काठमाडौं- एमाले र माओवादी केन्द्र एकीकरणपछि दुवै पक्षका नेताहरू गुटबन्दीका हिसाबमा बिचल्लीमा परेका छन्। माओवादी पृष्ठभूमिका नेताहरू सबैभन्दा बढी बिलखवन्दमा छन्।
नेकपामा कसरी गुटको विकास हुने हो भन्ने चिन्ता सबैजसो नेता/कार्यकर्तामा देखिन्छ। अध्यक्ष प्रचण्डले वामदेव गौतमलाई सांसद बनाउने विषय अगाडि सारेर चलखेल गरेपछि नेकपाभित्र मौरीको गोलोमा अरिंगाल पस्दा हच्किनेजस्तो अवस्था देखिएको छ।
नेकपाभित्र पूर्वमाओवादी नेता/कार्यकर्ता मात्रै तीन वटा गुटमा विभाजन भएका छन्। तीन गुटभित्र पनि विभिन्न उपगुट रहेको एक नेता बताउँछन्। नेकपामा पूर्वमाओवादीका गुटमध्ये एउटा अध्यक्ष प्रचण्ड, दोस्रो रामबहादुर थापा बादल र तेस्रो नारायणकाजी श्रेष्ठले नेतृत्व गरेका छन्।
अध्यक्ष प्रचण्डको गुटमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, हरिबोल गजुरेललगायत नेता छन्। यस गुटमा पनि वर्षमान पुन र जनार्दन शर्माका उपगुट छन्। वर्षमान प्रधानमन्त्री केपी ओलीसँग नजिक हुन थालेका छन् भने जनार्दन शर्मा वर्षमानसँग असन्तुष्ट छन्।
बादलको गुटमा भने देव गुरुङ, मणि थापा, पम्फा भुसाललगायत नेता छन्। गृहमन्त्री बादलले ठेकेदारहरूमाथि कारवाही गर्दा आफूनिकटको शैलुङ कन्स्ट्रक्सन परेको बताउँदै प्रचण्ड उनीसँग रुष्ट भएका छन्। उनले बारम्बार प्रधानमन्त्री ओलीलाई गृहमन्त्री बदल्न आग्रह गरेको स्रोतको दाबी छ।
नेकपाभित्र पूर्वमाओवादी नेता/कार्यकर्ता मात्रै तीन वटा गुटमा विभाजन भएका छन्। पूर्वएमाले र पूर्वमाओवादीका गुट-उपगुटहरू पनि आपसमा अन्तरघुलन हुने क्रममा छन्।
नारायणकाजी श्रेष्ठ नेतृत्वमा रहेको गुटमा गिरिराजमणि पोखरेल, धनीराम पौडेल, विश्वनाथ शाहलगायत छन्। नेकपामा प्रचण्ड नेतृत्वको समूह प्रधानमन्त्री ओली निकट देखिएको छ भने नारायणकाजी र बादल नेतृत्वको समूह वरिष्ठ नेता माधव नेपालसँग नजिकएको छ। अर्का वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको समूह भने प्रचण्डसँग नजिकिने प्रयासमा छ।
पार्टीको विधान मस्यौदाबारे ओली र प्रचण्डले मात्र निर्णय गरेको बताउँदै माधव नेपालले बादल र नारायणकाजीको साथ लिएर टक्कर दिने तयारी गरेको बताइएको छ। विधान मस्यौदाबाट शुरु भएको नेपालको असन्तुष्टि समानान्तर कमिटी बनाउनेसम्ममा गएर पोखिएको छ।
पूर्वएमालेभित्र पछिल्लो समय ओली र नेपालका अलग गुट थिए। पार्टी एकीकरणपछि झलनाथ खनाल निकट नेताहरू नेपालसँग असन्तुष्ट हुँदै आएका छन्, ओलीसँग उनको हिमचिम बढेका कारण। एमालेको नवौं महाधिवेशनमा खनाल स्पष्ट नखुले पनि उनको समूहका अधिकांश नेताहरू नेपालको पक्षमा लागेका थिए।
पूर्वएमालेभित्र उपगुटहरूको संख्या पनि कम थिएन। ती गुट र उपगुट पनि पूर्वमाओवादीभित्रका गुट-उपगुटहरूसँग अन्तरघुलन हुने क्रममा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४