काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले तल्ला कमिटी एकीकरणमा विधि र प्रक्रिया अबलम्बन गर्न आग्रह गरेका छन्। पार्टी एकीकरणमा विधि र प्रक्रिया अवलम्बन नगरिएको आरोप लागिरहेका बेला नेपालले यस्तो विचार व्यक्त गरेका हुन्।
‘नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीलाई एकीकरण गरेर विश्व समुदायसमक्ष ऐतिहासिक काम भएको छ। यो एकतालाई दिगो बनाउन तल्लो तहसम्मको एकीकरण विधि र प्रक्रियालाई व्यवस्थित बनाउनु जरुरी छ,’ नेपालले भने।
नेपालमा स्थापित पहिलो कम्युनिस्ट स्कुल मदन भण्डारी एसियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरेको ‘विश्वको कम्युनिस्ट इतिहास र वर्तमान अवस्था’ शीर्षकको प्रशिक्षणमा बिहीबार नेपालको पढाउने पालो थियो।
‘अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ। यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिस्ट आन्दोलन सफल भयो, कम्युनिस्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ।’
कम्युनिस्ट नेतृत्वको सरकारमार्फत् मुलुक समृद्धि र विकासतिर लम्किरहेको दाबी गर्दै उनले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिए।
दलले जनताको कुरा नबुझे जनता दलको पछि नलाग्ने बताउँदै उनले त्यसप्रति युवापुस्ता चनाखो हुनुपर्ने औंल्याए। शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भनाइ राख्दै उनले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताए।
देशमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्ने बताए। ९ भदौमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको २१ दिने प्रशिक्षण शुक्रबारसम्म सञ्चालन हुनेछ।
प्रशिक्षणमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, इस्ट टिमोर, फिलिपिन्स, जाम्बिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता छ।
प्रधानमन्त्री ओली, वरिष्ठ नेता नेपाल, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मोदनाथ प्रश्रित, वामदेव गौतम, विष्णु पौडेल, वेदुराम भुषाल, भारतका परवीरपुर कायस्थ, बंगलादेशका सुशान्तो दास, अमेरिकाका क्रिसो क्रुसोलगायत विज्ञले प्रशिक्षण दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४