहेका छन् ।

तर, मेरो टिममा वरिष्ठ, महासचिव र सदस्यहरूलाई के अधिकार दिने भन्ने स्पष्ट गरेर अगाडि बढ्नेछौं । विधान र अध्यक्षमा भएका अधिकार विकेन्द्रीकरण गर्न चाहन्छु । र, आफ्ना अधिकार विकेन्द्रित गरेर सबैलाई समेटी अगाडि बढ्नेछु ।

त्यसपछि म 'वाचडग'को भूमिकामा रहन्छु । जितेपछिको सय दिनको योजना अगाडि सारेर काम थाल्छौं ।

गुणस्तरीय काम किन हुँदैन ? काम गरेको पाँच दिनमा किन भत्किन्छ ? यस्ता विषयमा नेपाली जनता, पत्रकार, राजनीतिज्ञहरूमाझ पुर्याउन चाहन्छु । निर्माण व्यवसायलाई जहिले पनि गाली गर्ने, थुन्ने, कमसल काम गरेको आरोप किन आउँछ ? भएको के हो भन्ने विषयसमेत सबैमाझ स्पष्ट पार्न चाहन्छु ।

अहिले कसैसँग धेरै, कसैसँग काम नै छैन । मेरो टिमले जित्यो भने 'सबैलाई काम सबैलाई माम' भन्ने अवधारणाअनुसार अघि बढ्नेछौं । त्यो त काम दिनेले होस पुर्याउनुपर्यो नि ।

काम नहुने, गुणस्तरीय नहुने अनि चाँडै भत्किनेजस्ता विषयमा कानून परिमार्जन गर्ने जरुरी पत्ता लगाउनुपर्छ । यसमा निर्माण व्यवसायको मात्रै होइन, सरकार, कानून र राजनीतिज्ञहरूको पनि दोष छ भन्ने सबैले थाहा पाउनु जरुरी छ । वास्तविकता जनसमक्ष आउनुपर्छ ।

अहिले १५ प्रतिशतभन्दा घटी भएमा एक्स्ट्रा ग्यारेन्टी राख्ने भन्ने छ । निर्माण व्यवसायीहरूले फौजदारी कानून भनी १० वर्ष थुनिनुपर्ने कानून ल्याइएको छ । संसारमा कहीं नभएका कानूनहरू सरकारले ल्याएको छ ।

यसमा व्यापक छलफल गरेर निर्माणमैत्री बनाउने योजना छ । मेरो तीन वर्षे कार्यकालमा समयमै काम सम्पन्न भयो, निर्माण व्यवसायले राम्रो काम गर्यो भन्ने समाचार आओस् भन्ने मेरो सोच हो ।

चुनाव आफैंले जित्छु भन्ने आधारहरू के-के देख्नुभएको छ ?


हामी प्रतिस्पर्धीमध्ये जित्ने एक जनाले हो । म नयाँ छु, अन्टेस्टेड छु । मेरो भिजन, मिसन, एक्सन कार्यान्वयन गर्ने योजना छ । युवा छु । साथै, म मेरो मनले मात्रै उठेको होइन, सबै साथीको अनुरोधका कारणले उठेको हो ।

अहिले निर्माण व्यवसायीहरू पारदर्शी र जवाफदेही नभएकोलगायत आरोपहरू आइरहेका छन् । तपाईंले नेतृत्व गर्नुभयो भने कसरी अगाडि बढाउनुहुन्छ ?

पारदर्शी भनेको कानून नै हो । कानून ल्याएर मात्रै भएन, त्यसलाई कार्यान्वयन गर्नुपर्यो । निर्माण व्यवसायीहरूलाई पनि उत्तरदायी बनाउनुपर्यो । काम गरेन गल्ती गर्यो भने कारवाहीको दायरामा ल्याउनुपर्यो । सरकार र कर्मचारीहरूले नियम, कानूनलाई अभ्यासमा ल्याउनुपर्यो ।

ठेकेदारहरूले काम शुरु गर्छ तर बीचमा आएर अड्किन्छ । ठेक्कापट्टालाई व्यवसायभन्दा पनि धन्दाको रूपमा आम सर्वसाधारणले लिने गरेको देखिन्छ । यस्ता धारणालाई परिवर्तन गर्न तपाईंको के योगदान हुन्छ ?

