जनकपुरधाम– नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुन हत्याको विरोधमा तरुण दल धनुषाले विरोध प्रदर्शन गरेको छ। हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको माग गर्दै तरुण दल धनुषाले मंगलबार जनकपुरमा प्रदर्शन गरेको हो ।
हत्यामा संलग्न व्यक्तिको पहिचान भइसक्दा पनि पक्राउ नगरिएको उसको आरोप छ। हत्यामा संलग्नलाई पक्राउ नगरी बचाउन खोजिएको भन्दै तरुण दल धनुषाले नेकपा नेतृत्वको सरकारको विरोधमा विभिन्न नाराबाजी गर्दै जनकपुरमा प्रदर्शन गरेको हो ।
तरुण दलका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउन पुगेका तरुणदलका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयको गेटमा १ बजेदेखि २ बजेसम्म १ घण्टा धर्ना समेत दिएका थिए । जनकपुरधाम–४ पिडडीया माइस्थानस्थित पार्टी कार्यालयबाट प्रदर्शन गर्दै तरुण दलका नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
सरकारले पुन हत्यामा संलग्न दोषीलाई अविलम्ब कारबाही नगरे संघर्षका थप कार्यक्रम ल्याउन बाध्य हुने तरुण दल जनकपुरका नगर अध्यक्ष पंकज महतोले बताए।
विरोध प्रदर्शनमा तरुण दल धनुषाका अध्यक्ष संजयकुमार लाभ, उपाध्यक्ष राकेश विक्रम साह, नगर अध्यक्ष पंकज महतो, नेवि संघका जिल्ला सभापति सुजित मिश्र, ललन चौधरी, विजेता झा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४