धनगढी–कैलालीको जोशीपुर गाउँपालिका–१ का एक व्यापारीको घरमै संकास्पत अवस्थामा शव फेला परेको छ।
जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका ३७ वर्षीय रामप्रसाद जैशीको शव उनको घरमा फेला परेको हो । बिहीबार राति घरमा एक्लै भएको बेला उनको हत्या भएको आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जैशी आफ्नै घरमा मृतअवस्थामा फेला परेको बताए । मृत्यु शंकास्पद भएकाले छानबिन शुरु गरेको प्रहरी निरीक्षक चन्दले जानकारी दिए । उनको घाँटीमा डोरीले बेरिएको जस्तो घाँउ देखिएको प्रहरीले जनाएको छ ।
बिहीबार राति घरमा एक्लै बसेका जैशी शुक्रबार बिहान ९ बजेसम्म पसल खोल्न नआएपछि स्थानीय घरमै गएर हेर्दा जैशी मृत अवस्थामा फेला परेका थिए । बिहान सबेरै खुल्ने पसल ९ बजेसम्म पनि नखुलेपछि घरमा गएर हेर्दा जैशी मृत्य अवस्थामा भेटिएको स्थानीय पदम बोहराले जानकारी दिए।
हरितालिका तीज मनाउन जैशीकी श्रीमती दुई छोरासहित तीज मनाउन टीकापुर गएकी थिइन्। जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोधस्वरुप बजार बन्द गरेका छन् ।
व्यापारी जैशीको हत्या भएको भन्दै उनीहरुले हत्यारा पत्ता लगाउन माग गर्दै बजार बन्द गरेका हुन्। एक व्यापारीको घरमै सुतेको अवस्थामा हत्या भएको भन्दै जोशीपुर बजार व्यवस्थापन समितिका सचिव केशवराज जोशीले हत्यारा पक्राउ गर्न दबाब दिने उद्देश्यले हामीले शुक्रबार र शनिबार बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।
कैलालीका निमित्त प्रहरी प्रमुख हरीबहादुर वलीले घरमै संकास्पत अवस्थामा शव भेटिएकोले अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४