बिहीबार, वैशाख १३, २०८१

भावना घिमिरे भन्छिन्‌ - लभ इज अ ब्युटिफुल इमोसन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपालले वान डे इन्टरनेसनल (ओडीआई) मान्यता पाएको १ चैत ०७४ कसलाई याद नहोला र ! सारा नेपाली खुशीले गदगद भएको त्यस दिन उत्साहित थिइन्, भावना घिमिरे पनि। उनको नेपाली क्रिकेटसँगको साइनो त्यतिमै सीमित थिएन, क्रिकेट एसोसिएसन नेपाल (क्यान)को पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको नाता पनि उनीसँग थियो।

सञ्चार माध्यमका समाचारबाट उनी ढुक्क हुन सकिनन्, एसियाली क्रिकेट काउन्सिलमा फोन गरेर आफ्नो खुशी बाँडिन्। त्यतिबेला क्यानको सीईओको भूमिकाबाट नेपाली क्रिकेटलाई केही योगदान दिन सकेजस्तो लागेको थियो, उनलाई।

सीईओको २२ महिने कार्यकालमा थुप्रै काम गर्न पाइन्। विवाद पनि कम आएनन्। तर, सबै विवादलाई डटेर सामना गरिन् उनले।
 

'राजनीतिक दबाबभन्दा ज्यादा सञ्चार माध्यमको 'फोकस'ले बढी सकस पारेको थियो। स-साना कुराले ठूलो विवाद निम्त्याउन सक्थे। त्यसैले सजग भएर काम गरें।'


अर्घाखाँचीमा जन्मिएकी भावनाले प्राथमिक तहसम्म गाउँमै पढिन्। त्यसपछि काठमाडौं डिल्लीबजारस्थित पद्मकन्या विद्यालयमा पढिन्।

बेलायतको युनिर्भसिटी अफ वेल्सबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी हुन्। बेलायतमै उनले पञ्जाब नेसनल बैंकमा पनि काम गरिन्। त्यसपछि बहराइन पुगेर वेल्थ म्यानेजमेन्ट कम्पनीमा पनि काम गरिन्। 'फर्मुला वान', 'ला लिगा' र 'प्रिमयर लिग'मा समेत प्रत्यक्ष/अप्रत्यक्ष सहभागी हुन पाइन्।

स्वदेश फर्केपछि उनी क्यानको पहिलो सीईओ बनिन्, त्यो पनि परीक्षा दिएर। त्यसका लागि उनलाई श्रीमान्‌ जोसेफ अधिकारीले भरमग्दुर साथ दिए।

बहराइनमा छँदा त्यहाँको 'वेस्टर्न गल्फ एडभाइजरी'मा उनले खेलाडी र खेलको व्यवस्थापन सिकिन्। त्यसैले, उनलाई बैंकको जागिरभन्दा खेल क्षेत्रले तान्यो। त्यसो त, बेलायतमा पढ्दै उनले खेलको मार्केटिङ, लिगको प्रायोजनलगायत विषयमा जानकारी हासिल गर्न पाएकी थिइन्।

तिनै अनुभवले उनलाई क्यानको सीईओ हुँदाका २२ महिना साथ दिए। राजनीतिले जकडेको खेल क्षेत्रमा त्यसै पनि सबैलाई मिलाएर अगाडि बढ्न कम्ति गाह्रो थिएन। 'तर, राजनीतिक दबाबभन्दा ज्यादा ममाथि रहेको सञ्चार माध्यमको 'फोकस'ले बढी सकस पारेको थियो,' उनी भन्छिन्, 'स-साना कुराले ठूलो विवाद निम्त्याउन सक्थे। त्यसैले सजग भएर काम गरें।'

मार्केटिङमा पोख्त

मार्केटिङ र प्रायोजनका लागि उनको एउटै मन्त्र छ, पर्फरमेन्स बढीभन्दा बढी गर्नुपर्छ। बिजनेस मार्केटिङमा 'ओभर पर्फरमेन्स'को ठूलो भूमिका रहने उनको भनाइ छ। अन्डर या नर्मल पर्फरमेन्सबाट काम फत्ते नहुने उनले बुझेकी छन्।