सर्वप्रथम निर्माण सामग्रीको स्रोत तय गर्नुपर्छ । जस्तो- काठमाडाै मा निर्माणको काम गर्दा निर्माण सामग्री कहाँबाट ल्याउने भन्ने शुरुमै निश्चित गर्नुपर्छ ।

निर्माण व्यवसायीलाई आवश्यक भनेको ढुंगा, माटो, सिमेन्ट, डन्डी, बालुवालगायत हुन् । नेपाल सरकारले तोकिदिनुपर्यो ढुंगा, माटोलगायत सामग्री कहाँबाट ल्याउने भनेर ।

काम शुरु हुन्छ अनि हामीले स्रोतका रूपमा महादेवबेंसी, लेले, मेलम्ची या भकुन्डेबेंसीलाई मान्छौं । हाम्रो स्रोत भनेका यिनै केही स्थान हुन् । यदि ती स्थानमा निर्माण सामग्रीहरू पाइएन भने के गर्ने ? यदि महादेवबेंसीबाट गिटी, बालुवा ल्याउनुपर्यो भने के हुन्छ ? व्यवसायीहरूले महादेवबेंसीबाट सामान ल्याउँछु भनेर शुरुमा टेन्डर हालेको हुन्छ । कोत्रेबाट ल्याउनु पर्दा उक्त ढुवानीको पैसा कसले दिन्छ ? किन घर, घडेरी बेचेर काम गर्छ ? यही हो नियम, कानूनको कुरा ।

त्यसैले पहिले निर्माण सामग्रीको स्रोत स्पष्ट हुनुपर्छ । त्यसरी टाढाबाट ल्याउँदा किन त्यसको अख्तियारी दिइस् भनेर कर्मचारीलाई अख्तियारले तान्छ । यो बहस गर्ने विषय हो ।

काम गर्नलाई पर्याप्त निर्माण सामग्री हुनुपर्यो । हामीलाई चौबीसै घण्टा खोलानाला खुला हुनुपर्योे । सरकारले त्यहाँ मेसिन प्रयोग गर्न नदिने भन्छ । के डोको, टोकरी र थुन्से बोकेर काम गर्ने ?

हामीले जसरी बाहिरबाट ढुंगा, बालुवा, गिटी ल्याउँछौं, किन निर्यात नगर्ने ? निर्यातको सिस्टम बनाउनुपर्यो । वैज्ञानिक सिस्टमअनुसार अघि बढ्न सकिन्छ । करको दायरामा ल्याउन सकिन्छ । कुवेतले तेल बेच्दा हुने हामीले किन बेच्न नसक्ने ? ढुंगा, बालुवा, गिट्टी बिक्री गर्न सम्भव छ । भारत र चीनमा बिक्री गरेर अर्थोपार्जन गर्न सक्छौं । तर, हामी आफैंले प्रयोग गर्न पाएका छैनौं ।

गोदावरी डाँडाबाट मार्बल निकाल्न दिइयोस् । ७७ वटै जिल्लामा क्रसर उद्योग खोल्न दिइयोस् । निर्माण सामग्रीका स्रोतहरू खुलाइयोस् ।



पछिल्लो समय गृहमन्त्रीले चालेको कदमले निर्माण व्यवसायीलाई कति असर गर्यो ?

म लोकतान्त्रिक निर्माण व्यवसायीको पनि अध्यक्ष हुँ । मैले पत्रिकामा विज्ञप्ति नै निकालेर गृहमन्त्री क्षेत्राधिकार र हाम्रो करार ऐनभन्दा बाहिर जानुभयो । त्यसकारण हामीलाई थुन्न पाउनुहुन्न । त्यसो भयो भने हामी देशभरको निर्माण कार्य ठप्प पार्छौं भनेर विज्ञप्ति निकालेको थिएँ ।

हामीलाई किन थुन्ने ? हामी अपराधी होइनौं । थुन्ने भनेको त बालिका निर्मला पन्तलाई बलत्कार गरेर हत्या गर्नेलाई हो । तिनीहरूलाई थुन्न सकेका छैनन् । हामीले कसको ज्यान मार्‍यौं र हामीलाई थुन्ने ?

महासंघको शुद्धीकरणको प्रश्न उठिरहेको छ । यसका लागि तपाईंको योजना के छ ?

निर्माण व्यवसायी महासंघको संगठनको सुधार गर्ने भन्ने मेरो एजेन्डा छ । हाम्रो सचिवालयलाई पनि सुधार गर्ने योजना छ । महासंघलाई फुर्तिलो र चनाखो बनाउने योजना छ । महासंघ संघात्मक ढाँचामा गइसकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।