काठमाडौ- मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ।
त्रियुगा नगरपालिका-५ का वडा अध्यक्ष उद्धवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमकाबीच देउरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेका हुन्।
त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए। साथै, आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैँकको शाखा नै विस्तार गर्न उनले आग्रह गरे।
स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो-छरितो रुपमा सेवा दिनुपर्ने बताए।
शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न मेगा बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४