त्यसका साथै 'पब्लिक रिलेसन' पनि राम्रो हुनुपर्ने उनको बुझाइ छ। भन्छिन्, 'प्रायोजकको अपेक्षाभन्दा बढी गर्‍यो भने राम्रो हुन सक्छ।' सीईओ बनेको ६ महिनाभित्रै उनले क्रिकेटमा नेपाल टेलिकमको प्रायोजन भित्र्याइन्। उनको मार्केटिङ कौशलता त्यतिबेलै देखिइसकेको थियो।

स्वदेश-विदेशको फरक

फर्मुला वान, इंग्लिस प्रिमियर लिग, स्पेनिस लालिगा,  टुर्नामेन्ट स्पोन्सर, एक्युजेसन, क्लब बाई एन्ड सेलजस्ता काम उनले विदेशमै सिकेकी हुन्। मातृभूमिमा भने काम गर्ने शैली भिन्न लाग्यो, उनलाई। भन्छिन्, 'नेपालमा काम गर्ने पद्धतिमा योजना र अनुसन्धान नै हुँदैन।'

पुरानै शैलीले काम हुँदा ढिलासुस्ति हुने र सोचेजस्तो प्रतिफल पनि नआउने उनी बताउँछिन्। 'जे हुन्छ चित्त बुझाइन्छ। राजनीतिले पनि खेल क्षेत्रलाई निकै जकडेको छ,' उनी भन्छिन्, 'भिजन र गुणस्तर निकै कमजोर छ।'
 

 'बिजनेस मार्केटिङमा 'ओभर पर्फरमेन्स'को ठूलो भूमिका रहन्छ। अन्डर या नर्मल पर्फरमेन्सबाट काम फत्ते हुँदैन।'


उनी अझै पनि आईसीसी र अन्य क्रिकेटसँग आबद्ध छिन्। उनी आईसीसीकी काउन्सिलर हुन्। विदेशमा हुने प्रतियोगिताहरूमा भावनाको संग्लनता उत्तिकै मजबुत छ।

भावनालाई अझै छोटो अवधिमा गर्न सकिनेमा ४० प्रतिशत मात्र गर्न सकेको उनको भनाइ छ।

आईसीसीले क्यानलाई निलम्बन गरेको समय अझै पनि उनलाई नमिठो लाग्छ। निलम्बित अवस्थामै नेपालले अन्तर्राष्ट्रिय खेल भने खेल्न पाउँथ्यो।

भावनाको 'ब्याट फर नेपाल'

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि क्यानले 'ब्याट फर नेपाल' योजना ल्याइन्। मलेसियामा 'वान च्यारिटी गेम' गराइन्। जयसूर्याको कप्तानीमा 'वर्ल्ड एक्स' र  पारस खड्काको कप्तानीमा नेपाली टिमले खेलेका थिए।

त्यसबाट उठेको रकम मलेसियालीले क्रिकेटले आईसीसीमार्फत् नेपालका भूकम्पपीडितका लागि सहयोग गर्‍यो। त्यसको दोस्रो संस्करण नेपालमा गर्ने योजना भने सफल भएन। 

सन् २०१७ मा 'ब्याट एन्ड बल फाउन्डेसन'ले तल्लो तहबाट क्रिकेट खेलाडीहरू उत्पादन गर्ने योजना ल्यायो। तर, क्यानको निलम्बन कायम रहँदा त्यो निश्क्रिय छ।

सीईओको अनुभव भावनालाई आफ्नो करिअरको 'गोल्डन एरा' लाग्छ। छोटो अवधिमा ४० प्रतिशत सफलता हासिल गर्नुलाई पनि उनले उपलब्धी मानेकी छन्। भन्छिन्, 'धेरै सिकें, योगदान दिन खोजें। विभिन्न पार्टी, खेलकुदभित्रै पनि व्यक्तिगत धारणा भएकाहरूलाई मिलाउन, नेसनल स्र्पोट्स काउन्सिल, बोर्ड, व्यवस्थापन, आईसीसीसँगको सम्बन्धलगायत धेरै अनुभव बटुलें।'

