बिहीबार, वैशाख १३, २०८१

ख्याल ठट्टामै खेर फाले ओलीले २०० दिन 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
२०७४ फागुन ३ गते सत्तारोहण गरेका प्रधानमन्त्री केपी ओलीले भर्खरै २०० दिनको कार्यकाल पूरा गरे। प्रधानमन्त्रीको कुर्सी सह्मालेको १०० दिन पुग्दा के के न गरे जस्तो गरी ७८ पृष्ठ लामो पुस्तिका तयार गरी सार्वजनिक गरियो। त्यसपछिका डेढ महिनाको समय पार गरे पछि बडो आकर्षक कलेबरका साथ वर्तमान सरकारका ५ महिना शीर्षक दिएर पुस्तिका प्रकाशन गरी वितरण गरियो। 

चार चार भाषामा प्रकाशित उक्त पुस्तिका पढ्ने तर नेपालको रानजीतिक एवं विकास क्रमका घटना परिघटनाहरु संस्मरण नगरेकाहरुका लागि नेपालको इतिहासमा नै सबैभन्दा बढी प्रभावकारी सरकार ओली नेतृत्वको नै हो भन्ने भ्रम छर्न सफल भएको देखिन्छ। 

विडम्बना नै मान्नु पर्दछ, नेपालमा भने बिहान बेलुकीको छाक टार्न मुस्किल जनता समेत राजनीतिमा यति चनाखो छन् कि सरकारले जति झुक्याउन खोजे पनि विश्वास नगर्ने क्षमता राख्दछन् । अर्को विडम्बना के छ भने, नेपाली जनता विगत चाँडै नै बिर्सन्छन् र भविष्यका लागि जसले जति आकर्षक सपना बाँड्न सक्यो, त्यसैको भुलभुलैयामा पर्दछन्, वास्तविकता र विगतका कर्तुत विश्लेषण गर्न थाल्दैनन्। यिनै विडम्बनाहरुका बीचमा सरकार भनेकै एकमात्र ओली हुन् भन्ने झझल्को दिने गरी प्रकाशित उक्त पुस्तिका हास्यप्रधान हुन पुगेको छ। त्यसभित्रका झूटहरु एकएक केलाउन थालिएको छ।
 

प्रधानमन्त्री केपी ओलीले भर्खरै २०० दिनको कार्यकाल पुरा गरेका छन् । हरेक दिन उनी ख्याल ठट्टा अनि घोचपेमै रमाए ।


१०० दिन र १५० दिन पार गर्दाका उपलब्धिहरु भनी बडो तामझामको साथ पुस्तिका प्रकाशन गर्ने सरकारले २०० दिन पुग्दा पनि अपेक्षा गरिएको थियो तर आएन । आएको भए के आउँथ्यो होला भन्ने विविध कुराहरु यस पङ्क्तिकारका मनमा खेल्न थाले । २०० दिन पुगेको राति प्रधानमन्त्री ओलीका मनमा पनि धेरै कुराहरु खेले होलान्। यस आलेखमा लेखिएका सबै कुराहरुको चिन्तन त्यस रातमा प्रधानमन्त्रीले गरे या गरेनन् ठोकुवा गरेरै त भन्न सक्दिन तर पनि यस्तै यस्तै तर्क वितर्क भए होलान् भनेर अनुमानका आधारमा यहाँ केही लेख्न खोजिएको छ।

जसरी प्रधानमन्त्रीले २०० दिन पुग्दा मनमा विभिन्न कुराहरु खेलाए होलान्, त्यसैगरी यो लेख तयार गरी रहँदा मेरा मनमा पनि एउटा भयानक त्रासले डेरा जमाएको छ । सार्वजनिक पदमा बसेका मान्छेहरुको फोटो खिच्न, उनीहरुले जानकारी दिए बाहेकका कुराहरु प्रकाशनमा ल्याउन पाइँदैन भन्ने कानून वर्तमान लोकतान्त्रिक गणतान्त्रिक सरकारले ल्याइसकेको छ। प्रधानमन्त्रीका मनमा खेलेका कुरा तैँले लेख्ने भन्दै प्रहरी लगाएर थुने भने यो निरिह कलमजीवीको पनि केही चल्नेवाला छैन । तर नागरिक साथ र सक्रियताका कारण डराउनुपर्ने अवस्था पनि छैन। 

के सोचे त ओलीले त्यो रात ?

