बुधबार, वैशाख १२, २०८१

पार्टी अरिंगालको गोलो भइदिए क्या गज्जब हुन्थ्यो ओलीलाई !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कार्यकर्ताहरुलाई सम्बोधन गर्दै केन्द्र सरकारका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिक्रियावादीहरुमाथि अरिंगालको गोलो खनिए जसरी खनिन आदेश दिएका छन्।

को हुन् ओलीका प्रतिक्रियावादी? 

ओलीका प्रतिक्रियावादी को हुन्? कसले के गरेछ उनलाई? प्रतिपक्षलाई त उनले पक्कै प्रतिक्रियावादी भनेका होइनन् किनभने नेपाली कांग्रेसको कुनै पनि विषयमा सशक्त प्रतिक्रिया जनाउने न आकार छ, न त संगठित तयारी। कांग्रेस सांसद् गगन थापा बोलेको सुनिन्छ, अरू त त्यति बोलेको सुनिँदैन पनि । गगन बोले पनि ओली सुन्नु आवश्यक ठान्दैनन्। 

स–साना दल र अरू अनुहारहरूलाई उनले गन्दै गन्दैनन्। बाँकी रहे मधेशकेन्द्रित दल। तिनको पनि एउटा समूह उनकै सरकारमा छ तथा अर्को समूह पनि कसैगरी सरकारमै सामेल हुन पाए आफ्नो भलो हुने ठान्छ । त्यसो भए के ओलीले हावामा ढुंगा हानेका हुन् त ? जसका टाउकामा ढुंगो गएर बज्रिन्छ, त्यसैलाई प्रतिक्रियावादी भएको पगरी लगाइदिने भन्ने सुरले मात्रै उनले पक्कै त्यसो भनेका होइनन्।

ओलीको यो अभिव्यक्तिलाई उनको बोल्ने शैलीका कारण धेरैले सामान्य रूपमा लिए होला, मैले लिन सकिनँ । किनभने, दृश्य अथवा अदृश्य प्रतिक्रियावादीले नसताई उनले अरिंगाल आव्हान निश्चय नै गरेका होइनन्। साथसाथै, उनी आफ्ना पार्टीका सहकर्मी नेताहरूसँग पनि सरकार एक्लो परेको र आफूले एक्लै प्रतिरक्षा गर्नु परिरहेको गुनासो गरिरहेका थिए। अचम्म छ नि, त्यति ठूलो पार्टी छ, त्यतिका दिग्गज नेता छन् तैपनि उनी एक्लै। एक्लै प्रतिरक्षा गरिरहेको छु भन्नुको अर्थ हुन्छ उनमा हताशा छ । यसबाट के पनि लख काट्न सकिन्छ भने यति बलियो दल आकारले मात्रै बलियो देखिएको तर त्यहाँ भित्रभित्रै उकुसमुकुस छ, छटपटी छ । त्यसैले उनीमा प्रधानमन्त्रीलाई नसुहाउँदो निराशा देखिन्छ।

किन देखिन्छ निराशा ?

यहाँ के पनि स्मरणीय छ भने कम्युनिस्टहरूलाई निकै प्रिय लाग्ने प्रतिक्रियावादी शब्द धेरै पछि मात्र ओलीका मुखबाट उच्चरित भएको सुनिएको छ। एकछिन् उनकै कोणबाट हेरौं, उनले प्रतिक्रियावादी जुर्मुराएको देखे। त्यो जुर्मुराहट देखेर मनमनै डराए । त्यसपछि उनले देशी मात्र होइन, विदेशी प्रतिक्रियावादी समेत सल्बलाएको देखे। त्यति हुँदा पनि पार्टी नेता-कार्यकर्तामा कुनै हलचल देखेनन् । बरु उल्टै छेवैमा पार्टीमा समान हैसियतका अध्यक्ष पुष्पकमल दाहाल अर्थात् प्रचण्ड भने मुसुमुसु मुस्कुराएको, हाँसिरहेको पाए।
 

 धेरैजसो अवस्थामा प्रतिक्रियावादीहरू बाहिर होइन, साँच्चै भन्ने हो भने नेताका वरिपरि नै हुन्छन्। कतै आफूछेउकै कुर्सीमा बसेको मानिस नै प्रतिक्रियावादी हो कि! के थाहा के विश्वास!