नेपाली क्रिकेटको अवस्था पहिलेभन्दा निकै सुध्रिएको लाग्छ, उनलाई। यस कारण पनि अब आउने स्थायी सीईओले सहज र सरल वातावरणमा काम गर्न पाउने आशा गर्न सकिन्छ। 

अहिले क्रिकेटको प्रशासनलगायत धेरै कुरा नमिलेको उनको भनाइ छ। यदि, स्थायी प्रशासन आए क्रिकेट क्षेत्रमा तमाम समस्या र विकृति हट्न सके नेपाललाई आईसीसीको पूर्ण सदस्य बन्न १० वर्षभन्दा बढी कुर्नुनपर्ने उनको दाबी छ।

क्रिकेटबाहिरकी भावना


'ह्वाट इज लभ ?' प्रश्न भुईंमा खस्न नपाउँदै उनले मुस्काउँदै जवाफ दिइन्, 'इट इज अ ब्युटिफुल इमोसन'। उनी यसलाई वर्णन नै गर्न सक्दिनन् रे। उनको विवाह पनि 'लभ प्लस एरेन्ज' दुवै रहेछ। प्रेममा नपरिसकेका दुई तन्नेरीले एकअर्कालाई मन पराएका रहेछन्।

परिवारमा विवाहको कुरा चल्दा उनीहरूले आफ्नो भनाइ दर्साएपछि परिवारकै सहमतिमा बिहे भयो। श्रीमान्को भूमिकाले नै घरायसी र बाहिरी सबै काममा सन्तुलन मिलेको उनको ठम्याइ छ। भन्छिन्, 'मेरो सफलताको श्रेय मेरा श्रीमान्लाई जान्छ। र, उहाँ हरेक काम गर्न तत्काल सहयोग पुर्‍याइहाल्नु हुन्छ।'

आमा हुने सौभाग्य पाएको क्षण उनी कहिल्यै भुल्न सक्दिनन्। भन्छिन्, 'नारी हुनु र मातृत्वको सुख भोग गर्न पाउनु कुनै शब्दबाट बयान गर्न सकिँदैन।'

उनका छोरा पनि क्रिकेटका क्रेजी छन्। क्रिकेटबाहेक भावनाको रोजाइमा पर्छ, फुटबल पनि। यस्तै, उनको जीवनको अभिन्न अंग हो, संगीत। उनलाई हरेक धारका संगीत मन पर्छन्।

सानैदेखि लजालु स्वभावकी उनको बाल्यकाल अर्घाखाँचीमै बित्यो। अन्तर्मुखी  र अध्ययनशील स्वभावकी थिइन्, उनी। दाजुभाइकी प्यारी उनी खेलकुदमा पहिलेदेखि नै जिज्ञासु थिइन्। उनको भविष्यको सपना पनि खेलकुदमै केही गर्ने भन्ने छ।

शिखरमा पुगेका आरोहीहरू त्यहाँ केही समय मात्र टिक्न सक्छन्। त्यसरी नै करिअरको उत्कर्षमा पुगेपछि त्यो स्थानमा सधैं रहन नसकिने शाश्वत सत्य उनलाई राम्रोसँग थाहा छ।

समाजले तोकेको परिधि अर्थात् टीका, चुरा र घरायसी काममा मात्र सीमित नरही महिलाले आफ्नो इच्छा र चाहनालाई पनि पछ्याउनुपर्ने उनको धारणा छ। जुन क्षेत्र पुरूष प्रधान मानिन्थ्यो, त्यसैमा आफ्नो अब्बलता प्रस्तुत गरेकी छन्। अझै शिखरतिर लम्बिने उनको चाहना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।