काठमाडौ-नेपाली कांग्रेसको बिधान मस्यौदा समितिमा जिल्ला सभापतिबाट प्रतिनिधित्व हुने गरी मदनबहादुर अमात्य र अमरसिंह पुन चयन भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको ललितपुर जिल्ला कार्य समितिका सभापति अमात्य र रोल्पाका सभपति पुनलाई मस्यौदा समितिको स्थायी आमन्त्रित सदस्यको रुपमा चयन गरेका हुन्।
अमात्य पार्टीको संस्थापन पक्षधर हुन भने पुन बरिष्ठ नेता रामचन्द्र पौडेल निकटका हुन्। पार्टीको १६ बैशाखमा बसेको बैठकले भदौमा हुने महासमिति बैठकमा पेश हुने संशोधित बिधानको मस्यौदा गर्न समिति गठन गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम एक साता अघि मात्र सभापति देउवलो महामन्त्री पूर्णबहादुर खडकाको संयोजकत्वमा ११ सदस्यीय बिधान मस्यौदा समिति गठन गरेका थिए।
समितिमा जिल्ला सभापतिको प्रतिनिधित्व नभएको भन्दै नेता पौडेलले असन्तुष्टी जनाएपछि सभापति देउवा समितिमा दुई जना जिल्ला सभापतिलाई स्थायी आमन्त्रित केन्द्रीय सदस्यको रुपमा चयन गर्न सहमत भएका थिए।
समितिको आइतबार बिहानको बैठकमा दुवै जना अमात्य र पुनले सहभागिता जनाई सकेको समिति संयोजक पूर्णबहादुर खड्काले नेपाल समयलाई बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४