काठमाडौं- ३ जेठको मितिले तीन महिनामा प्रदेश तथा जनवर्गीय संगठनको एकीकरण सक्ने नेकपाको तयारीले हावा खाएको छ। कैयौं कमिटीमा नेतृत्वमा विवाद भएपछि एकपछि अर्को गर्दै एकीकरण प्रक्रिया अल्झेको छ।
यसअघि पनि नेताहरूको विदेश भ्रमणको शृंखलाले एकता प्रक्रिया अलमलमा परेको थियो। अहिले पनि नेताहरूले विदेश भ्रमणमा निस्कने तयारी गरेपछि दशैंअघि एकीकरण प्रक्रियाले पूर्णता नपाउने भएको छ।
शुक्रबार मात्रै सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ चीन उडेका छन् भने शनिबार नेकपा अध्यक्ष प्रचण्ड नेतृत्वको टोली चीन जाँदैछ। उनी ४ असोजमा स्वदेश फर्कने छन् । प्रचण्ड फर्केलगत्तै प्रधानमन्त्री केपी ओली अमेरिकाको न्युयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी जाँदैछन् । उनी ५ असोजमा अमेरिकी उड्दै छन् । प्रधानमन्त्री ओली एक सातापछि स्वदेश फर्कने छन् । ओली स्वदेश फर्कंदा नेपालीहरूको महान चाड दशैंले छोपिसकेको हुनेछ।
दुई पार्टीबीच एकीकरणको सैद्धान्तिक घोषणा हुँदा गत वर्ष दशैंको अन्तिम समय पारिएको थियो। त्यसबेला धेरै सञ्चार माध्यमहरू बन्द भएकाले आलोचना र टिप्पणीबाट सजिलै जोगिएको थियो।
अहिले तल्ला कमिटी तथा जनवर्गीय संगठनमा नेतृत्वका लागि ठूलो विवाद छ। नेताहरू दशैंको मुखमा पारेर एकीकरणको घोषणा गर्ने सोचमा रहेको स्रोतले बतायो। यही विषयलाई मध्यनजर गरेर एकीकरणको मापदण्ड तयार गर्न र प्रक्रिया अगाडि बढाउन गत बिहीबारको सचिवालय बैठकले प्रचण्ड र दाहाललाई दिएको बताइएको छ। उनीहरूले दशैंको मुखमा पारेर एकता घोषणाा गर्न सक्ने अनुमान तीव्र भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४