यतिका प्रतिक्रियावादी सलबलाउँदा पनि पार्टीका नेता-कार्यकर्तामाथि कुनै प्रभाव नपरिरहेको देखेपछि उनलाई सह्य भएन। त्यसैले उनले नेता-कार्यकर्तालाई अरिंगालको गोलो जसरी प्रतिक्रियावादीमाथि खनिन आह्वान गरेका हुन्, आदेश दिएका हुन्। अब प्रश्न उठ्छ, सरकार दुई तिहाइको हो, त्यस्तो प्रबल बहुमतसहितको सरकार, ‘नाथे’ प्रतिक्रियावादीसँग डराउने हो र? होलान् नै कति र, बाहिरका प्रतिक्रियावादी त?

सरसर्ती हेर्दा डराउनुपर्ने कुनै कारण देखिँदैन तर जनमानसमा बढ्दो असन्तोष र उनी आफैं एवं सहयोगी मन्त्रीहरूको कार्यशैलीका कारण प्रतिपक्षको स्वर अत्यन्त झिनो भए पनि, यदि पार्टीभित्रै प्रतिक्रियावादीको घूसपैठ भएको भए डराउनुपर्ने अवस्था आउँछ नै र डराउनुपर्छ ।



डराउनुपर्छ किनभने धेरैजसो अवस्थामा प्रतिक्रियावादीहरू बाहिर होइन, साँच्चै भन्ने हो भने नेताका वरिपरि नै हुन्छन्। कतै आफूछेउकै कुर्सीमा बसेको मानिस नै प्रतिक्रियावादी हो कि! के थाहा के विश्वास! झन् ओलीका हकमा आफ्नै आसपासमा प्रतिक्रियावादी छन् भन्ने कुरा धेरै हदसम्म प्रयुक्त हुन्छ।

त्यसै पनि उनको आफू सबै ज्ञानको भण्डार अरूसँग ज्ञान छैन, भए पनि सीमित छ भन्ने किसिमको मान्यताका कारण पूर्वएमाले पंक्तिमै एक किसिमको उकुसमुकुस छ। उकुसमुकुस चुहिँदा आउने त प्रतिक्रिया नै हो। फेरि एमाले र माओवादी केन्द्रबीच एकता सम्पन्न भएपश्चात् एक प्रकारले झण्डै दृश्यबाटै हराए कि झैं गरी मौन धारण गरेर बसेका प्रचण्ड पछिल्ला दिनहरूमा निकै सक्रिय भएका छन्। हुन त, सक्रिय हुँदैमा चिन्तित भइहाल्नुपर्ने होइन तर उनको सक्रियता सरहदभित्र सीमित छैन। केही दिनपूर्व भारत गएर आएका प्रचण्ड शनिबार चीन प्रस्थान गरेका छन्।

केही समयपूर्व बिमस्टेक शिखर सम्मेलनका पोस्टरहरू निकाल्न नभ्याउँदै प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको विशेष निमन्त्रणामा नयाँदिल्ली पुगेका थिए। पुगे मात्र होइन, त्यहाँ मोदीसँग उनले आफ्नो जीवनकै सबैभन्दा लामो अन्तरंग संवाद गरे। आवभगत स्वागत सत्कारको कुरै नगरौं, त्यो त भव्य नै थियो। त्यसले प्रचण्ड अत्यन्त गदगद थिए। त्यसै पनि माला लगाउँदैमा समेत फुरुक्क हुने, भारतमा पाएको महत्व र सत्कारले उनको खुशीको सीमा थिएन। त्यसैले हुनुपर्छ कि आलोपालोमा प्रधानमन्त्री नभए पार्टीको एकल कमान्ड पाउने गरी अध्यक्ष बन्ने ओली र आफूबीचको आन्तरिक समझदारीसमेत उनले दिल्लीबाटै सार्वजनिक गरिदिए।

प्रधानमन्त्री ओलीलाई प्रचण्डको दिल्ली भ्रमणको अकस्मात उत्पन्न ‘सेड्युल’ त्यसै पनि मन परेको थियो भन्न सकिँदैन, मिल्दैन। किनभने बिमस्टेकमै मोदी नेपाल आएका बेला उनको प्रचण्डसँग भेट र पर्याप्त विमर्श भएकै थियो, फेरि लगत्तै दिल्ली किन आव्हान भयो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो।

