धनगढी-कैलालीको जानकी गाउपालिका–८ पालबजार मुक्त कमैया शिविरबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले लिएकोे अबैध रकम फिर्ता भएको छ ।
मुक्त कमैयालाई लालपुर्जा बनाउन मोटो रकम लाग्ने भन्दै मुक्त कमैया शिविर पालबजारका ५७ जनाबाट उठाएको रकम मध्ये दुई लाख तीन हजार आठ सय २५ रुपैँया रकम कर्मचारीले फिर्ता गरेका हुन् ।
वडा कार्यालयको सिफारिससहित बढीमा एक हजार एक सय रुपैँया मात्र लाग्नेमा मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यालय सहयोगी मनीराम चौधरीले बिचौलियासँगको मिलेमतोमा रसिद बिना नै लालपुर्जा बनाउन प्रतिलालपुर्जा बापत एक जना बाट तीन हजार पाँच सय देखि पाँच हजार रुपैँया सम्म अबैध रुपले असुलेका थिए ।
स्थानीय समाजसेवी तथा नेपाली कांग्रेसका नेता केशव बहादुर शाहीको बिशेष पहलपछि अबैध रुपमा लगिएको रकम फिर्ता गर्न मालपोत कार्यालयका कर्मचारी बाध्य भएका हुन् । फिर्ता गरेको रकम स्थानीय राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, प्रहरी र पत्रकारको रोहबरमा सम्बन्धित व्यक्तिलाई बुझाईएको शाहीले जानकारी दिए ।
लालपुर्जा दिलाई दिने नाममा मुक्त कमैया शिविरबाट अबैध रुपमा एक गिरोहले पैसा असुल्दै गरेको खबर पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी अमरावतीको टोलीलले घटनामा संलग्न जानकी गाउँपालिका–८ पालबजारका प्रेमलाल चौधरी र रामलाल चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको प्रहरी सहायक निरीक्षक रण बहादुर बुढाले जानकारी दिए । पीडितबाट कुनै निवेदन नपरेपछि उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ ।
एक सय रुपैँयाको रसिद काटी हजारौ रुपैया असुल्दै गरेका घटनाका योजनाकार मालपोत कार्यालय टीकापुरमा कार्यरत कर्मचारी मनिराम चौधरी प्रहरीबाट भागेर पीडित समक्ष आफ्नो गल्ती स्वीकार गरी माफिमागी घट्ना मिलाउन दवाव दिएर पैसा फिर्ता दिएको बुझिन आएको छ । पैसा नतिरे सम्म लालपुर्जा नपाउने भन्दै आफूहरुबाट रकम दिन बाध्य भएको पीडित मुक्तकमैयाले सुनाए ।
भूमिसुधार कार्यालयले करिव दश वर्षअघि विभिन्न ठाउँमा बस्दै आएका मुक्त कमैयाहरुको लगत संकलन गरेको थियो । सोही अनुसार मुक्त कमैया पुर्नस्थापना समितिको सिफारिसमा जानकी गाउँपालिका–८, पालबजारका ६२ र लम्कीचुहा नगरपालिका–३, बल्चौरका तीन सय १८ घरपरिवारलाई समेत जग्गा दिने निर्णय भएको थियो । मालपोत कार्यालय टीकापुरले नामथर फरक परेमा, कुनै जग्गाधनीको मृत्यु भएमा वा अन्य कुनै कारणले सच्याउनु पर्ने भए स्थानीय तहको सिफारिस लिएर आउन मुक्त कमैयालाई सूचना गरेको थियो ।
सोही सूचनाका आधारमा मालपोत कार्यालयका कर्मचारी संलग्न गिरोहले मुक्त कमैयाहरुसँग रकम असुलेको पाईएको छ । पालबजारका मुक्त कमैयाहरुको पैसा फिर्ता भएपनि जिल्लाको बल्चौर, बक्लौवा, विद्यानगर शिविरका मुक्त कमैयाबाट अबैध रुपमा लाखौँ रकम अशुल गरेको सुन्नमा आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४