प्रधानमन्त्री भएको त्यो रात त बडो मजा आएको थियो । प्रधानमन्त्री पनि चानचुने हो र दुई तिहाईको। एउटा उखान छ नि, हावा नचली पात हल्लिन्न । हो, त्यसलाई पनि मात ख्वाउने, जति हावा चले पनि पातै नहल्लिने प्रधानमन्त्री। एकदुई दिन त उल्लासमै गयो। अनि काम शुरु गर्नु पर्ने भयो। संसद् पनि बोलाउनु पर्‍यो, बोलाएँ। मैले पहिले प्रतिपक्षमा छँदा संसद्को माइक, कुर्सी भाँचेको सम्झेँ। मलाई झल्झल्ती याद आउँछ, टुँडीखेलको रेलिङ्ग भाँचेर एउटा पनि बाँकी नराखेको । मलाई त्यही सम्झाउँदै प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको पद निल्नु न ओकल्नु बनाउँछ कि भनेको त प्रतिपक्ष त सुतेको सुत्यै छ। 

कुम्भकर्ण त ६ महिनामा एक पटक उठ्थ्यो र तहल्का मच्चाउँथ्यो, कांग्रेसको त तहल्का मच्चाउने कुरो त परै जाओस्, उठ्ने सम्म पनि चाला देखिएन । अब ६ वर्षमा जुर्मुराउने होला, त्यतिबेला म प्रधानमन्त्री पनि हुन्न, मेरो टाउको दुखाइ पनि हुन्न। जो हुन्छ, उसैले बेहोर्छ । नजाने गाउँको बाटै नसोध्नु, त्यतातिर मैले किन सोच्ने।

बरु चुनावचाहिँ मैले अर्को पटक पनि लड्नु पर्छ। मैले त जित्नै पर्‍यो, सकेसम्म पार्टीलाई पनि जिताउनु पर्छ । चुनावका बेला के के बोलेँ, के के । कांग्रेसका कृष्णप्रसादले मेलम्चीको पानी ल्याएर काठमाडौँको सडकभरि छताछुल्ल पार्दिन्छु भनेर ४७ मा बोलेका थिए ७४ मा पनि आएन । मैले त दुई वर्ष र तीन वर्ष भन्दै हिँडेँ, ५ वर्षमा पनि सिन्को भाँचिएला भन्ने लागेन। जाबो सडकको खाल्डा पुर भनेर एक महिनाको अल्टिमेटम दिएको, तीन महिना पुग्दा पनि उस्तै । यस्तो मुलुकमा के को पानी जहाज, कहाँको रेल। 

जङ्गलमा गएर दाउरा बटुल्नु पर्नेलाई पाइप लाइनबाट ग्यास। आफैलाई मज्जासंग हाँसु जस्तो लागेको छ, के गर्नु एक्लै हाँसौँ भने बाहिर गार्ड छ, फेरि प्रधानमन्त्री फुस्केछन् भनेर हल्ला गर्ला । साँच्चै के पत्याएर भोट दिएका होलान् जनताले । बाख्रालाई हरियो घाँस भन्थे, कुरो ठिक रहिछ।

यातायातको सिण्डीकेट सक्कियो भन्दिएँ, जनताले पत्याएकै त होलान् नि । सुनकाण्डका आरोपीहरुमाथिको अनुसन्धान कसले रोक्या भन्ने बिचराहरुलाई के थाहा । मलाई त दोष दिन्नन् नि । के के न गर्छु भन्याथ्यो बादलले, सकेन भनेर उसैलाई दोष दिने त हुन् नि। त्यही पनि ५ महिने उपलब्धिमा तस्करमाथि नियन्त्रण लेखेकै छ । बिचरा तल्ला तहका प्रहरीलाई घरायसी प्रयोगमा ल्याएको मलाई चित्त बुझेको थिएन । १५१ जना फिर्ता गराएँ । अझै हजारौँ छन्, के गर्नु फिर्ता गर्न त मन छ, गरौँ भने भोलि म फेरि भूपू भए पछि मलाई नै दिन्नन्। त्यसैले यत्तिकैमा रोक्दिएँ । जनता सोझै छन्, उहिल्यै निर्णय भइसकेको पेट्रोलको ट्याङ्करमा लकिङ्ग गर्ने प्रणालीलाई आफ्नै उपलब्धि बनाई दिएँ।