त्यसै बखत यता चीनसँग यातायात तथा पारवहन सम्झौतापछि थाती रहेको प्रोटोकलमा हस्ताक्षर भएका फलस्वरूप चीनका बन्दरगाहहरूसम्म नेपालको पहुँच हुने समाचार आइरहँदा ओलीले मौखिक रूपमै भारतमा भएको सैन्य अभ्यासमा नेपाल सहभागी नहुने निर्णय गरे। पहिला सहमति जनाइसकेको विषयमा ओली अकस्मात किन त्यसरी आक्रामक ढंगले पछि हटे भन्ने कौतूहल उत्पन्न भएको छ र त्यसो हुनु अस्वाभाविक होइन। धेरैको धारणाअनुसार पारवहन प्रोटोकलमा हस्ताक्षर भएपछि ओलीको मनोबल बढ्यो, त्यसै कारण उनले भारतमा तय सैन्य अभ्यासमा सहभागी नहुने निर्णय गरेका हुन्। त्यही नै मात्र चाहीं उत्प्रेरक कारण होइन।
 

 प्रश्न उठ्छ, सरकार दुई तिहाइको हो, त्यस्तो प्रबल बहुमतसहितको सरकार, ‘नाथे’ प्रतिक्रियावादीसँग डराउने हो र? होलान् नै कति र, बाहिरका प्रतिक्रियावादी त ?


चीनसँग पारवहन प्रोटोकलमा हस्ताक्षरले ओलीको मनोबल बढायो भनेर मानिलिँदा पनि ओली-मोदी केमिस्ट्रीमा आशातीत प्रगति भइरहेका अवस्थामा किन त्यसो गरियो भन्ने प्रश्नको उत्तर भने अरिंगाल प्रसंगले दिएको छ। धेरैलाई त्यसमाथि ओली प्रेमीहरूलाई उनी लाक्षणिक बोल्छन् भन्ने राम्ररी थाहा छ। त्यसैले यहाँ ओलीका प्रतिक्रियावादी कतै प्रचण्ड नै होइनन् भनेर अनुमान गर्ने ठाउँ बन्छ। अर्थात्, प्रचण्डलाई बेमौसममा दिल्ली निम्त्याएका कारण यता ओली मोदीसँग चिढिएका हुनसक्छन्, त्यसैको प्रतिक्रियास्वरूप मौखिक रूपमै भारतमा हुन गइरहेको र त्यो पनि मोदीद्वारा विशेष महत्व दिइएको पुणे सैन्य अभ्यासमा नेपाल सामेल नहुने निर्णय गरेका हुनसक्छन्।

अरिंगालको आश

सर्वविदितै छ, दुई तिहाइको सरकार बनेपछि काम फटाफट हुन्छ भन्ने जनताले त आश गरेकै थिए, प्रधानमन्त्री ओली स्वयं पनि आश्वस्त थिए । तर, सरकार बनेको सात महिना बित्दा जे बोल्यो त्यही नपुगेको देखेपछि उनीमा हताशा आउनु स्वाभाविकै हो। 

यही हताशाका चल्ते प्रचण्डको चुलबुलका कारण स्वयं ओलीको मनलाई विचलित तुल्याएको हो किन नभन्ने! हो पनि, गृह प्रशासन सञ्चालनमा एकपछि अर्का विवाद, अझ समग्र शासन व्यवस्थामा अकुशलता, त्यसमाथि प्रदेशहरूको केन्द्रसँग असन्तुष्टिका कारण उत्पन्न निराशा, त्यसमाथि आफूसरहकै अध्यक्षको आफूलाई सघाउनु सट्टा दिल्ली दर्शनको मोहका बीच प्रधानमन्त्रीसामु के भन्ने, के सोच्ने भन्ने अवस्था उपस्थित भएकै छ। 

हो पनि, जब मानिस सबैतिरबाट हताश, निराश हुन पुग्छ, त्यतिखेर उसलाई कुनै न कुनै आश, आड, भरोसा चाहिन्छ। ओलीलाई वास्तवमा आफ्नो हताश, निराश अवस्थामा अरिंगालको सम्झना भएको हो। अन्यथा होइन, उनको पार्टी अरिंगालको गोलोजस्तो भइदिए क्या गज्जब हुन्थ्यो भन्ने कामना पलाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...