होइन, यी सचिवहरु र मेरा आसेपासे पनि के लेख्छन् के, निजगढ, भैरहवा र पोखरा विमानस्थलहरुको निर्माणमा भएका प्रगति मेरै हुन् अरे। म आफैलाई पचाउन अप्ठेरो भएको छ, अरुलाई के होला ? प्रतिपक्षी चिरनिद्रामा छ, आफुलाई हाइसञ्चो। नेपाल वायुसेवाका वाइडबडी विमानहरु मैले नै मगाएको हो र ? १८ घण्टा खुला रहेको एयरपोर्टलाई त्यो कलिलो मन्त्रीले २१ घण्टा खोल्ने व्यवस्था गरेछ, आकाशकै तारा झारे झैँ बखान गरेका छन् । २४ सै घण्टा खुले पनि हुम्ला, मुगु वा मेरै जन्म जिल्ला तेह्रथुमका जनतालाई के मतलब। फिलिम बनाउनेहरुले बक्स अफिस शुरु गरे, त्यो पनि मेरै उपलब्धि अरे। मेरा आमने सामने सेना प्रहरी हुने भएर हो, नत्रभने देख्ने बित्तिकै मलाई कति उल्याउँथे होलान् जनताले।

चार वर्ष अघि को थिए प्रधानमन्त्री अहिले बिर्सेँ। तिनले हो कि तीन वर्ष अघिका प्रधानमन्त्री सुशील, यी दुई मध्ये एकले मुङ्लिङ्ग–नारायणघाट सडक खण्डको विस्तार एवं निर्माण कार्य शुरु गरेका हुन्। थाप्लामो लिएर आउनु पर्‍यो नि मान्छेले भाग्य, ५ महिने उपलब्धिमा ठोक्दिएँ। कुनै योजना समयमा सकिँदैन, त्यत्रो सडक ५ महिनामा बन्यो भन्दा जनताले पत्याउलान् वा नपत्याउलान् किन सोच्नु।

 त्यति सोच्ने जनता भए त मैले प्रचण्डलाई र प्रचण्डले मलाई गाली गरेको सम्झेरै हाम्लाई के भोट दिन्थे होलान् र! यसै भएन उसै भएन भनेर कान्ति लोकपथ, मुङ्लिङ्गको त्रिशूलीमाथिको आर्कब्रिज, रिङ्गरोडको कलङ्की–कोटेश्वर खण्ड मेरै उपलब्धि हुन् लौ जा भन्दिएको छु। प्रश्न साधारण जनताले सोध्ने होइन, प्रतिपक्षीले सोध्ने हो सोद्धै सोद्धैन । सोधी हालेछ भने देउवा भन्दा मै बोल्छु, मेरा उखान र तर्कका अगाडि पौडेल बा पनि चूप।

पहाडे राष्ट्रवादीको उपमा पाएकै छु, मधेशीलाई संगै राखौँ कि लखेटौँ । संगै राखे सबैलाई मिलाउने प्रयास गर्‍यो भन्छन्, लखेटे राष्ट्रवादी। मधेशीलाई चुनावमा ल्याएको त देउवाले नै हो नि। खै त उनलाई जस । देउवाले मधेशीलाई नमिलाएको भए आज घरका न घाटका हुन्थे, इज्जत बँचाइदिए, तर अचम्म मैसंग मधेशी। 

जसले लखेट्यो उसैको रखवारी। अखिर मैसंग आए क्यारे। वाक्पटुता नै सबैथोक रैछ नेपाली राजनीतिमा। मेरा त दुवै हातमा लड्डु। एडीबी हो कि विश्व बैँकले हो अरुण बनाउँछु भन्थ्यो । हामीले नै रोक्दियौँ। कांग्रेसले राज गरिञ्जेल भारत परस्त भनी उसैलाई आरोप लगायौँ । उनीहरुले त अरुण योजना नेपालकै हुने गरी बनाउन लागेका थिए नि । मैले त भारतमै गएर मोदीजीलाई उद्घाटन गर्न लगाएँ, बिजुली पनि हामीले नै किन्नु पर्छ क्यारे सम्झैता अनुसार। त्यसो हो कि बिजुलीमा हाम्रो नियन्त्रण छैन, जे भए पनि हामी तल परेका छौँ । तथापि एमालेले बनाएको भारत विरोधी इज्जतले मलाई कसैले केही भन्न सक्दैन क्यारे।

अचम्म के लाग्छ भने थुतुनोमा जे आउँछ, त्यही बोल्छु, तैपनि विरोध गर्ने कोही हुँदैन। संसद्मै बोल्दिएँ, बाढी सरकारले ल्याएको हो र सरकारले जिम्मेवारी लिने ? प्रधानमन्त्री जिम्मेवार हुनु पर्‍यो सम्म भन्दैनन्। माओवादी एमालेबाट उछिट्टिएला र फेरि सरकारमा जाउँला भनेर आश गर्ने बाहेक देउवा लगायतका कांग्रेसको के नै हुति छ र मलाई गलाउने । ५ वर्षलाई त मलाई सुती सुती खाए पनि कसले ढाल्ने ? प्रचण्डलाई ललिपप देखाएर मिलाई हालेँ । अध्यक्ष भन्दै भाषण गर्दै हिँडेका छन्, न प्रधानमन्त्री बन्न सक्छन्, न पार्टीमा कुनै निर्णय नै। मलाई सत्तोसराप गर्नेलाई क्या मजासंग सिध्याएँ। लौ अब पार्टी फुटाएर गएको हेरौँ त । न संसद्मा पुग्छ, न पार्टीमा निर्वाचन आयोगले तोकेको कोटा। प्रचण्ड फिनिस्ड, ओली इज द ग्रेट । ओली इज गोली इन नेपाल।

विश्वविद्यालयका प्राध्यापक जस्ता व्यक्तिले फेसबूकमा लेखे, दुई तिहाई ल्याएको सरकार पनि अधिनायकवादी हुन्छ ? भुत्ते कांग्रेसीहरु । मेरा यस्ता दासहरु भए सम्म मलाई कुनै पीर छैन। वरिष्ठ वकिलहरु अर्थ लाउन जान स्वतन्त्रताको भनेर मेरै पक्षमा लेख्दैछन्। फोटो खिच्न निषेध गर्दा पनि पत्रकार मौन छन् । तर यी डाक्टर भनाउँदाहरुको चरित्रै बुझ्न सकिन । एमाले भनाउँदाहरुलाई बोलाएर गोविन्द केसीको विरोध गर भनेँ, मानेनन्। 

विधेयकको विराधमा कांग्रेसी डाक्टर उभिँदा प्रतिकार पनि गर्दैनन्। जाबो एउटा गोविन्द केसीले दुई तिहाईको सरकारलाई घूँडा टेकायो। गंगामायाले सताइन्। उपकुलपति भनाउँदो त्यसका बाउको र कांग्रेसीको कुलप्रसाद होला, मेरा लागि त कुलकलङ्क नै भयो। त्यसले हल्दार भन्दा नि केही गर्न सकिन। थुक्क म प्रधानमन्त्री। कांग्रेसी प्राध्यापक भने डराउँदा रहेनछन्। तिनलाई ठेगान लगाउने उपाय भोलि छलफल गर्नु पर्ला।

यत्तिकैमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निन्द्रा लागेछ, कस्तो संयोग, लेखकको ल्यापटपको पनि ब्याट्री सक्किएछ।
धन्यवाद !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।